भाइचाराको भाइतिहार



नेपाली समाज शताब्दीयौंदेखि आपसी मित्रता, शान्ति र सद्भावयुक्त राष्ट्र हो । सामाजिक र सांस्कृतिक जीवन संसारमा भाइचाराको सुमधुर सम्बन्धले हामीलाई एकताको सूत्रमा आबद्ध गर्दै ल्याएको छ । त्यसैले हाम्रालागि राष्ट्र, समाज र हामीले मान्दै आइरहेको पद्धति महत्वपूर्ण मानिन्छन् । त्यसैगरी अनेक परम्परागत चाड तथा संस्कार, संस्कृति पनि त्यत्तिकै अभिन्न रहँदै आएका छन् ।

प्राकृतिक सुन्दरताका साथै नेपाली आपसी मित्रतापूर्ण भाइचारा र मौलिक सम्पदा, संस्कृतिका लागि परिचित र प्रसिद्ध छौं । सालिन्दा नेपाल घुम्ने पवित्र उद्देश्यको योजना बनाएर विदेशी मन लोभ्याउने कुरा हेर्न आउँछन् । उनीहरूमध्ये अधिकांशले हेर्ने, घुम्ने, पुग्ने र रमाउने भनेकै प्राकृतिक छटा, वन्यजन्तु र वनस्पति, सम्पदा र संस्कति तथा विविधतामा एकता भएको जीवनशैली हो ।

हाम्रा हरेक चाड, उत्सव तथा सांस्कृतिक परिपाटीको निरन्तरताले हामीलाई आपसमा सधैं सन्निकट राख्दै ल्याएको छ । यही निकटताले हामीबीच दयामाया, विश्वास र सामाजिक जीवनको न्यानोपन दिँदै आइरहेको छ । विकासको गतिले फड्को मार्न नसके पनि सहयोग, सद्भाव र भाइचाराका कारण हामी दुःखमा पनि सुख र सन्तुष्टिको आनन्द लिन्छौं । तर, प्रायः मुलुकका मानिसमा आपसी दयामाया अभाव छ । उनीहरूमा सुख र दुःखको भावना तथा मानवीय संवेदना कमी अनुभूति गर्न सकिन्छ । फलस्वरूप भाइचाराको पक्ष बिरानो छ । त्यसैले हाम्रो मित्रता, मायाममताप्रति तिनको अगाध अभिरुचि र आकर्षण बढ्नु स्वाभाविक हो ।

शारदीय सौन्दर्यको मनमोहक परिवेशबीच बडादसैं हर्षौल्लासपूर्वक मनायौं । भाइतिहार संघारमै छ । तिहारलाई पशुपक्षी, प्रकृति र जीवनको पूजा तथा झिलिमिली बत्ती बालिने र देउसी–भैली खेलिने अत्यन्त रोमाञ्चक उत्सवसाथ मनाइने चाड सम्झिने गर्छाैं । यस चाडमा सांस्कृतिक सद्भावको पाटो आपसी मित्रतादेखि पशुपक्षी र प्रकृतिसम्म विस्तारित हुँदै उद्घाटित हुन पुग्छ । दया, माया, करुणाका साथै मैत्रीपूर्ण जीवन–संरचनाको सिलसिलामा तिहारले आफ्नो परम्परागत गौरव अक्षुण्ण राख्दै आइरहेको छ । सोहीक्रमको निरन्तरताका रूपमा यसले ‘भाइपूजा’ को एक अद्वितीय संस्कृति अध्याय निर्माण गरेको स्मरणीय हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइको पूजा गर्नुका साथै प्रत्येक व्यक्ति ‘भगवान्’ हो भन्ने अर्थमा आफ्नो आत्माको पूजा गरी ‘म्हपूजा’ गरिन्छ । तिहारमा भ्रातृत्वपूर्ण भाइचाराको भरिलो र पवित्र भावना सन्निहित रहेको स्पष्ट हुन्छ । अतः भाइतिहारलाई भाइचाराको एक अनुपम चाडका रूपमा लिइने गरिन्छ ।

समयको अन्तरालमा भाइतिहार संस्कृतिले अझ महत्वपूर्ण स्थान लिइरहेको पाइन्छ । यसको आवश्यकता र महत्व मनन गरी नेपालभित्रका नेपालीका साथै विदेशका विभिन्न भूमिका रहेका नेपालीले पनि तिहार उत्साह र उमङ्गसाथ मनाउँदै आइरहेका छन् । हिन्दु तथा बौद्ध धर्म मान्ने नेपालीको चाडका रूपमा मात्रै तिहार सीमित छैन । अब भाइतिहार सबै जातजाति, समुदायको साझा र महान् चाडमा विकसित भइसकेको छ । सुख, शान्ति र समृद्धिको हार्दिक कामनासहित शुभकामना आदान–प्रदान गर्ने गर्छन् । मानवीयमैत्री भावनासाथ मनाइने तिहारमा शान्तिपूर्ण सद्भावको सुन्दर संसार देख्न सकिन्छ । यस्तो समाज र संसारमा व्यक्ति कुनै वैमनस्य वा व्यक्तिगत स्वार्थमा अन्धो भएको हुँदैन । सबैसँग सम्मानपूर्ण व्यवहार गर्दै मुस्कानसहित हार्दिकता प्रकट गर्ने बानी विकसित भइरहेको हुन्छ ।

