हामी बिहानको खाना खाएर ८ः३० मा प्रोफेसर ZHAnG वईवई टोलीसँग छलफलमा लागिरहेका थियौं । यात्रा सांघाईको पुरानो आवासीय क्षेत्रतिर थियो । एकातिर गगनचुम्बी महल थिए । त्यसकै आडमा स–साना घर अझ झुपडी भन्दा हुने घर थिए । एकै स्थानमा दुईथरी जीवन थिए । भिन्न–भिन्न भौतिक अवस्थाले मानिसको सोच्ने तरिकामा पनि भिन्नता ल्याउँछ । यी दुईथरी जीवनका मन फाट्दै गए भने के होला ? भन्ने प्रश्न मनमा खेलिरह्यो ।
केही समयमै हामी ‘सी यार्ड रेष्टुरेन्ट’ मा पुग्यौं । चिनियाँ मित्रहरू अन्तरक्रियाका लागि तयार भएर बसेका रहेछन् । हाम्रो टोली नेताले सबैको परिचय गराए । चिनियाँ पक्षबाट पनि त्यसै गरियो श्रव्य–दृश्यसहित छलफल भयो । छलफल सकेर सञ्चारगृहको कार्यसम्पादन कार्यालयको अवलोकन गर्न गयौं । ठूलो डबलीजत्रो खुला कोठामा बग्रेल्ती मानिस आ–आफ्नो टेबलमा एकोहोरिएर काम गरिरहेका थिए । त्यहाँको छलफल सकेर खाना खानका लागि होटलतिर फक्यौं ।
बिहानको खाना खाएपछि प्रसिद्ध दक्षिण ह्वाङ्पु नदीकिनारमा टहल्न जाने सूचना फिनिक्सबाट पाइसकेको थियो । हामी वाङ्पु नदीतिर जाँदै थियौं । फराकिला सडक, आलिसान भवन, हरियाली, कला संरचना सफा सहरले सबैलाई प्रभावित पारिरहेको थियो । माकुराको जालोझैं फैलिएका सडक एउटा तल, अर्को उसको टाउकोबाट, अर्को अर्काको टाउकोमाथिबाट तहमाथि तह भएर दौडिरहेका हुन्थे । हाम्रो देशमा आवासीय विद्यालयमा एउटामाथि अर्को बच्चा चाङ मिलाएर सुताएझैं एउटाको अपनवायु अर्कोले सुँघ्दै बित्तातोड दौडिरहेका देखिन्थे । हाम्रो छलफल संघीयताको विषयमा चलिरहेको थियो । ‘समावेशी भएर त देश बिग्रेको हो । समावेशी भन्छ, काम नलाग्ने मानिस उचाल्छ, अनि कसरी देश बन्छ ? युरोप र अमेरिकाको समावेशी देखिसक्थ्यो । अब चाइनाको हेर्न बाँकी छ,’ झट्ट हेर्दा दक्षिण भारतीयजस्तो लाग्ने तराईवासी श्रीलाल साह भन्दै थिए । हामी प्रसिद्ध सांघाई धरहरा हुँदै गएका थियौं । समय अभावका कारण सो धरहरातिर जान सकेनौं । हाम्रा पथप्रदर्शक साङले सांघाई धरहराको बेलिविस्तार लगाउँदै थिए । हामी केही समयमै ‘ह्वाङ्पु साउथ रिभर साइड’ पुगेका थियौं ।
चीन र भारतको नेपाल नीतिका विषयमा केही साथीसँग छलफल चलिरहेको थियो । नेपाली भारत जाँदा चीनले चियोचर्चो गर्दैन तर भारतले खपप्वालबाट सिकारी आँखा घुमाइरहन्छ । नेपाली टोली चीन भ्रमणमा जाँदा बहिष्कार गराउने र घुसाउने दुवैथरी खेल हुन्छ । भारतले उसको विपक्षमा लेख्ने हरेकमाथि दागा धरिरहन्छ । ‘जो लोग भारतीय त के विरोध मे लेख्ते है, सप कुछ मालुम है, हमारा पास उसका पूरा रेकर्ड है,’ एकजना भारतीय कूटनीतिज्ञले नेपाली पत्रकारसँगको अनौपचारिक छलफलमा भनेका थिए । धम्की र प्रलोभनबाट नियन्त्रण गर्न सकिएन भने ‘भैया लोग लगाके ठीक कर दें ?’ उनीहरू त्यसपछि अपराधी धन्दामा उत्रिन्छन् । उनीहरूको शब्दमा ‘भैया लोग’ भनेका मिर्जादिल साद्वेगका हत्यारा होलान् । अमर लामाहरू पनि हुन सक्छन् ।
सांघाई पर्यटकीय क्षेत्र ह्वाङ्पु नदीकिनार पुग्दा मलाई साउन–भदौमा नारायणगढको नारायणीकिनारमा साँझपख टहल्न गएझैं लाग्यो । निकै रोमाञ्चक हुन्छ नारायणीकिनारको साँझ । वातावरण चिसो–चिसो थियो । समुद्र भेट्न आएको ह्वाङ्पु नदी शालीनदी रिसाएझैं गजक्क परेको थियो । गण्डकी, कोसी, कर्णालीकिनारमा हुर्केका हामीलाई नदी हो कि विशाल पोखरीजस्तो लाग्थ्यो । पानीजहाज सामान ओसारिरहेका देखिन्थे । रातो मस्तुल फहराउँदै सर्पजस्तै जलवाहन बगिरहेको दृश्य मनमोहक थियो । नदीपारि किनारमा पुरानो बान्कीका आकर्षक घर देखिन्थे । ‘ती घर ब्रिटिशकालिन घरहरू हुन्’ हाम्रो जिज्ञासामा ची पिङ भन्दै थिए । उसबेला बेलायत, फ्रान्स, रसिया र अमेरिकालाई चीनमा आफ्नो नागरिकलाई भन्दा विशेष अधिकार दिइएको थियो । नदीकिनारामा मानिसको कुडुल्लो लागेको थियो । प्रकृतिको वरदानलाई मानिसले उत्कर्षमा पुर्याएको थियो ।
हामी नदीकिनारबाट बाहिरिँदै थियौं । नेपालको जातीय समस्यालाई चिनियाँ कसरी हेर्छन् त ? भन्ने विषयमा प्रश्न उठे । ‘नेपाल र चीनको जातीय समस्या फरक–फरक समस्या हो । चीनमा ९० प्रतिशत हान जाति छ । चीनमा जातीय समास्या अल्पसंख्याको गुनासो कसरी समाधान गर्ने भन्ने समस्या हो । नेपालको स्थिति चीनको भन्दा फरक छ । आजभन्दा ५/७ वर्ष अघिसम्म नेपालमा जातीय समस्या थिएन । आकस्मिक रूपमा देशको मुख्य समस्या बनेर कसरी आयो ? क्रिश्चियनवादको प्रभाव विस्तार गर्न पश्चिमा देशले जातीय समस्या उचालेका छन् । तराईमा एउटा मात्र प्रदेश, चीनसँग जोडिएको पहाडमा १५ प्रदेशको विषय किन उठ्छ ? यो चीन घेर्ने पश्चिमा रणनीति हो । यो नेपालको कम र चीनको बढी समस्या हो’ हाम्रो टोलीका एकजना वरिष्ठ सञ्चारकर्मी चिनियाँ अधिकारीको विश्लेषण सुनाउँदै थिए ।
