
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले सुरक्षित मातृत्व आमा समूह दुर्छिमलाई उपलब्ध गराएको विद्युतीय मिल समूहकै पूर्वसचिव कुमारी राईले तीन महिनादेखि उपभोग गरेको खुलासा भएको छ ।
कसैलाई जानकारी नदिई आफैंले उपभोग गरेको खुलासा भएपछि समूहका पूर्वसचिव राईको निवासबाट विद्युतीय मिल हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम भन्ज्याङ ल्याइएको हो । संवत् २०६१ मा स्थापित समूहसम्बद्ध ३० घरपरिवार लाभान्वित हुनेगरी नगरले तीन महिनाअघि विद्युतीय मिल उपलब्ध गराएको थियो ।
‘नगरपालिकाबाट आफ्नै नाममा बुझेर ल्याए पनि कसैलाई जानकारी नगराई पूर्वसचिव कुमारी राईले उपभोग गर्दै आउनुभएको थियो,’ सुरक्षित मातृत्व आमा समूहकी सदस्य कल्पना राईले जानकारी गराइन्, ‘उहाँकोमा मिल देखेपछि सोधपुछ गर्दा छोरी–ज्वाईंले सहकारीबाट निकालिदिनुभएको भनेर ढाँट्नुभयो ।’
आमा समूहलाई पनि विद्युतीय मिल परेको छ रे भन्ने सुनेपछि समूहकै १३ जना महिला तीनपटकसम्म नगर कृषि शाखामा ‘डेलिगेसन’ गएका थिए । ‘डेलिगेसन’ गए पनि जोकोहीले कागज, भर्पाइँ हेर्न नपाउने भएपछि तीनैपटक रित्तोहात फर्केको सदस्य राईले सुनाइन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम महिला वडासदस्य गमिता राईले मिल बुझेको फाइल, भर्पाइँलगायत कागजात हेरेपछि वास्तविकता पर्दाफास भएको थियो ।
‘आफूसम्बद्ध आमा समूहलाई परेको विद्युतीय मिल समूहका कसैलाई जानकारी नदिई छोरी–ज्वाईंले मिलाइदिएको भनेर ढाँट्दा जोकोहीलाई रिस उठ्नु स्वाभाविकै हो,’ महिला वडासदस्य राईले थपिन्, ‘उहाँ समूहको सचिवमात्रै होइन, स्वास्थ्य स्वयम्सेविका पनि हुनुहुन्छ । समूहले डाकेको बैठकमा नआउने, समूहको नाममा परेको मिल निजी रूपमा चलाउनु राम्रो होइन नि ।’
पटक–पटक बैठकमा बोलाउँदासमेत सचिव नै अनुपस्थित भएपछि ०७९ असार २६ गते साधारणसभा गरी सुरक्षित मातृत्व आमा समूह पुनर्गठन गरिएको थियो । सोही साधारणसभाले सचिव राईलाई सर्वसम्मत पदमुक्त गरेको थियो । पदमुक्त गरेको निर्णयको बोधार्थ वडा कार्यालय दुर्छिममा बुझाइएको थियो । दर्ता नम्बर २४३४ रहेको बोधार्थ इलाका प्रहरी कार्यालय, नगर स्वास्थ्य शाखा र न्यायिक समितिमा पठाइएको थियो ।
विद्युतीय मल लिन पूर्वसचिव कुमारी राईको घर पुग्दा छलफल चलिरहेकै अवस्थामा हात हालाहालसम्म भएको भिडियो सार्वजनिक भइसकेको छ । दुवैतर्फ तानातान गर्दा सामान्य चोटपटक लाग्नुका साथै मिलको पावर प्लक चुँडिएको थियो ।



