भगवान् बुद्ध मृत्युशय्यामा हुँदाको समय थियो । शिष्य आनन्दले उनको सेवा गरिरहेका थिए । त्यही समयमा भद्रक नाम गरेको अर्को चेलो बुद्धका छेउमा रुँदै पुगे । मानिस रोइरहेको आवाज बुद्धको कानमा प¥यो । को रोएको हँ भनेर थाहा पाउन आनन्दलाई बुद्धले सोधे, ‘आनन्द, को रोइरहेका छन् ?’
‘भद्रक रोएका हुन्,’ आनन्दले बुद्धलाई सुनाए, ‘उनी हजुरको अन्तिम दर्शनका लागि आएका हुन् ।’
बुद्धले स्नेहसाथ भने, ‘ल उनलाई मनजिक बोलाऊ त ।’
हिक्कहिक्क गर्दै भद्रक भगवान् बुद्धको पाउमा परे । भगवान् बुद्धले उनी रुनाका कारण सोधे ।
भद्रकले रुन्चेस्वरमा उत्तर दिए, ‘अब हजुर हामीसामु नहुँदा हाम्रा लागि कसले उज्यालो दिन्छन् ?’
‘भद्रक प्रकाश बाहिर होइन तिमीभित्रै छ । बाहिर उज्यालो खोज्दै हिँड्नु बेकार छ । मन्दिर, गुफा, देवालय तथा तीर्थमा प्रकाश खोजेर पाइँदैन । बित्थामा समय खेर जान्छमात्र,’ बुद्धले स्नेहसाथ उनको शिरमा हात राख्दै उपदेश दिन सुरु गरे, ‘अन्तिममा उनीहरू निराशमात्र हुन्छन् । मन, वचन र कर्मले जो एकनिष्ठ भएर साधनारत रहन्छन्, उनीहरूले स्वयम् आफैंमा प्रकाश प्राप्त गर्न सक्छन् । बत्ती आफै बन्न सक्छन् ।’
भगवान् बुद्धको अन्तिम सन्देश यही थियो । यसैको प्रचारका लागि भद्रकले आफ्नो सम्पूर्ण समय लगाए ।