छलफलको मेलोमेसो थिएन । छलफलमा प्रचण्ड, कृष्णसेन ‘इच्छुक’ र नेपाली पत्रकारिता प्रवेश भयो । जनआस्था र किशोर श्रेष्ठप्रति अनेक टिप्पणी गरिन्छ । प्रचण्ड पनि एकजना टिप्पणीकार हुन् । ‘माओवादी शान्तिप्रक्रियामा आएपछि प्रचण्डले हामी सञ्चारमा कमजोर छौं । तपाईंले गणतन्त्र पक्षधरको नेतृत्व गरिदिनुपर्यो भनेका थिए । उनले गणतान्त्रिक मोर्चाको नेतृत्व सम्हाल्न भनेका थिए । मैले उनको प्रस्ताव मानिनँ । त्यसपछि चितवनस्थित तेस्रो डिभिजनको एक कार्यक्रममा गएर रवीन्द्र श्रेष्ठले दरबारियाको पत्रिकामा लेख्ने भनेछन् ।’ किशोर श्रेष्ठ भन्दै थिए– पुराना ती प्रसंग उधिन्दै ‘मैले दरबारको भन्डाफोर गर्ने जनआस्था तपाईंंको प्रस्ताव नमानेपछि दरबारिया हुन्छ ?’ यसपटकको कृष्णसेन स्मृति पुरस्कार आफूलाई प्रचण्डले प्रदान गर्दा आफूले भनेका कुरा सुनाउँदै थिए । त्यही कार्यक्रममा बाबुराम भट्टराईले ‘जनआस्थाले बाघको खोरभित्र पसेर बाघलाई आक्रमण गर्ने साहस गरेको,’ भनेका रहेछन् । हामी गफिँदै धेरै पर पुगिसकेका थियौं ।
महान् पर्खाल जाँदा हाम्राबीचमा बाँकी रहेका प्रसंग कोट्याउँदै पूर्वमन्त्री माधवप्रसाद पौडेल भन्दै थिए, ‘निर्वाचनपछि संविधान संशोधन गरेर ५० सिटको हाराहारीमा विशेष निर्वाचन गराउने र त्यसमा मंसिर ४ को निर्वाचनमा भाग नलिएका दलले मात्र भाग लिन पाउने कानुनी व्यवस्था गर्ने प्रयास गरियो । त्यसो गर्न कांग्रेस तयार भएन । त्यसपछि पछि हट्यौं । विवादरहित संविधान लेख्न सकिन्छ भने त्यसो गर्दा केनै फरक पथ्र्यो र’ । पार्टीभित्रबाट कतै न कतैबाट ‘ग्रीन सिग्नल’ नभईकन सरकारले त्यतिधेरै प्रयास गर्यो त ? सोचिरहेको थिएँ ?
त्यसपछि बस चढेर सांघाईका प्रसिद्ध व्यापारिक प्रतिष्ठान अवलोकन गर्न गयौं । त्यसपछि सांघाई सांस्कृतिक केन्द्रतिर गइयो । अन्तिममा दारु संग्रहालय गयौं । मदिरा उत्पादनको कथा, प्राचीन मेसिनको प्रदर्शन हुँदै समकालीन उत्पादनसम्म सजाइएका थिए । सांघाईको अन्तिम यात्रा नानजिङ थियो । नानजिङ नेपालको ‘सुन्धारा बजार’ हो । जहाँ लुगाफाटा मात्र होइन, काँचो मासुको पनि सस्तो व्यापार हुन्छ । बाटोमा हिँड्दाहिँड्दै तान्न आउने, सम्पर्क मागेर राति फोन गरेर मोलतोल गर्ने, ढोका ढकढक्याउन आउने अनेक स्मरण गर्दै थिए भुक्तभोगीहरू । एकातिर गगनचुम्बी महल थिए । अर्कोतिर साँघुरा सडक, सडक जाम, विद्युत्का असरल्ल तार, जीर्ण घरमा थोत्रा लुगा बाहिर सुकाइरहेका देखिन्थे । एकातिर अमेरिकालाई ऋृण दिन सक्ने वैभव थियो । अर्कोतिर नगरवधु, माग्ने, बेरोजगार युवाको कोलाज सुनिन्थ्यो । कतिपय ठूलो रेष्टुरेन्टमा माग गरेको परिमाणको आधाभन्दा बढी खानेकुरा नखाईकन छाडेमा जरिवाना तिर्नुपर्ने प्रावधान छ । कतिपय होटलमा जति प्रतिशत खाना फाल्यो त्यति नै तिर्नुपर्ने नियम बनाइएको छ । एकातिर खाना नष्ट गर्ने समस्या छ । अर्कोतिर पापीपेटका लागि वेश्यावृत्ति मौलाउँदो छ । मूलसडक, नयाँ आवासीय क्षेत्र, व्यापारिक क्षेत्र अकल्पनीय वैभवका प्रतीक लाग्थे ।
