विकासको कुरा गर्नासाथ स्वीट्जरल्यान्डको उदाहरण दिने गरिन्छ । त्यसको एउटै कारण छ– त्यहाँको विकेन्द्रीकरण शासन व्यवस्था । केही समय अघिसम्म नेपालमा एकात्मक केन्द्रीकृत राज्य व्यवस्था थियो । हरेक कुरा केन्द्रको नियन्त्रणमा हुने गथ्र्यो । नेपालीले सानोतिनो कामका लागि केन्द्र धाइरहनुपर्ने दुःखदायी जीवन भोग्दै आइरहेका थिए । यसले समय र खर्च बर्बाद पारिरहेको थियो । स्वीट्जरल्यान्डका जनता यस्तो समस्याबाट मुक्त छन् । हरेक कुराको मुक्तिका लागि संघीयता आवश्वक पर्दोरहेछ भनेर नै स्वीट्जरल्यान्डको उदाहरण दिने गरिएको हो ।
स्वीट्जरल्यान्ड नेपालभन्दा सानो छ । तर, २६ वटा स्वायत्त प्रदेशसमा विभाजित छन् । त्यहाँको संघीयता संसारकै उत्कृष्ट नमुना हो । यसकारण त्यहाँका प्रदेशलाई अधिकतम स्वायत्तता प्रदान गरिएको छ भने सबै प्रदेशलाई समान अधिकार दिइएको छ । प्रत्येक प्रदेशको आफ्नै संविधान, प्रतिनिधिसभा, सरकार र अदालत छन् ।
स्वीट्जरल्यान्ड नेपालजस्तै जातीय, भाषिक र सांस्कृतिक विविधता भएको मुलुक हो । जर्मनी, फ्रेन्च र इटालियन गरी स्वीट्जरल्यान्डमा मुख्यतः तीन भाषिक सांस्कृतिक क्षेत्र छन् । तिनीहरू सबैले संघीयता, प्रत्यक्ष प्रजातन्त्र र तटस्थता (कसैसँग लडाइँ नगर्ने)लाई स्वीकारेका छन् ।
भौगोलिक आधारमा स्वीट्जरल्यान्डलाई दक्षिणमा स्वीस हिमशृंखला, मध्यभागमा टापु र उत्तरमा जुराग पर्वत गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । दक्षिणको ६० प्रतिशत भू–भाग हिमशृंखलाले ओगटेको छ । स्वीट्जरल्यान्डलाई युरोपभरिकै शुद्ध पानीको मुहान मानिन्छ । यहाँ जेनेभा, कोन्सट्यान्स, म्याग्गिवइरजस्ता सुन्दर ताल छन् । त्यहाँ जम्मा १ हजार ५०० ताल छन् । ताल र हिमनदीले स्वीट्जरल्यान्डको ६ प्रतिशत भू–भाग ओगटेको छ । त्यसैगरी, स्वीट्जरल्यान्डमा ४ हजारभन्दा बढी उचाइ भएको करिब १०० हिमाल छन् । जसमध्ये ४,६३४ मिटर उचाइसहितको डुफोरस्पिट्ज सबैभन्दा अग्लो हिमाल हो भने ४,४७८ मिटर उचाइसहितको म्याटरहोर्न हिमालचाहिँ त्यहाँको सबैभन्दा चर्चित हिमालमा पर्छ ।
सन् १८१५ यता यसले कुनै पनि देशसँग युद्ध गरेको छैन । यो देश सन् २००२ मा आएर मात्रै संयुक्त राष्ट्रसंघको सदस्य भएको हो । यो विभिन्न विश्वव्यापी संगठनको छाता संगठन हो । यसमा वल्र्ड इकोनोमिक फोरम, इन्टरनेसनल ओलम्पिक कमिटी, रेड क्रस, वल्र्ड ट्रेड अर्गनाइजेसन, फिफा आदि पर्छन् । युरोपेलीस्तरमा चाहिँ ‘युरोपियन फ्रि ट्रेड एसोसिएसन’को संस्थापक हो– स्वीट्जरल्यान्ड । तर, यो युरोपियन युनियनको सदस्य भने होइन ।