काठमाडौं । काँग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको साता दिनपछि केन्द्रीय सदस्य (खुला) अन्तर्गत १६ नयाँ अनुहारसहित ३५ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचित केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री डा. शशाङ्क कोइराला सर्वाधिक ३,८३६ मत पाएर खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
एनपी साउद (२,९३७), बालकृष्ण खाण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शंकर भण्डारी (२,७६८), जिपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जितजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनीलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यसैगरी, दिलेन्द्रप्रसाद बडू (२,४४१), डा. रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले
(२,२७९), दीपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजीव ढुंगाना (१,८९६), गुरु बराल (१,८७०), सञ्जयकुमार गौतम (१,८६७) प्रा.डा. गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु सिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजंग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा. गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जनाएको छ ।
३५ पदका लागि खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए । पार्टीका सबै पदाधिकारीको भने शुक्रबारै मतगणना सम्पन्न भएको थियो । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा ४८७ जनाले उम्मेदवारी दिएका थिए ।
काँग्रेसमा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लस्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।
त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खस/आर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपांगबाट १ सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने काँग्रेसको विधानमा व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।