दम, मुटु, ग्यास्ट्रिक, चर्मरोग निको पार्ने विजयसाल


 

गोदावरी (कैलाली) । बहुउपयोगी बिरुवाका रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन् । कैलालीको चुरे गाउँपालिका–४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन् ।

सामुदायिक वनले विजयसालको नमुना प्लट तयार गरी ४.५ हेक्टर क्षेत्रफलमा काँडेतारले घेराबार गरेर संरक्षणमा लागेको हो । सामुदायिक वनले विजयसाल संरक्षणका लागि योजना बनाएर संरक्षण गरिरहेको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताए । सामुदायिक वनभित्र रहेका पुराना रूख संरक्षण गरी विजयसालको पुनः उत्पादन बढाउने उद्देश्यले नमुना प्लट बनाएर संरक्षणको काम अघि बढेको उनले सुनाए । विजययसालको महत्व नबुझ्दा विगतमा घाँस र दाउराका रूपमा प्रयोग गरिँदै आएकामा सामुदायिक वन बनाएपछि त्यसको महत्वबारे उपभोक्ता जानकार भएको उनको बुझाइ छ ।

कैलालीको चुरे गाउँपालिकाभित्र ४० वटा सामुदायिक वन रहेका छन् । ती वनमध्ये समैजी सामुदायिक वनमा मात्र विजयसालका रूख देख्न पाइन्छ । विजयसालका पुराना रूख संरक्षण र सम्बद्र्धन गरी बिरुवा हुर्काउन सजिलो हुने स्थानीय उपभोक्ताको भनाइ छ । सो सामुदायिक वनमा विजयसालको नमुना प्लट बनाएर संरक्षण गरिन लागेपछि रूख हुर्काउन सजिलो हुने स्थानीय धनसरा धामीको भनाइ छ । विगतमा आगलागीका कारणसमेत पुनः उत्पादन भएका विजयसालका बिरुवा मर्दै आएका थिए । हाल उपभोक्ताको सक्रियताले वनमा आगलागी हुन नपाउँदा बिरुवा हुर्कदै गएको जनाइएको छ ।

वनको नमुना प्लटमा २५० वटा विजयसालका रूख रहेका छन् । नमुना प्लट बनाएर संरक्षण गरिएपछि पछिल्ला वर्षमा विजयसालका नयाँ बोटको संख्यामा बढोत्तरी भइरहेको स्थानीयको भनाइ छ । डिभिजन वन कार्यालय कैलालीले विजयसाल संरक्षणका लागि तारबार गर्न ४०० फलामे पोल र ८०० किलोग्राम काँडेतार सहयोग गरी रूखमा ट्र्याकिङ गर्ने काम गरिएको छ ।

विजयसालको काठबाट बनेका भाँडाको बजारमा माग अधिक रहेकाले आम्दानीको स्रोतका रूपमा लिन सकिने डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । विजयसाल बहुऔषधिका रूपमा प्रयोग हुने र काठले समेत उच्च मूल्य पाउने भएकाले यसको संरक्षण गर्नु जरुरी रहेको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत रामअवतार चौधरीले बताए । विजयसाल दम, मुटुका रोग, ग्यास्ट्रिक, चर्मरोग, चोटपटक लागेको ठीक गर्न परम्परागतकालदेखि प्रयोग हुँदै आएको जानकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्