स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा आयोगद्वारा दैनिक ‘प्रेस ब्रिफिङ’



काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे दैनिक आमसञ्चारमाध्यमलाई जानकारी गराउने भएको छ ।

कान्तिपथमा रहेको आयोगपरिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि दैनिक अपराह्न ४ बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।

दैनिक रूपमा सञ्चारमाध्यममार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको शर्माले बताए । दैनिक हुने प्रेस मिटले निर्वाचनसम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तु चिर्नसमेत सहयोग पुग्नेछ ।

दैनिक प्रेस ब्रिफिङबाट समयको सही उपयोगका साथै सूचना प्राप्त गर्ने विषयमा हुन सक्ने अलमल अन्त्य हुने आयोगले विश्वास लिएको छ । निर्वाचनसँग सम्बन्धित सबै समाचार र सूचना तोकिएको समयमा एकै स्थानबाट सहज रूपमा उपलब्ध हुने जनाउँदै आयोगले दैनिक हुने प्रेस मिटमा उपस्थितिका लागि सबै सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गरेको छ । आयोगले प्रेस मिट सम्बन्धी सूचना वेबसाइटमा पनि राख्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्