विनयकुमार कसजू विकास पत्रकारिता, बालसाहित्य र फिचर लेखनका एक सिद्धहस्त व्यक्तित्व । यो व्यक्तित्व निर्माणमा कसजूले २०२९ सालमै अधिवक्ता कमल मलेगो र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्वप्रमुख मनमोहन श्रेष्ठसँग मिलेर तानसेनबाट ‘श्रीनगर’ त्रैमासिक पत्रिका प्रकाशन गरेर जग हालेका थिए । यो पत्रिकाको मूल्य १ रुपियाँ थियो । २५ अङ्क प्रकाशित भयो ।
कसजूको लेखनशक्ति बेजोडको थियो । यही गुणका कारण तपाईं सञ्चार क्षेत्रमा लाग्नुपर्छ भनेर सहकर्मीले प्रेरित गरेबाट उनी यस क्षेत्रमा आकर्षित भए । २०३० सालमा उनले कुमार प्रेस सञ्चालन गरे । तानसेनमा पहिलो कम्प्युटर, पहिलो फ्याक्स र पहिलो अफसेट प्रेस भित्र्याउन पनि उनको योगदान रहेको बताइन्छ । तानसेनबाट प्रकाशन हुने भित्तेपत्रिका, हवाई पत्रिकालगायतमा उनी सक्रिय थिए । हरेक विधामा पहिलो प्रयोग गर्नु उनको सोख नै थियो ।
भित्तेपत्रिका र ‘गाउँले देउराली’ साप्ताहिकमार्फत उनले विकास पत्रकारिताको उदाहरण प्रस्तुत गरे । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध शालीन ढंगले समाचार पस्के । सम्पादकीय लेखे । अनि जनजिब्रोको शब्दलाई टपक्क टिपेर अब्बल लघुकथा सिर्जना गरे । उनका पञ्चतन्त्र, थोपाथोपा, लिस्नोलगायतका लघुकथासंग्रह प्रकाशित छन् ।
मूलधारको पत्रकारितामा लाग्नेमध्ये धेरैले उनीबाट फिचर लेखनबारे प्रत्यक्ष तालिम वा प्रेरणा लिएको पाइन्छ । उनले जीवनका पूर्वाद्र्धमा रिडीबाट तानसेन झरेपछि तानसेन ठाडो गल्लीमा किराना पसल र केही समयपछि साझा प्रकाशनको डिलर तथा स्टेसनरी सामग्रीको पसल चलाए । ठाडो गल्लीको कुमार प्रेस, पछि भगवतीटोलस्थित कुँडुलेघर परिसरमा रहेको कसजूनिवासमा उनलाई भेट्न हितैषी पुग्थे ।
औपचारिक कार्यक्रममा उनलाई पटक्कै हिँडेको देखिँदैनथ्यो । कहिलेकाहीँ साथीहरूसँग विभिन्न गाउँमा पुग्थे । सूचना शक्ति हो भन्ने कुरा नागरिकलाई बुझाउनुपर्छ भनेर उनले जोड दिए । उनले सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्तका रूपमा काम गरेर यसलाई कार्यान्वयन गर्न जोड दिए ।
कसजूको जन्म तानसेन भगवतीटोलमा २००४ असार २० गते भएको थियो । २०७६ मंसिर १० गते उनको निधन भयो । उनका योगदान भने लोकले सम्झिरहनेछन् । सम्झनु आवश्यक पनि छ । औपचारिक शिक्षाको कुरा गर्दा उनले स्नातक गरेका थिए । स्वाध्ययनले उनी खाएका थिए । उनको भाषाशैली सरल थियो । लेखनमा मिठास थियो ।
विकास पत्रकारिता र बालसाहित्यमा विशिष्ट स्थान ओगट्न सफल कसजूले विविध विषयमा कलम चलाए । कुनैबेला रुरु गाउँ पञ्चायत, रिडीको प्रधानपञ्चको रूपमा उनले जनसेवा गरेका थिए । त्यसबेला उमेरले कान्छा प्रधानपञ्च कसजूको रूप र व्यक्तित्वसँग राजा महेन्द्र प्रभावित भए । पाल्पाको राजनीतिमा माक्र्सवादी धारनजिक रहेका कसजूसँग जोडिएका अनेक प्रसंग छन् । तीबारे अलग्गै चर्चा गर्दा सान्दर्भिक होला ।
