बडघरको जिम्मेवारी थपियो, थपिएन सुविधा



दाङदेखि पश्चिम तराईमा परम्परागत रूपमा रहेको बडघर प्रथा पछिल्लो समय थप परिमार्जन हुन थालेको छ । थारू समुदायमा आदिकालदेखि सुरु बडघर प्रथा अहिले तराईका थारू पहाडी दुवै गाउँमा प्रचलनका रूपमा देख्न पाइन्छ । गाउँमा देखिएका समस्या र विकास निर्माणबारे छलफल गर्नु बडघरको मुख्य काम हो । विगतमा बडघर प्रथा एकल रूपमा चले पनि यतिखेर भने सचिवसहित पाँचजनाको समितिमार्फत सञ्चालन हुने प्रचलन रहेको छ ।

यसरी काम गर्नेमध्ये कतिपयले मासिक पारिश्रमिक, कतिपयले अन्नपात लिन्छन् भने कतिले निःशुल्क काम गर्ने गरेको पाइन्छ । समय बदलिँदै गएपछि बडघरको जिम्मेवारी थप भएको छ । यही परिवर्तित अवस्थामा अहिले बडघरले मासिक तलब पाउनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको देखिन्छ ।

थारू समुदायले बडघर प्रथालाई न्याय सम्पादनमा समेत भूमिका दिइनुपर्ने र सेवा सुविधा दिनुपर्ने माग उठाउँदै आएका छन् । बडघरले जिम्मेवारी थपिएपछि सेवा सुविधा कम भएको गुनासो गर्न थालेका छन् । अर्कातर्फ बडघरलाई संघ संस्थाले सम्मान पनि गर्न थालेका छन् । कतिपय वडा कार्यालयले प्रोत्साहनस्वरूप मोबाइल फोन उपलब्ध गराएका छन् भने कतिपयले साइकल दिएका छन् ।

कैलालीको टीकापुरका बडघर बलिराम चौधरीले समाजका सबैखाले अभियान र समस्या सहज निकास दिन नेतृत्वको भूमिका निर्वाह गरिरहेको बताए । समाजका साना ठूला सबैखाले समस्यामा खट्नुपरे पनि वार्षिक तलब पाँच हजारमात्रै भएको चौधरीले बताउ । ‘जहाँ समस्या हुन्छ, म त्यहाँ पुग्छु । गाउँको भोजभतेरदेखि दुःखका घटनासम्म पनि बडघरको भूमिका हुन्छ,’ उनले भने, ‘यसरी काम गरे पनि मैले पाउने वर्षभरिको पाँच हजारमात्र हो । तर, गाउँका मानिस हाम्रो भर मान्छन् ।’

दिव्यपुरका बडघर चेचुराम चौधरी पनि ११ वर्षदेखि बडघरको भूमिका निर्वाह गर्दै आएका छन् । उनले पनि वार्षिक चार हजारमात्र तलब पाउँछन् । ‘एघार वर्षदेखि बडघरको जिम्मेवारी पूरा गर्दा समाजले वर्षमा चार हजारमात्र दिन्छ,’ चेचुरामले भने, ‘गत वर्ष टीकापुर–७ ले मोबाइल वितरण ग¥यो । मोबाइल पाउँदा खुसी लागेको छ ।’

टीकापुरको बेलुवाका बडघर चौकीदार डगौरा थारू ११ वर्षदेखि बडघरको भूमिकामा छन् । डगौराले भने बडघरको भूमिका निर्वाह गरेबापत केही सुविधा पाउँदैनन् । रात–दिन गाउँको सेवा गर्ने आफूलाई अति आवश्यक साइकल, मोबाइल, फोन खर्चजस्ता कार्यमा स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ । ‘मैले ११ वर्षसम्म बडघरको जिम्मेवारी पूरा गरेको छु । अहिलेसम्म पारिश्रमिक केही पाएको छैन,’ थारू भन्छन्, ‘गाउँलेले मलाई नै चुन्छन् । कसरी हुन्न भन्नु ? दैनिक काममा हिँड्दा व्यक्तिगत खर्च धेरै हुन्छ । अब त सरकारले केही व्यवस्था गरिदिए हुन्थ्योजस्तो लाग्छ ।’

बडघरले गाउँमा विकास माग गर्ने, स्थानीयका समस्या पहिचान गर्ने, विवाद समाधान र सामाजिक अभियानमा सहयोगीको भूमिका निर्वाह गर्ने काम गर्छन् । त्यसबाहेक गाउँका मानिसलाई सूचना दिने काम पनि उनीहरूले नै गर्छन् । बडघर सोमनाथ चौधरी यति धेरै काम गर्ने बडघरका समस्या धेरै रहेको बताउँछन्, ‘एउटा साइकलसम्म छैन । स्थानीय सरकारले साइकल, मोबाइलजस्ता अति आवश्यक सामान दिन सके काम गर्न सजिलो त हुन्थ्यो,’ सोमनाथ सुनाउँछन्, ‘स्थानीय सरकार गठनपछि बडघरको काम बढेको छ । त्यसैले यही कामका आधारमा पनि अवसर बढाउन जरुरी भइसकेको छ ।’

