१ मरेपछि शुक्लाफाँटामा १६ बाघ



महेन्द्रनगर (कञ्चनपुर) । क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रूपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ ।

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरीसिकार नियन्त्रणलगायत कारणले बाघको संख्या बढिरहेको निकुञ्जको भनाइ छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले एउटा बाघले कम्तीमा ४० वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने गरेको बताए । ‘क्षेत्रफलका हिसाबले शुक्लाफाँटामा अन्त्यको भन्दा धेरै बाघ छ नै,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘यो बाघका लागि राम्रो वासस्थान पनि हो ।’ उनले चुरे पहाडदेखि जोडिएको शुक्लाफाँटाभित्र कुल क्षेत्रफलको एकतिहाइ घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताए ।

‘निकुञ्ज प्रशासन, नेपाली सेनालगायत सुरक्षा निकाय, मध्यवर्ती क्षेत्रका उपभोक्ता तथा युवा समितिको पनि संरक्षणमा ठूलो योगदान रहेको छ,’ उनले थपे, ‘चोरीसिकार शून्य अवस्था छ ।’

बधुबार विश्व बाघ दिवसका अवसरमा शुक्लाफाँटा निकुञ्ज परिसरमा बाघको होर्डिङ बोर्ड अनावरण गरिनुका साथै बाघ संरक्षण र चुनौतीलगायत विषयमा प्रस्तुति रहेको उनले जानकारी गराए । सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा एकले कमी आएको छ । निकुञ्जवरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

चोरीसिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चौतर्फी नेपाली सेनाको देवी दल गण खटिएको छ । यहाँको लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमानालगायत जंगलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ । भारतबाट पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकको रोजाइमा शुक्लाफाँटा न्यून मात्रामा पर्ने गरेको छ । यहाँबाट आउने पर्यटक धेरैजसो बर्दिया, पोखरालगायत क्षेत्रमा जाने गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

सरकारले सन् २०२२ सम्ममा बाघको संख्यामा दोब्बर बनाउने घोषणा गरेको छ । सन् २०१८ को गणनाअनुसार नेपालमा २३५ वटा बाघ छन् ।

सन् २००८ देखि शुक्लाफाँटामा स्वचालित क्यामेरा प्रविधिबाट बर्सेनि बाघ गणना तथा अनुगमन भइरहेको छ । यसअघि बाघको पाइला र दिसा–पिसाब संकलन गरी बाघको तथ्यांक संकलन गरिएको थियो । तथ्यांकअनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्गकिलोमटिर आहारा प्रजातिको घनत्व छ ।

त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका आठ प्रजातिमध्ये तीन प्रजाति बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन् । बाँकी रहेका पाँच प्रजाति आमुर, सुमात्रा, साउथ चाइना, इन्डो–चाइनिज र रोयल बंगाल (पाटेबाघ) को अवस्था पनि दयनीय रहेको वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्थाहरूको तथ्याङ्कले देखाएको छ । लोप हुन बाँकी रहेका पाँच प्रजातिका बाघ नेपाल, भारत, बंगलादेश, चीन, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्यान्ड र भियतनामा मात्रै सीमित छन् ।

प्रतिक्रिया दिनुहोस्