माघ अन्तिम साता काठमाडौंमा कल्पनाको चुल्ठो खोलिने


काठमाडौं । साढे दुई दशकदेखि निरन्तर कविता लेखनमा साधनारत कवि कल्पना चिलुवालको पहिलो काव्यकृति पाठकबीच आउने भएको छ । चिलुवालको ‘चुल्ठो’ कविता सङ्ग्रह बेला पब्लिकेसन्सले माघ तेस्रो साता बजारमा ल्याउन लागेको हो ।

पोखरामा बसेर शिक्षण र साहित्य साधना गरिरहेकी चिलुवाल समकालीन नेपाली कविता लेखनमा पाठकहरूद्वारा रुचाइएको नाम हो । २०५० को दशकदेखि कविता लेखनमा निरन्तर क्रियाशील रहे पनि एकल पुस्तकका रूपमा ‘चुल्ठो’ नै उनको पहिलो कृति हो । उनका फुटकर कविता स्थानीय प्रकाशनहरूदेखि राष्ट्रिय पत्रपत्रिका तथा अनलाइनहरूमा प्रकाशित हुँदै आएका छन् ।

‘चुल्ठो सङ्ग्रहमा चिलुवालका सम्पूर्ण कविताहरूबाट चुनिएका ५५ कविताहरू समावेश गरिएको छ’, प्रकाशक वन्दना ढकालले सङ्ग्रहबारे जानकारी दिँदै भनिन्, ‘त्यसअर्थमा यो कविको पहिलो पुस्तक पनि हो र साढे दुई दशकदेखि कवितामा साधनारत स्रष्टाको ‘सेलेक्टेड’ रचनाको सङ्कलन पनि हो । कल्पनाजीका कविता २०५२/०५३ सालपछि ‘जनादेश’ साप्ताहिक लगायतका पत्रिकामा प्रकाशित हुँदै आएका छन् ।’ ढकालले चिलुवालका छरिएका रचना पढेका पाठकका लागि पनि यो पुस्तक उपयोगी हुने बताइन् ।

कवि तथा साहित्यकार सरिता तिवारीले चिलुवालका कवितालाई ‘विचारको क्षेप्यास्त्र’को संज्ञा दिएकी छिन् । ‘चिलुवालको कविता संग्रह कविताको एउटा किताब मात्रै होइन, समकालीन चेतनामाथिको एउटा गम्भीर वैचारिक हस्तक्षेप बन्ने कुरामा म पूर्ण विश्वस्त छु’, तिवारीले भनिन् ।

चिलुवाल प्रगतिशील साहित्यिक सङ्घ, सङ्गठन र आन्दोलनहरूमा पनि सक्रिय अभियन्ता हुन् । हाल माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालको अभियानमा आबद्ध उनी पोखरामा स्थापित प्रसिद्ध साहित्यिक संस्था गण्डकी साहित्य सङ्गमको सदस्य हुन् । चिलुवाल पोखराबाट प्रकाशित हुने ‘गण्डकी सङ्गम’ लगायतका साहित्यिक पत्रिकाको सम्पादनमा पनि संलग्न छिन् । उनलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले २०७६ सालको ‘इच्छुक प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको छ ।

माघ अन्तिम साता काठमाडौँमा र फागुनमा पोखरामा ‘चुल्ठो’को विमोचन कार्यक्रम हुने बेला पब्लिकेसन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्