इजरायलको लोभलाग्दो कमाइ त्यागेर काठमाडौंमा तरकारी पसल



एसएलसी परीक्षा नजिकिँदै थियो । समकक्षीहरू राम्रो अंक ल्याएर उत्तीर्ण गर्ने ध्याउन्नमा थिए । मीरा मन थापालाई एसएलसी परीक्षाले पटक्कै छोएको थिएन । थापाको अध्ययनकोठाको र्याकभरि पाठ्यक्रमका पाठ्यपुस्तक होइन, साहित्यिक पुस्तक, पत्रपत्रिका हुन्थे । परीक्षा नजिकिँदै गर्दा पनि उनले पाठ्यक्रमका पाठ्यपुस्तक विद्यालयमा मात्रै हेर्ने गर्थिन् । यो संवत् २०५२–०५३ सालतिरको कुरा हो ।

पाठ्यक्रमका पाठ्यपुस्तक विद्यालयमा मात्रै हेरे पनि उनी गणितबाहेक सबै विषयमा उत्तीर्ण भइन् । आफू एसएलसीमा अनुत्तीर्ण भए पनि रत्तिभर चिन्ता थिएन । तर, उनको बुवा डिल्लीबहादुर थापालाई छोरी अनुत्तीर्ण भएकीमा ठूलै तोड पर्यो । त्यही भएर उनलाई घरभन्दा पर आफन्तकहाँ राखेर ट्यटुसन पढ्न पठाइयो । ट्युसन पढेको काम लाग्यो । अनुत्तीर्ण भएको विषयमा ४९ नम्बर ल्याएर एसएलसीको पढाइ छिचोलिन् । ‘पहिलोपटकको परीक्षामा म्याथमा चिट चोरे पनि पास हुन सकिनँ,’ उनको जिकिर थियो, ‘ममात्रै होइन संसारकै अधिकांश महिला म्याथमा कमजोर हुन्छन् ।’

पढाइभन्दा साहित्य प्यारो । ‘ए प्लस बी होल स्क्वायर बराबर ए क्वाएर प्लस टु एबी प्लस बी स्वायर’ हुन्छ भनेर घोक्नुभन्दा गजलका रदिफ, काफिया, मत्ला र तखल्लुख खोजीमा रमाउने उनी एसएलसी उत्तीर्ण गरेको क्षणभन्दा एउटा पठनीय गजल लेख्दा बढी सन्तुष्टि हुन्थिन् । कविताको ‘प्लट’ फुरेपछि विम्ब र प्रतीक खोजीमा लागिपर्थिन् ।

माइधार, झापाकी मीरा दस कक्षा पढ्दाताका देशैभरि हवाई पत्रिका प्रकाशित हुन्थे । प्रत्येक जिल्लाबाट आठ–दसवटा हवाई पत्रिका प्रकाशित हुने त्यसताका हवाई पत्रिकाको ग्राहक बन्नु, हवाई पत्रिकाका सम्पादकले सिर्जना मागेपछि सम्बन्धित पत्रिकालाई नयाँ सिर्जना पठाउन पनि केही न केही लेख्नैपथ्र्याे । त्यही हवाई पत्रिकाले उनलाई साहित्यिक सर्जक बनाउन धेर–थोर योगदान पुर्याएको थियो ।

नेपालमा हवाई पत्रिकाको इतिहास त्यति लामो छैन । सन् १९६७ तिर पाल्पाका विनय कसजू भारतको वनारसमा अध्ययन गर्थे । कसजूले वनारसमा पहिलोपटक हवाई पत्रिका पढ्न पाएका थिए । अध्ययन पूरा गरी नेपाल फर्केका उनले सानो टाइप मेसिन किनेर विजय सागरसँग मिलेर ‘चौतारो’ नामक हवाई पत्रिका प्रकाशन थाले । जुन पत्रिका ०३४–३५ मा दुई अंक प्रकाशित भएको थियो । चौतारो नेपालको पहिलो हवाई पत्रिका मानिन्छ । आन्तरिक हवाईपत्रमा छापिएर हवाईजहाज र हुलाकमार्फत प्रत्येक जिल्लाका गाउँ–गाउँमा पुग्ने पत्रिका नै हवाई पत्रिका हो । हवाई पत्रिकाको इतिहास जान्न मन लागे पंक्तिकारभन्दा मीरा मन थापासँग बढी जानकारी होला ।

संवत् ०५२–५३ देखि लेख्दै आएकी उनले कुन–कुन विधामा कति लेखिन् ? भन्छिन्, ‘मैले साहित्य लेखनलाई निरन्तरता दिन सकिनँ । बीचमा साहित्य सिर्जनाभन्दा टाढा रहें ।’ तैपनि अहिलेसम्म उनले कुन–कुन विधामा कति लेखिन् ? उनलाई भन्न करै लाग्यो, ‘संख्यात्मक रूपमा मैले कुनै पनि विधामा गन्नै नसक्नेगरी लेखेकी छैन ।’ त्यो भनेको कति होला ? जबरजस्ती कहिल्यै नलेख्ने उनले १ सय ५० भन्दा बढी गजल लेखिसकेकी छन् । संख्यात्मभन्दा गुणात्मकतामा ध्यान दिने उनले २० भन्दा बढी कविता लेखिसकेकी छन् । तीन–चारवटा कथा र त्यति नै मात्रामा गीतसमेत लेख्न भ्याएकी छन् ।

