‘आतंककारी नम्बर ४६ ।’
सिर्फ ‘आतंककारी नम्बर ४६’ म ।
ओढारजस्तोमा बसाएको केही मिनेटपछि निथु्रक्क भिजेको लुगा निचोर्न लगायो । त्यसको झन्डै आधा घन्टापछि कोही आएर भन्यो, ‘उठ् ।’ भर्खर ब्याएको लौरेपाडोजसरी मुस्किलले उभिन कोसिस गरे । कुटाइ र पानीमा डुबाएको कारण उठ्न सकिनँ । फेरि कोसिस गरेँ । यति मुस्किल उभिनलाई पनि कि मैले सयौँ क्वीन्टलको भार मेरै काँधमा थामिरहेछु । मुस्किलले उभिने कोसिस गरेँ ।
बलि दिनुअघि थुनिकोटमा सिँगार्न थालेको राँगोजस्तै लाग्यो, आफूलाई । छामछुम पा¥यो । घरी यता घरी उता ग¥यो । खासरखोसर पा¥यो । थाहा भएन, के गर्यो ? न आँखा खुला छ न त हात खुला न त ..।
बत्ती बलेको छ या छैन ?
त्यो पनि थाहा छैन ।
बर्खामासको झरीले भएको गदगदे हिलोमा खाल बसेको भैंसी असजिलो मानेर घुमिरहेजस्तो ।
तर म ?
चुपचाप छु ।
घरी लाग्छ– म मधौरो हुँ । र, रङ्स्याल झाँक्रीले फुकफाक पार्नुअघि सर्जाम गरिरहेछन् । र, उनले पहिरेको कोलोभारो (फलामबाट बनेका बाजा जसबाट ढ्याङ्ग्रोको तालमा झाँक्री काँप्दा एकखाले धून निस्कन्छ)झैँ कालाङकोलोङ । तर, चर्को लागिरहेछ ।
को हो कुन्नि ? घरी यता गर्छ घरी उता ।
बोलेको छैन । तर, काममा व्यस्त छ जस्तो लागिरहेछ ।
के–के भन्यो ?
चित्कारले सुनिएन ।
त्यसपछि ? घाँटीमा बाँधिदियो,
बेसारमा डुबाएको ‘सातो कराएको’ धागो र जन्तर झाँक्रीले गलामा बाँधिदिएजस्तो । चिसो लाग्यो । यत्तिभरि जोडले बोल्यो । र सुनेँ, ‘४६ भनेपछि बोलेस् ।’
लाग्यो– वधशालाको परिचयपत्र पाएछु ।
आँखाले नदेखे नि हातले छामेर यसको रूप नियाल्न खाजें । तर, कसरी सक्नु ? हात त बाँधिएको पो छ । मन ढक्क फुल्यो । अर्कै ग्रहमा पनि आफ्नो स्पेस पाएजस्तो कस्तो–कस्तो लाग्यो । मन हुर्रियो । आफूलाई थाम्न झन् भारी भयो । संयोग, त्यसैबेला कासन झर्यो, ‘बस् ।’
कोलाहल जारी छ । चिच्याएको आवाज झन् टाँठिन थाल्यो । सायद अगि म चिच्याएको चित्कार पनि यसैगरी सुने होलान् ।
बसेँ । यति असजिलो कि, उभिएको बेला पनि ठहर्न सकेको थिइनँ भने बस्दाखेरी पनि ।
स्यानगोरीको बर्खेगोठको हिलैहिलोले भरिएको भकारामा भैंसी अप्ठेरोगरी बसेजस्तो गरी बस्छु ।
कहाँ हो ? के हो ? केही थाहा छैन । सपनाजस्तो न विपनाजस्तो लागिरहेछ । पौने एक घन्टाको गाडीको गुडाइको दूरीमै यति बिरानो मुलुक पनि छ ? कल्पेकै रहेनछु ।
राक्षसको ओडारमा छु जस्तो भयानकताले छोप्न थाल्यो ।
४६ ? थाहा छैन । न उसले अर्थ खुलायो न त मैले नै सोधेँ । अथ्र्याएँ– ल्याइसकेपछि नम्बर पाइन्छ होला । र, त्यै नम्बरको आधारमा कारबाही थाल्छ होला ।
नम्बरको आधार ? पक्राउ परेकाको संख्या या अल्फाबेटिकल ? थाहा भएन । आफैँसँग कुतर्क गरेँ– आज ४६ जना पक्रियो होला ।
जेहोस्, आतंककारी नं. ४६ म । कसाहीखानामा विधिवत् रूपमा दर्ज भएँजस्तो लाग्यो ।
भुक्क पार्दै ‘रोल्पा घर र नाम’ सुन्नेबित्तिकै ज्यामितीय विधिबाट लातको संख्या बढ्न थाल्यो, ‘मु…आतंककारी, कति मारिस् हाम्रा साथी ?’
