टीकापुर (कैलाली) । टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ । चौधरी सुत्केरी भएपछि दुई महिना बिदामा बसिन् । तीन महिनादेखि बच्चा लिएर उनी कार्यालयमा हाजिर भइन् ।
‘म कार्यालयको पछाडिपट्टि बरन्डामा घरबाट ल्याएको खाटमा बच्चा राख्थें । खुला ठाउँ गर्मीमा घाम, हिउँदमा सिरेटो, अनि लामखुट्टेले टोक्थे,’ उनले सम्झिन्, ‘बच्चा हेरालु भए पनि खुला ठाउँमा दूध चुसाउन अप्ठ्यारो लाग्थ्यो । कहिलेकाहीँ दूध चुसाइरहेको समयमा मानिस आए बच्चालाई पेटभरि दूध खुवाउँदैनथें ।’
हिजोआज चौधरीलाई ढुक्क छ । बच्चाले घरमा जस्तै शय्यामा सुतेर दूध चुस्न पाएको छ । निदाउँदा झुलुंगामा सुत्छ । ‘बच्चालाई आराम भएको छ । मलाई पनि आनन्द भएको छ,’ उनले थपिन्, ‘हरेक कार्यालयमा यस्तो सुविधा होस्, महिला कर्मचारीका समस्याबारे ध्यान दिइयोस् ।’
राधामात्र होइन, स्तनपान कक्ष स्थापनापछि सेवा लिन आउने महिलालाई राहत भएको छ । टीकापुर–३ शंकरपुरकी सुरक्षा विकले छोरी जन्माइन् । छोरीको जन्मदर्ता गर्न र हाम्री छोरी प्यारी छोरी कार्यक्रममा खाता खोल्नका लागि विक नगरपालिका पुगिन् । ‘म नगरपालिकामा झन्डै चार घन्टा बसें । मलाई छोरीलाई दूध कसरी चुसाउने भन्ने तनाव थियो,’ उनले भनिन्, ‘स्तनपान कक्ष रहेछ । तीन महिनाकी छोरी दूध चुसाएपछि निदाइन् । मैले सबै काम भ्याएँ । खुसी लाग्यो ।’
कैलालीको टीकापुर नगरपालिका कार्यालयमा स्तनपान कक्ष सञ्चालनमा आएपछि उनीहरूलाई स्तनपान गराउन सहज भएको हो । नगरपालिकाले महिला कर्मचारी र कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीलाई स्तनपानका लागि सहज बनाउन गत असारमा सो कक्ष निर्माण गरेको थियो । स्तनपान कक्षमा शिशुलाई सुताउन मिल्ने शय्या, खेलाउने झुलुंगा र केही खेलौना राखिएका छन् ।
सरकारले सबै सरकारी कायालयलाई महिलामैत्री बनाउन स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ । तर, कैलालीका अधिकांश कार्यालयमा स्तनपान कक्ष छैन । अब कार्यालयमा आउने सेवाग्राही महिला पनि बच्चा बोकेर आए अब स्तनपान गराउन सहज वातावरण तयार भएको छ । ‘आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुन्छ । आमाको दूध शिशुका लागि अमृतसमान हुने भएकाले स्तनपान कक्ष निर्माण गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अनमी हेमा ज्ञवाली बताउँछिन्, ‘स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । तर, काममा हिँड्नुपर्ने, कामकाजी आमाका लागि हरेक कार्यालयमा स्तनपान गराउने वातावरण आवश्यक छ ।’
अनमी ज्ञवालीले स्नतपानको महत्व बुझाउन नगरपालिकाले स्तनपान सप्ताहसमेत सुरु गरेको छ । ‘छ महिना पूरा भएपछि आमाको दूधका साथसाथै थप पोसिलो आहार खुवाउन आवश्यक हुन्छ । कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनुपर्छ भनी बस्तीस्तरमा सिकाउन थालेका छौं,’ उनको भनाइ छ, ‘अबको एक साता स्तनपानबारे छलफल थालेका छौं ।’