एकताका वैदेशिक रोजगारीक्रममा इजरायल पुगेकी मीरा मन थापा त्यहाँ रहँदा कलम चलाउनेमध्ये अब्बल सर्जक मानिन्थिन् । इजरायलमा २०–२५ जना महिला सर्जकले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका छन् । त्यसमध्ये कतिपय नेपाल फर्किसकेका छन् । इजरायलमा रहँदासमेत उनले साहित्यका विभिन्न विधामा सशक्त रूपमा कलम चलाइन् । एक लाख रुपैयाँ खर्चेर ‘माटो मुटु र मन’ नामक गजलसंग्रह सार्वजनिक गरिन् ।

‘माटो मुटु र मन’ गजलसंग्रहमा रवि प्रान्जलले लेखेका छन्, ‘सतही भावमा केन्द्रित भएर गजल लेख्ने आजका अधिकांश गजलकारका भीडमा अलग पहिचान लिएर, पृथक विचार, गहन भाव र सुन्दर शिल्पसाथ गजलको रूप र मर्मलाई आत्मसात् गर्दै मीराले गजल लेख्दै आएकी छन् ।’

 

पत्रकार देवेन्द्र सुर्केलीले काठमाडौंबाट प्रकाशित एक साप्ताहिकमा ‘माटो, मुटु र मन’ गजलसंग्रहको समीक्षा गर्दै लेखेका थिए, ‘मीराका गजल देशभक्तिसँग नजिक छन् ।’ हुन त गजल भन्नासाथ मायापिरतीले ठाउँ पाउने आमबुझाइ छ । मायापिरतीका अलावा नेपाली मन, नेपाली माटो र माटोको माया, सम्मान, माटोप्रति इमानदार रहन मीरा मन थापा गजलमा मात्रै होइन, कथा, कविता र गीतमार्फत अनुहारिएकी हुन्छन् । उनको बुझाइ छ, ‘मायापिरती जीवनको एउटा पाटो हो । अनि नभई नहुने कुरा । तर, त्योभन्दा पर पनि एउटा छुट्टै संसार छ । विशाल संसार । त्यसलाई नभुलौं ।’

संसारको सबैभन्दा ठूलो सम्पत्ति भनेको सन्तोष हो । सन्तुष्टि हो । प्रत्येक मानिस त्यो सम्पत्ति हात पार्न विभिन्न किसिमका काम गर्ने गर्छन् । कोही गाडी, बंगला जोड्छन् । कोही समाजसेवा गर्छन् । कोही पाटीपौवा बनाउँछन् । चौतारी चिन्छन् । कोही लेख्ने गर्छन् । आत्मसन्तुष्टिका लागि लेख्ने मीरा मन थापाको जिकिर छ, ‘मलाई लेखेर आत्मसन्तुष्टि मिल्छ । जहाँ मेरो मनभित्रका हरेक कुरा चुपचाप शब्दमार्फत व्यक्त हुन्छन् ।’

महिलाका लागि सुरक्षित गन्तव्य मानिने इजरायलमा रहेर उनको सामूहिक कृति, विभिन्न पत्रपत्रिका, वेबपेजमा फुटकर कथा, कविता, गीत, गजल प्रकाशित छन् । अन्तर्राष्ट्रिय कविता महोत्सव ०६९ मा तेस्रो, विश्वव्यापी अनलाइन गजल प्रतियोगिता ०६९ प्रथम र विश्वव्यापी अनलाइन देशभक्ति गीत ०६९ मै तृतीय उनले लेख्न छाडेकी छैनन् ।

इजरायलबाट नेपाल फर्केपछि लेखनकार्य पातलिएको छ । इजरायलबाट फर्केपछि काठमाडौंलाई कर्मभूमि बनाएकी उनले भृकुटीमण्डपमा रहेको आरआर क्याम्पसको गेटैमा पुस्तक पसल खोलेकी छन् । काठमाडौंकै अनामनगरमा पाना क्याफे सञ्चालनमा छ । त्यतिमात्रै होइन, ‘नेपाली माटो नेपाली मन, हाम्रो घर हाम्रै आँगन’ भन्ने ‘स्लोगान’ सहित ‘व्याइज होस्टेल’ सञ्चालनमा आइसकेको छ । तरकारी पसल खुलेको पनि थुप्रै भइसकेको छ । साथीहरूसँग मिलेर थालिएको व्यवसाय उकालो लागेकै छ ।

प्रतिक्रिया दिनुहोस्