सरल, मिजासिलो स्वभाव, झट्ट नरिसाउने र सोचेर बोल्ने कसजूका अनुकरणयोग्य बानी हुन् । त्यसो त उनका पनि कमीकमजोरी थिए होलान् तर यो बेला उनका असल कर्म स्मरण गर्ने बेला हो । उसबेला तानसेन (पछिल्लो समय काठमाडौं) निवासी कसजूले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदा दुईपटक जेल परे । ०४० देखि ०५० सम्म पाल्पाबाट प्रकाशित सत्य समाचार साप्ताहिकको सम्पादकका रूपमा उनले काम गरे । यस पत्रिकामा रहेको साँचो कुरा स्तम्भले धेरैको मस्तिष्कमा अमिट छाप छाडेको थियो ।
०५० पुसबाट परीक्षण र ०५१ वैशाखबाट नियमित प्रकाशन भएको दक्षिण एसियाको पहिलो विकास पत्रिका ‘गाउँले देउराली’ साप्ताहिकको उनी संस्थापक सम्पादक भए । यस अवधिमा उनले पाल्पाका अन्य पत्रिका प्रकाशनमा सहयोग गर्नुका साथै बुधबार साप्ताहिक, हिमाल खबर पत्रिकालगायत राजधानीबाट प्रकाशित पत्रपत्रिकामा समेत स्तम्भ लेखे । नेपाल पत्रकार महासंघ पाल्पाको स्थापनामा पनि उनको योगदान उत्तिकै छ ।
पछिल्लो समय बालसाहित्यमा उनी क्रियाशील थिए । उनका १२ दर्जनजति बालसाहित्यका पुस्तक प्रकाशित छन् । उनले बालकथा लेखनबारे तालिम पनि दिए । समुदायमा सूचना प्रवाहक्रममा अडियो टावरको उपयोग, तानसेन पाल्पामा स्थानीय टीभी रत्न केबुल सञ्चालन, सामुदायिक रेडियो मदनपोखरा स्थापना तथा सञ्चालन र ‘गाउँले देउराली’ साप्ताहिकको प्रकाशन आरम्भमा उनको योगदान अतुलनीय छ । गाउँले देउराली साप्ताहिकमा ०५३ चैत १५ सम्म उनी सम्पादक रहे ।
विकास पत्रकारिताको मोडल अब फेरिनुपर्छ, ग्रामीण परिवेश र प्रविधि सुहाउँदो पत्रकारितामा जोड दिन सकिएन भने बजारमा टिक्न सकिँदैन भन्थे । पत्रकारितामार्फत उनले ग्रामीण विकासका लागि लगाएको गुन अमूल्य छ । गाउँमा पाइला–पाइलामा समाचार छ भनेर कृषि र पशुपालन पेसामा लागेकाको मनोबल उकास्नेगरी उनले विकास पत्रकारिताको उपयोग गर्न सिकाएको कुरा उनीसँग तालिम लिने धेरैलाई स्मरण हुनुपर्छ ।
सूचना आयोगको संस्थापक प्रमुख आयुक्त भएपछि ग्रामीण विकास पाल्पाको अध्यक्ष पदबाट उनले २०६५ जेठ ५ बाट राजीनामा दिए । विगतमा प्रेस काउन्सिल नेपाल, मानवअधिकार आयोगको सल्लाहकारका रूपमा समेत उनले सेवा गरे । राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्यका रूपमा पनि उनले काम गरे । विगतमा शिक्षण र मानवअधिकार क्षेत्रमा संलग्न उनकी जीवनसाथी गंगा कसजू पनि बालसाहित्यमै क्रियाशील छन् ।
दक्षिण एसियाको पहिलो विकास पत्रिका ‘गाउँले देउराली’ साप्ताहिकको संस्थापक सम्पादकका रूपमा उनले काम गरेर गाउँको गतिविधि, किसानका कर्मले पनि पत्रपत्रिकामा स्थान पाउन सक्छ भन्ने तथ्य स्थापित गराए । यही योगदान सम्झेर अहिले पनि पाल्पा सेरोफेरोमा उनलाई किसानका पत्रकार भनेर चिनिन्छ । श्रद्धाले उनको नाम लिइन्छ । उनको अगुवाइमा ग्रामीण विकास पाल्पाले देशव्यापी रूपमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको थियो । त्यसबेला तालिम लिने पत्रकार मूलधारको पत्रकारितामा यतिबेला स्थापित छन् । ग्रामीण विकासका लागि सूचनाको महत्वपूर्ण स्थान रहन्छ भनेर बोध गराउन सफल कसजू सादा जीवन उच्च विचारका पक्षपाती थिए ।
स्वर्गीय कसजूप्रति हार्दिक श्रद्धाञ्जली ।