राष्ट्रिय युवा संघ नेपाल उपमहासचिवमा तिवारी


दुर्छिम (खोटाङ) । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपाल उपमहासचिवमा रमेश तिवारी चयन भएका छन् ।

संघको दोस्रो पूर्ण बैठकबाट हलेसी तुवाचुङ नगपालिका–५ दुर्छिम वडाध्यक्षसमेत रहेका तिवारी उपमहासचिवमा चयन भएका हुन् ।

काठमाडौंको राम शाहपथ पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा बीबीएस अध्ययनताका अनेरास्ववियु प्रारम्भिक कमिटीमा आबद्ध भएका उनले प्राक सदस्यदेखि सचिवसम्मको भूमिका निर्वाह गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) गरेका उनी अनेरास्ववियुको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।

हेल्थ असिस्टेन्ट (एचए)को समेत अध्ययन पार लगाएका उनी अनेरास्ववियुपछि तात्कालिक प्ररायु संघमा जोडिएका थिए । ‘प्ररायु संघका तात्कालिक अध्यक्ष अजम्बर काङमाङ राईसँग भेट भयो । सत्तारूढ नेकपाको भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपाल पूर्वसंयोजक रमेश पौडेल र म संघमा जोडियौं,’ उनले राजनीतिक पृष्ठभूमि सुनाए, ‘पौडेल केन्द्रीय कमिटी र मैले कार्यालय विभाग सदस्यको भूमिका पाएँ ।’

प्ररायु संघको लहान महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए । लहान महाधिवेशनबाट प्ररायु संघ युवा संघ बन्यो । बुटवल महाधिवेशनमा उनले सबैभन्दा धेरै मत पाएर निर्वाचित भएका थिए ।

महाधिवेशन नभए पनि उनले युवा संघको केन्द्रीय सचिवालय सदस्यको भूमिका पाएका थिए । विभागीय प्रमुख हुँदै स्थायी कमिटीसम्म पुगे । पार्टी विभाजन हुनुअघि उनी राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्