होलेसुङ पार्कमा कपास खेतीको इतिहास झल्काइँदै


पृथ्वीनारायण शाहको उदय (आजभन्दा पाँच सय वर्षपहिले) अघि हलेसी कपास खेती र खाँडी कपडा बुनाइका लागि प्रसिद्ध मानिन्थ्यो । तत्कालीन समयमा कपास खेती र खाँडी कपडा सुन, जुवाहरतभन्दा महत्व दिइन्थ्यो । तसर्थ, हलेसी क्षेत्रका समुदायको सुरक्षार्थ बहादुर व्यक्तिको आवश्यकता ठानेर होलेसुङलाई संरक्षक शासक रूपमा उभ्याइयो ।

समय, काल परिवर्तनक्रममा होलेसुङ र उनका शाखा–सन्तान गरी चार पुस्ताले पुरानो हलेसी खिम्ले र हलेसीगढी दरबार रावाचुङबाट राज्य सञ्चालन गरे । राज्य विस्तार (पूर्व) क्रममा पृथ्वीनारायण शाहको फौजको आक्रमणबाट भ्वाँराङ पराजित भई उनका सन्तान यहाँबाट बेपत्ता भए ।

तथापि, राणा शासनकालसम्म पनि हलेसी कपास खेती, खाँडी कपडा बुनाइमा परिचित थियो । ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको भारतमा आधुनिक प्रविधिबाट उत्पादित मुलायम कपडा उत्पादन र नेपालमा आयात बढ्न थाल्यो । त्यसपछि हलेसी क्षेत्रको कपास खेती, खाँडी कपडा व्यवसाय धराशयी बन्दै गयो ।

हिजोआज हलेसी क्षेत्रमा सामान्यतया कपास खेती एबम् खाँडी कपडा बुनाइ व्यवसाय एकादेशको कथा बन्दै गए पनि आमसमुदायले आफ्ना पितापुर्खाले गरेका कपास खेती, चर्खामा धागो बुनाइ, तान बुनाइजस्ता उद्यमका कुरा गर्वका रूपमा लिने गर्छन् ।

हलेसी क्षेत्रका यस्तै–यस्तै उद्यम पुस्तौंपुस्ता सम्झाइरहन यहाँका उद्यमशील हजुरआमा र उहाँको सन्तानसहितको आकृति होलेसुङ पार्क (परिकल्पनामा मात्र रहेको)मा मूर्त रूप दिन देव कोइमी राईज्यूले अत्यन्त मिहिनेतसाथ तयार गरिदिनुभएको स्केच सल्लाह–सुझावका लागि प्रस्तुत गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्