पुरानो सहरतिर हेर्दा लगनको गल्लीतिर बरालिएझैं लाग्थ्यो । बाटोमा कतिपय ठाउँमा विशाल महल र त्यसको आडमै टाउको ठोक्किने जीर्ण भवन देख्दा ‘तपाईंको समाजवाद कुनचाहिँ हो कमरेड ?’ ची पिङलाई सोध्ने हो भने के भन्दा हुन् भन्ठान्थें । सांघाईलाई विश्वको छैटौं महँगो सहर मानिन्छ । किनमेलका लागि एक घन्टामात्र समय बचेको थियो । झिमिक्क गर्न नपाउँदै निर्धारित समय सकिएझैं लाग्यो । नानजिङको रात्रिजीवन प्रारम्भमात्रै भएको थियो । सडक व्यापार सुरु हुँदै थियो । किशोर श्रेष्ठ, गोविन्द र म निर्धारित समयमा तोकिएको स्थानमा जम्मा भयौं तर धेरैजसो साथी आइसकेका थिएनन् । सांघाईनिवासी हाम्रा पथप्रदर्शक साङ घडी हेर्दै ‘भेरी लेट’ भन्दै टटमराइरहेका थिए । सुचाउदेखि हामीसँगै रहेका उनी अलि–अलि अंग्रेजी बोल्थे । बेइजिङदेखि नानजिङमा किनमेल गर्ने भनेर बसेका साथीलाई ‘माछी काँढे नजर लाउँदैमा छेक्यो डाँडैले’ भनेझैं भएथ्यो । निर्धारित समयभन्दा हामी आधा घन्टा ढिलो नानजिङबाट फक्र्याैं ।
बेलुकाको खाना ‘मुन ब्राइट रेष्टुरेन्ट’ मा खाइयो । होटलको भवन नदीमै जोडिएको, भित्तासम्म पानी छचल्किएको थियो । भवन लस्केर नदीभित्र डुब्लाजस्तो लाग्थ्यो । पानीजहाज राजहंशझैं तैरिरहेका थिए । सौराहा जसरी त्यसमा राजहंश नाच्ने हो भने कति सुन्दर देखिन्थ्यो होला ! सुचाउबाट सांघाई आउँदा हिलाम्मे फाँटमा फाटफुट बकुल्लाबाहेक कतै पनि पक्षी देखिन्नथे । हामी खाना खाएर बासका लागि होटलतिर लाग्यौं ।
कोठामा आएर पल्टिएँ । मनमा थुप्रै कुरा खेलिरहेका थिए । अभावमा मानिसका अपेक्षा पनि साँघुरिँदै जाँदोरहेछ । अविरलका तीन माग थिए– प्रशस्त यात्राका फोटा, हरेक दिन दैनिकी लेखन र चार चिनियाँ जुस । अघिल्ला दुई मागहरू पाका अभिव्यक्ति थिए । त्यसले मलाई उद्वेलित गरेको थियो । अन्तिम अपेक्षा बालापनको अभिव्यक्ति थियो । सायद १४ वर्षे किशोर अवस्थामा परिपक्वता र बालापनको संक्रमणकालीन उमेर हो । भोलि हामी सांघाईबाट ग्वाङझाउ जाँदै थियौं । चीन भ्रमणको दुई हप्ता तीव्र गतिको रेलजस्तै मिलिक्क गरेर सकिएको थियो । भोलि आन्तरिक उडानबाट ग्वाङझाउ र चिनियाँ साथीहरू बेइजिङ जाँदै थिए । ग्वाङझाउबाट काठमाडौं सिधा उडान भएकाले हामी त्यतैबाट नेपाल फर्कंदै थियौं ।
सेन्टर इन्टरनेसनल होटल, सांघाई
२०७१ असार ६/२०१४ जुन १९