‘बडघरले आर्थिक पाटोबारे गुनासो गरे पनि समाजमा उनीहरूलाई गर्ने सम्मान बेग्लै छ,’ रानी जमरा कुलरिया सिँचाइ मूल कुला उपभोक्ता समिति उपाध्यक्ष लालवीर चौधरीले भने, ‘हरेक कुला प्रणालीले बडघरको निर्णयलाई मान्यता दिने गरेको छ ।’ चौधरीले प्रत्येक कुलाअन्तर्गतका बडघरलाई बर्सेनि सम्मान गर्ने परम्परा थालनी भएको बताए । ‘जमरा समितिले अहिलेसम्म २५ जनालाई सम्मान गरिसक्यो । बडघर प्रणालीले समाजमा एकताको भावनालाई जोड दिँदै आएको छ,’ उनले भने, ‘पछिल्लो समय बडघर प्रणाली एकल प्रणालीबाट सामूहिक प्रणालीमा परिवर्तन भएको छ । जसले झनै विश्वास बढेको पाइन्छ ।’ प्रत्येक टोलमा एउटा बडघर, सचिव, उपबडघर, चिराकी र चौकीदार हुन्छन् ।

टीकापुरका हरेक वडामा पाँचदेखि आठ बडघर समिति छन् । समुदायमा हरेक वर्ष माघमा बडघर चयन गरिँदै आएको छ । माघ महिना थारू समुदायको नयाँ वर्षका रूपमा मानिन्छ । यसरी चयन गर्दा हरेक घरबाट एकजना अनिवार्य उपस्थित हुनुपर्ने नियम छ । विगतमा बडघर समिति निर्विरोध रूपमा चयन हुने गरेको थियो । पछिल्लो समय कतै–कतै बडघर चयनमा पनि राजनीतिक गन्ध आउन थालेको गुनासो स्वयम् बडघर तथा ती समुदायका नागरिकको रहेको सुनिन्छ । जसले निर्वाचन हुने स्थितिसमेत आएको ती समुदायले बताएका छन् । ‘कतिपय ठाउँमा दुई या तीनजना उम्मेदवार खडा भएका छन्,’ उपाध्यक्ष लालवीर चौधरीले थपे, ‘हामी सहजीकरण गर्छौं । निर्वाचन हुन दिएका छैनौं । निर्वाचन भएमा समाजमा निष्पक्ष भएर काम गर्न कठिन हुन्छ ।’

बडघरले गाउँमा हुने कामकाज र न्यायिक छलफलमा सहजीकरण गर्ने गर्छन् । समुदायको प्रतिनिधित्व गर्ने र शान्ति सुव्यवस्था कायम राख्ने काममा पनि बडघरको भूमिका अग्रणी रहिआएको पाइन्छ । बडघरको चलन कहिलेदेखि चल्यो भन्ने ऐतिहासिक प्रमाण नभएको थारू समुदायका अगुवा बताउँछन् । ‘गाउँमा हरेक नागरिकले बडघरको निर्णय मान्नुपर्ने चलन तथा मान्यताको विकास भएको छ । त्यसका अतिरिक्त चाडबाड, बाटो, विद्यालय, कुलोजस्ता सामाजिक कामका साथै गाउँघरमा हुने झैझगडा, जनश्रमदान र खेतीपातीजस्ता विषयमा प्रचलन स्थापित गर्नुका साथै सबैलाई मान्य हुने न्याय दिन उनीहरूकै निर्णय लागू हुने गरेको छ,’ पूर्वबडघर जितबहादुर चौधरी भन्छन्, ‘बडघरमा बस्ने भनेको त चौबीसै घन्टा समुदायलाई सेवा गर्छु भनी तयार भएको मानिस हो ।’

पछिल्लो समय स्थानीय सरकारले बडघरलाई क्षमता विकास गर्न तालिम दिन थालेका छन् । उनीहरूलाई मेलमिलाप केन्द्रमा समावेश गरेर द्वन्द्व व्यवस्थापनमा सहयोगीको भूमिकामा प्रयोग गर्न थालिएको छ । विगतमा बडघर पढेलेखेका थिएनन् । अहिलेका अधिकांश बडघर राम्रोसँग लेखपढ गर्न सक्छन् । ‘विगतमा न्याय सम्पादनको कामसमेत गर्दै आएका बडघरलाई स्थानीय तहको न्यायिक समितिसँग जोड्न तालिम दिने गरेका छौं,’ जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भनिन्, ‘स्थानीयस्तरमा न्याय सम्पादनमा बडघरको भूमिका महत्वपूर्ण छ । उनीहरूले आफ्नै तवरले न्याय सम्पादन गर्थे । अब कानुनी पाटोबारे समेत जानकारी दिन थालेका हौं ।’

टीकापुर नगरपालिका–७ ले बडघरलाई प्रविधिसँग जोड्न गत वर्ष मोबाइल वितरण ग¥यो । यस वर्ष चिराकीलाई साइकल वितरण गरेको छ । वडाध्यक्ष रामलाल डगौरा थारू बडघरको क्षमता विकासका लागि नगरपालिकाले तालिम गोष्ठीजस्ता कार्यक्रमसमेत गरिरहेको बताउँछन् । ‘बडघरको काम समाजसेवा गर्ने भएकाले स्थानीयले यथाशक्य सहयोग पनि गर्ने गरेका हुन्,’ वडाध्यक्ष थारू भन्छन्, ‘स्थानीय सरकारले तलब दिनसक्ने अवस्था छैन । तर, उनीहरूको सामाजिक सेवाको मूल्यांकन हुनुपर्छ भन्ने विषयमा भने कसैको पनि दुईमत छैन ।’

स्केच सौजन्य : कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्