अनलाइनबाटै ‘ट्राफिक जरिवाना’ तिर्न सकिने


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम बुधबारदेखि अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवाना अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याएको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवाप्रदायक संस्थाबीच आबद्ध भई जरिवाना रकम भुक्तानी हुनेगरी उक्त प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

यसअघि जरिवानाबापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यता थियो । यसले ट्राफिक कार्यालयमा हुने भीडभाडमा कमी आई समयसमेत बचत हुने विश्वास गरिएको छ । ट्राफिक प्रहरी कार्यालयमा सेवा लिन आउनुपर्ने सम्पूर्ण सेवाग्राहीलाई सहज एवम् सरल रूपमा सेवा दिन सधैं तत्पर रहेको महाशाखाले जनाएको छ ।

यो प्रविधिबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समावेश गरी जरिवानाबापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा हुनेछ । यसअघि सवारी र सवारी कागजपत्र हराएमा अनलाइनबाटै उजुरी दिन र सिफारिस लिन सकिने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्