माटो जोगाउन दौडेरै ७७ जिल्ला


खोटाङ । ‘माटो जोगाऔं’ अभियान लिएर देशदौडाहमा निस्केका पर्वतका यमबहादुर चोचाङ्खी पुनमगर (नवीन पुन)को यात्रा खोटाङ पुगेको छ । मानवीय क्रियाकलापकै कारण बिग्रँदै गएको माटो जोगाउन नागरिकलाई सचेत गराउने लक्ष्यसाथ देशका ७७ जिल्ला पुग्नेगरी तीन हजार ५०० किलोमिटर दौड सुरु गरेका पुन सोमबार दिक्तेल आइपुगेका हुन् ।

नागरिकलाई माटोको बिगँ्रदो अवस्थाबारे जानकारी दिएर समस्या हल गर्दै माटो जोगाउने विश्वव्यापी अभियानमा लाग्न उत्प्रेरित गर्न ‘माटो जोगाऔं’ अभियान थालिएको अभियानका नेतृत्वकर्ता पुनले जानकारी दिए । ‘अहिले माटोमा जैविक मात्रा घट्दै गएको छ । यही कारण उत्पादकत्व घट्नुका साथै स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको छ । यही रफ्तारमा जैविक मात्रा घट्दै गएको खण्डमा केही वर्षपछि खानका लागि मानिस–मानिसबीच युद्ध हुनेछ,’ उनले भने, ‘माटोमा रासायनिक मलको बढ्दो प्रयोग घटाउनुपर्छ । यसका लागि सरकारले सुरु गरेको प्राङ्गारिक मल प्रयोग नीति कार्यान्वयनमा ल्याउन सबैले दबाब दिनुपर्छ ।’

भोजपुरको चखेवाभन्ज्याङबाट सुरु पुनको खोटाङ यात्रा ओखलढुंगाको सीमास्थल जयरामघाट पुगेर टुंगिने जनाइएको छ । गत वैशाख ३० गते काठाडौँबाट सुरु उनको यात्रा तराई हुँदै पूर्वी सिमाना पुगेर माथिल्लो पहाडी क्षेत्रका जिल्ला हुँदै खोटाङ आइपुगेको हो ।

माटो जोगाउन दौडेर देशभर यात्रा गरिरहेका उनलाई ‘माटो जोगाऔं’ अभियानका अभियानकर्मी निर्मल श्रेष्ठ, सनम लिम्बू र अजय भण्डारीले साथ दिएका छन् । श्रेष्ठ, लिम्बू र भण्डारी गाडीमा यात्रा गरिरहँदा पुन भने पैदल कुदिरहेका छन् ।

दौडका दौरानमा विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको अभियानकर्मी लिम्बूले बताए । ७५ दिनमा पूरा हुने उनको दौडक्रममा सोमबार दिक्तेलमा शिक्षिका सीता थुलुङ राई, सामाजिक अभियन्ता इन्द्र कसजूलगायतको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ‘सेभ सोइल’ लेखिएको सेतो ब्यानरमा हातले हिलो माटोको छाप लगाएर कार्यक्रम उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति, नगरपालिका, शुभम फाउन्डेसन र नेपाल सितोरियो कराते संघको सहयोगमा दिक्तेलमा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न दलका नेता, जनप्रतिनिधि, सरकारी कार्यालय र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, विद्यार्थीलगायतको सहभागिता थियो । कार्यक्रममा विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भइसकेको, संसारभरिको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्नेलगायतका विषयमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्