आफैंले सिलाएकोमात्रै लगाउने विश्वविख्यात साहित्यकार



लोकप्रिय मानिसको मृत्यु सम्मानसाथ हुन्छ भन्ने हाम्रो कल्पना छ । तर, मर्नेबारेमा पनि मानिसका अनौठा–अनौठा रुचि र स्वभाव हुने गर्छन् । त्यसमध्ये विश्वचर्चित रूसी साहित्यकार लेब तोल्सतोय (सन् १८२८–१९१०) को मृत्युबारे सुन्दा हामीलाई अचम्म लाग्छ ।

तोल्सतोय धनी परिवारमा जन्मेका थिए । खानलाउन अपुग थिएन । उनका जीवनका प्रारम्भिक दिनहरू विलासी थिए । उनी धन–सम्पत्तिले मात्तिएका थिए । उनलाई सहरभरि बदमास भनिन्थ्यो । गल्ली ढुक्ने आवाराले जे–जे गर्छन्, उनले त्यो सबै गर्न भ्याएका थिए । भाङ–धतुरो खाने, केटीहरूको खिल्ली उडाने उनको दिनचर्या बनेको थियो ।

तिनै तोल्सतोय पछि महान् साहित्यकार बने । उनका साहित्यिक कृतिहरू विश्वभरि पढिन्छन् । ती कृतिहरू परिवर्तनका लागि प्रेरणाको स्रोत बने । दुःखी र गरिब किसानको पक्षमा उनले कलम चलाए । आफ्ना सबै कुलत त्यागे । उनले आफ्नो जग्गा–जमिन र पुस्तकबाट आउने रोयल्टी गरिबलाई बाँडिदिए । तोल्सतोयको साहित्य पढेर कतिपय मानिस जार शासकको अत्याचारविरुद्ध होमिएका थिए ।
तोल्सतोयले जुत्ता, लुगा सिलाउने काम पनि सिके । आफ्नो काममा अरूलाई दुःख दिनुहुँदैन भन्ने उनको मान्यता थियो । उनी आफैंले सिलाएको जुत्ता, कपडा लगाउँथे ।

 

विश्वविख्यात उनी अरूलाई दुःख दिन चाहँदैनथे । मर्ने बेलामा पनि उनले यो कुरा लागू गरे । उनी जब ८० वर्षको भए, तब मर्ने बेलामा कसैलाई दुःख नहोस् भनेर रेलमा चढेर उनले सुटुक्कै घर छोडे । उनी रेलमा चढेको कसैले थाहा पाएनन् । निकै पर पुगेपछि उनलाई बिरामीले निकै च्याप्न थाल्यो । त्यसपछि उनी अस्तापोलो स्टेसनमा उत्रे । उनी मृत्युको मुखमा पुगिसकेका थिए । सुरुमा त कसैले उनको हविगतबारे थाहै पाएनन् । तर, विश्वचर्चित साहित्यकारलाई त्यहाँ नचिन्ने मानिस नहुने कुरै भएन । एकैछिनमा पत्रकारको घुइँचो लाग्यो । देशका ख्यातिप्राप्त मानिस तोल्सतोयलाई भेट्न आए । घर छाडेको १२ दिनपछि उनको निधन भयो । चाहेका भए उनी महँगा अस्पतालमा उपचार गर्न सक्थे तर उनले यसरी नै मर्न चाहे । अरूलाई दुःख दिनु नपरोस् भन्ने उनको इच्छा महान् छ ।

प्रतिक्रिया दिनुहोस्