२४ वर्षमै प्रधानमन्त्री


काठमाडौं । दैलेखकी मनीषा कार्की युवा प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । राष्ट्रिय युवा परिषद्ले गरेको ‘संघीय नमुना युवा संसद्’मा २४ वर्षीया कार्की युवा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

सभामुखमा झापा विर्तामोडकी २४ वर्षीया पूजा कँडेल निर्वाचित भएकी छन् । उपसभामुखमा रुपन्देहीका अविष्कार पराजुली, प्रतिपक्ष दलको नेतामा कैलालीको रवीन्द्रविक्रम शाह चयन भएका छन् । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिबारे सुसूचित गराउन शनिबारदेखि भर्चुअल ‘संघीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ ।

यसरी नमुना युवा संसद्बाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता र सांसदको भूमिकामा चयन भएका युवाले सोमबारदेखि संघीय नमूना संसद्सभाको अभ्यास गर्दै छन् । उनीहरूलाई शनिबार र आइतबार नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गरिएको थियो ।

परिषद्ले १६ देखि २४ वर्ष उमेर समूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउन सालिन्दा सङ्घीय नमुना युवा संसद्को अभ्यास गराइँदै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमुना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए । बस्नेतले युवालाई कानुन, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवी भाव, अधिकार, कर्तव्य र दायित्व बोध गराउन संसदीय अभ्यास गराइने बताए । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थाबारे जानकारी दिन सालिन्दा नमुना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ ।

पोखराकी स्मृति बराल गत वर्ष युवा प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्