दुर्छिम (रातमाटे) खोटाङ । समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य अन्जिलहाङ किरातीले आफ्नो जन्मदिनको अवसर पारेर रातमाटे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई १५ हजार रुपैयाँँबराबरको ६०० थान कापी वितरण गरेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटारनिवासी नेता किरातीले कापी वितरण गर्दै रातमाटे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीसँग जन्मदिन मनाएका हुन् ।
‘जन्मदिन मनाउने पश्चिमेली प्रभाव गाउँघरसम्म भित्रिएको छ,’ जनता समाजवादी पार्टी हलेसी तुवाचुङ नगरपालिका नगर अध्यक्ष मविन्द्र राईले भने, ‘छिमेकी, साथीभाइलगायतलाई निम्ता गरेर केक काट्ने, क्यान्डल बाल्ने, बेलुन उडाउने, भोजभतेर गर्ने होडबाजी चलेको छ । अरूको देखासिकी गर्नेलाई युवा नेता किरातीले पाठ पढाएका छन् ।’
‘जन्मदिन मनाउने गज्जबको सामाजिक अभियान हो,’ रातमाटे आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन राईले भने, ‘यो उदाहरणीय अभियानमा समाजसेवी तथा युवानेता अन्जिलहाङ किरातीले हाम्रो विद्यालयलाई देखिदिनुभएकोमा विद्यालय परिवार खुसी छौं । उहाँको समाजसेवा र राजनीतिक सफलताको शुभकामना व्यक्त गर्दछौं ।’
‘आफ्नो जन्मदिन आफ्नै नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीसँग मनाउन पाउँदा उत्साहित छु,’ युवा नेता किरातीको भनाइ छ, ‘भोलिको देशका कर्णधारलाई मैले यति सहयोग गर्न पाउनु सौभाग्य ठानेको छु ।’
जन्मदिन मनाउने धेरैले केक काटेर मनाउँछन् । ‘यो राम्रो संस्कृति होइन,’ किरातीले खुसी व्यक्त गरे, ‘आफ्नो जन्मदिनमा केक काट्नुभन्दा कापी वितरण गर्दा विद्यार्थील लाभान्वित होलान् भन्ने ठानेको छु ।’