अब मेरो गलामा आतंककारी नम्बर ४६ भएपछि केहीले सरासर घाँटीमा छाम्दै (सायद हेरे होलान् सोध्दै, गोद्न थाले भने कोहीले सिधै गोद्न र सोध्न थाले ।
लागिरहेछ– पत्रकार सम्मेलन भइरहेछ । तर, यस्तो पत्रकार सम्मेलन कि मेरोबारे मात्र बताइरहनुपरेको छ । ‘आतंककारी होइन’ भन्यो गोदेकै छ ‘हो’ भने के गथ्र्यो कुन्नि ?
त्यसपछि ?
चुप लागेँ, सोधेको जवाफमात्र फर्काएर चुपचाप । आउँदा÷जाँदा गोदाइले गुणात्मक फड्को मार्यो, ‘मु…रोल्पाली, तँलाई नमारी को तेरो …लाई मार्ने ?’
मानौँ म दुनियाँको सबैभन्दा घोर अपराधी हुँ । र, मलाई व्यस्त चोकमा राखिएको छ । आउने जानेले गोदिरहेछन् । तर, फरक यति छ कि आफूले रोजेको बाटो र स्वप्निल आँखाले देखेको सपनाप्रति कुनै गुनासो छैन । (त्यसो त अपराधीले आफ्नो अपराधप्रति पश्चात्ताप नगरेको पनि त हुन सक्छ ।)
बित्न त बितेछ रात । तर, कसरी ? भन्न सक्तिनँ । पलपल आउनेका गोदाइ र सोधाइ कति पीडादायी थिए ? तिनका नालीबेली अक्षरमा उन्न सक्ने ल्याकत मसँग छैन ।
जेहोस् बितेछ रात ।
नम्बरले बोलाउने पालेहरूले नामैले बोलाउन थाले । को ? कहाँको ? घुइरो–घुइरो थाहा हुन थाल्यो ।
एक दिन कुनै सिपाहीले हाकिमसामु चुक्ली हालेछ (पालेले बन्दीलाई नामले बोलाएको बारेमा । पालेलाई गोद्नु गोदेछ ।
‘अबदेखि कसैलाई नि नामबाट नबोलाओस् ।’
झन् निरंकुश बन्यो (नाम सुन्न नपाइने । बोल्न त पाइँदैनथ्यौँ । पालेले बोलाउने बाटो पनि बन्द भयो ।
‘के छ मिस्टर पुन ?’ एक दिन राम्रो पालेले मलाई बोलायो ।
‘मु…नियम बना’को छ तेरो बाउले, नम्बरले बोला । मार खाने विचार छ ?’ अर्को पालेले झपा¥यो ।
‘राँ…को छोराले भनेर हुन्छ ? बोलाउँछौ नि हाम्रा गाउँलेहरूलाई ।’ नामैले बोलाउनुको तर्क राख्यो । एक दिन अर्को दुर्घटना भयो ।
बन्दीलाई नामले बोलाएको अर्काे चुक्ली परेछ । पहरा बसेकै बेला हाकिम आयो र दुईजना अरू सिपाही बोलाएर रामधुलाइ गर्यो ।
हाकिमका मुखबाट झरेका गाली र व्यवहार देखेको भए झन् कति भयानक हुन्थ्यो होला, कुन्नि ? लाग्यो, यी बिचरा सिपाहीले हाकिमकै निगाहले सास फेरिरहेछन् ।
जस्ता दुर्घटना भए पनि केही पालेले कहिल्यै टेरेनन् । भलै कम्ती भयो– नामले बोलाउन ।
पालेले आपसमा पनि कुरा नगर्ने (बन्दीसँग त झन् बोल्ने कुरै भएन) बन्दीलाई नामले नबोलाउने निरंकुश अध्यादेशमा लालमोहर लागेको तेस्रो दिन हो, सायद । मलाई यस्तै लाग्छ ।
‘ए र…को वाण, हल्ला नगर है । अस्ति खाएको बिर्सिसकिस् ?’ पल्लोछेउमा ड्युटी गरिरहेको पालेले हकार्यो ।
‘हामी यिनका ड्युटी गर्छौं ती र…का वाणले हाम्रो ड्युटी गर्नुपर्यो नि ।’ वल्लोछेउको पालेले जवाफ फर्काएपछि हामीहरूका मुखबाट हाँसो खुस्कियो ।
हुन पनि पाले निदाएको, गफ गरेको, नामले बोलाएको थाहा पाउन त हाकिमले पालको ड्युटी गर्नुप¥यो नि । ‘को ल्यायो ?’ थाहा पाउँछन् भनेर होला । ‘नामबाट बोलाउने’ कुनै आइतवार कुरेजस्तो हुन थाल्यो ।
कैदी नम्बर दिए पनि कहिल्यै पक्राउ पुर्जी दिइएन । राखिएको कहाँ त थाहा थिएन भने पक्राउ पुर्जी माग्नुको के अर्थ ? सायद कसैले पनि मागेन होला ।