माओवादी केन्द्र हलेसी तुवाचुङ नगरपालिकाको सम्मेलन मंसिर ११ मा



दुर्छिम (खोटाङ) । ‘प्रतिगमन परास्त गर्दै समाजवादका लागि हाम्रो आन्दोलन, नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्न प्रथम नगर सम्मेलन’ भन्ने मूल नारासहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर समितिको प्रथम सम्मेलन मंसिर ११ गते हुने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा हुने प्रथम सम्मेलनले ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष राजुविक्रम चाम्लिङले जानकारी गराए ।

६५ मध्ये सात पदाधिकारी, २१ सचिवालय सदस्य र बाँकी सदस्य रहनेछन् । सातमध्ये अध्यक्ष (१), उपाध्यक्ष (३), सचिव (१), सहसचिव (१) र कोषाध्यक्ष (१) रहनेछन् । पदाधिकारीमा आदिवासी जनजाति, महिला र मुस्लिम अनिवार्य समेटिनुपर्नेछ । हलेसी तुवाचुङ नगरपालिकामा मुस्लिम समुदायको बसोवास नरहेकाले आदिवासी र जनजातिमात्रै समेटिनेछन् ।

अधिवेशनमा प्रत्येक वडाबाट बढीमा १३ प्रतिनिधि र पाँचजना पर्यवेक्षकले सहभागिता जनाउन पाउनेछन् । ११ वडाबाटै उत्तिकै संख्यामा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता नभए पनि दुई सयभन्दा बढीको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्