दिक्तेल (खोटाङ) । देवान किराती ‘पृथ्वी’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले आफूहरूसँग बहुमत सदस्य रहेको भनेर नेकपा खोटाङ (ओली समूह)ले भ्रमको राजनीतिक खेती गरेको आरोप लगाएको छ ।
नेकपा खोटाङ अध्यक्ष देवान किराती ‘पृथ्वी’को भूमिकामा ओली समूहले रामप्रसाद दंगाललाई चयन गर्दै आफूहरूसँग बहुमत सदस्य रहेको दाबी गरेपछि देवान किराती ‘पृथ्वी’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङले ओली समूहको दाबी तथ्यहीन र भ्रामक भएको टिप्पणी गरेको हो ।
नेकपा खोटाङ प्रचार तथा प्रकाशन विभाग संयोजक संगीन किराती र सचिव राजुविक्रम चाम्लिङले विज्ञप्ति जारी गर्दै अहिलेको राजनीतिक संक्रमणकालीन अवस्थामा संयम रही एकताबद्ध रूपमा कम्युनिस्ट पार्टी अघि बढ्नेमा ढुक्क हुन अनुरोध गरेका छन् ।
नेकपा खोटाङ १ सय ४७ सदस्यीय कार्यसमिति रहेको थियो । पार्टी विभाजनपछि अधिकांश सदस्य देवान किराती ‘पृथ्वी’ अध्यक्ष रहेको समितिमा छन् । गत पुस १५ गते दिक्तेलमा भएको देवान किराती ‘पृथ्वी’ अध्यक्ष रहेको नेकपा खोटाङले गरेको जिल्ला कमिटीको तेस्रो बैठकको सहभागिताले आफूहरूसँग बहुमत सदस्य रहेको प्रमाणित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।