हार्दिकतापूर्ण भाइचारामा भाइतिहारको खास विशेषता झल्किन्छ । वास्तवमा आपसी भाइचाराले हामीलाई सत्कर्मको मार्गमा अभिप्रेरित गराइरहन्छ । भाइचारा भन्नु आपसी विश्वास, मित्रता र मानवताको सुन्दर समाजको परिचायक पाटो हो । यसले हरेक जाति र पुस्ताका मानिसलाई सकारात्मक सन्देश प्रवाह गराउँछ । भाइतिहारमा प्रकट हुने भाइचाराले अन्ततः सधैं यस्तै जीवनशैलीको जीवनयापनमा लागिरहन हामीलाई प्रेरणा प्रदान गर्छ । अनि हामी हरेक वर्ष आफू र आफ्ना सन्ततिसहित हाँसिखुसी, सामाजिक जीवन जिउने प्रबिद्धतासाथ भाइतिहारको संस्कृति भव्य उत्सवका रूपमा मनाउने गर्छाैं । घर–आँगन, कोठाचोटा सफासुग्घर गरेर दीप प्रज्ज्वलन गरी शक्ति प्राप्तिको प्रार्थना गर्छाैं । औंसीको कालो रातलाई समेत उज्यालो ज्योतिले गाउँ तथा सहरै झिलिमिली पार्ने प्रयत्न गर्छौं । त्यो प्रयत्नमा परम्परागत चाडप्रतिको आस्था हुन्छ । त्यही आस्थामा पूजाआजा संस्कृतिले आपसी भाइचाराको बोध गराउँदै आफू र आफन्तलाई शक्तिशाली बनाउने चेष्टा गर्छ । सोही चेष्टाका रूपमा आफैं देवता र आफैं पुजारीको मान्यता प्रतिस्थापन गर्दै मौलिकताले भरिपूर्ण संस्कृतिको कार्य गरिन्छ ।

भाइतिहारमा दिदी र भाइको सम्बन्ध अझ प्रगाढ बन्छ । टाढिएका दिदीभाइको मिलन हुन्छ । दिदीबहिनी र दाजुभाइको विछोड नहोस् भन्ने भेटघाट र भलाकुसारीले भाइचाराको धमिलो पक्ष चहकिलो पार्छ । भाइतिहारमै दिदी र बहिनीको तथा दाजु र भाइको आवश्यकता, अभाव वा महत्वबोध हुन्छ । कहिल्यै नओइलाउने दुबो तथा मखमली फूल र बासनादार सयपत्री फूलको माला लगाइन्छ । निधारमा सप्तरंगी टीका लगाई जीवनको प्रतीकका रूपमा बत्ती बालिन्छ । सप्तरंगी भनिए पनि यसमा मूलतः पाँचवटा रङको प्रयोग हुन्छ । रातो मंगल, सेतो स्वच्छता र शान्ति, पहेंलो दीर्घजीवन, नीलो सुस्वास्थ्य तथा हरियो रंगले बौद्धिकताको प्रतिनिधित्व गर्ने अर्थात् प्रत्येक रंगलाई मानवजीवनको उज्यालो पाटाका रूपमा लिइन्छ ।

कहिल्यै नसुक्ने तोरीको तेलले घेरा हाली, फूलैफूलले पूजा गरी दीर्घायुको कामना गरिन्छ । फूलप्रसाद, सगुन, फूलैफूल र रंगैरंगको परिवेशमा भाइतिहारको मौसम वास्तवमा बत्ती, फूल, रंग, सेलरोटी, देउसेभैले, चंगा, पिङ, जुवातास आदिले अविस्मरणीय बन्छ । खेल्ने, खाने, भेट्ने, बोल्ने, घुम्ने आदि स्मरणीय पलमा प्रतिविम्बित हुने भाइचाराको मानवीयमैत्री भावनाको शाश्वत पक्ष नै भाइतिहारको साँचो संस्कृति हो । दिदीबहिनीको चाडका रूपमा रहँदै आएको तिहारले यसको आयाम विस्तारित गर्दै आफ्नो सनातन अस्तित्व जीवन्त राख्दै आइरहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्