सालकको मासु खाँदा दीर्घरोग चट्



सालक हेर्दै प्रफुल्ल र रमाइलो लाग्छ । झट्ट हेर्दा डर लागे पनि यसलाई देख्ने प्रायः सबै रोमाञ्चित हुन्छन् । हेर्दा सुन्दर लाग्ने सालक लजालु हुन्छ । रात्रिचर यो प्राणीको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरका सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ ।

खपटाबीचबाट रौं बाहिर निस्केको देखिन्छ । सालक सुनौलो पहेलो रंगको देखिन्छ । यो पुच्छरको सहयोगमा रूखको हाँगामा झुन्डिन्छ । सालकलाई अंग्रेजीमा पाङ्गोलिन भनिन्छ । स्तनधारी निशाचर सालकको आहारा मुख्यतः कमिला, कीरा र धमिरा हो । जिब्रो अति लामो र र्याले लस्साले भरिएको हुन्छ । ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसको जिब्रोले धमिरा र कमिला सोहोरेर सिधै पेटभित्र हुल्छन् ।

जिउलाई गुटमुट्याएर भकुन्डोजस्तै गोलो र गुड्ने बनाउँछ । टोक्न र चिथोर्न नमिल्नेगरी गुजुल्टिएर बस्छ । शत्रुबाट बच्ने अनुपम शैली देख्दा सबै दंग पर्छन् । सालकको खपटा माछाका कत्लाझैं आपसमा खप्टेका हुन्छन् । साह्रो खपटा रक्षापाता बनेर कवचको काम गर्छन् । खतरा महसुस हुनासाथ जोगिन गुजुल्टिएर भकुन्डोजस्तै डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकैठाउँमा टाँसिएर गुजुल्टिएर बस्छ ।

खपटासँगै मसिना तर दह्रा केश हुन्छन् । सालकको अगाडिका खुट्टाका नङ्ग्रा निकै बलिया र तीखा हुन्छन्, जसको सहायताले यसले जमिन खोस्रन्छ । तीनदेखि चार मिटरभित्रसम्म लुकेर बस्छ । सालकले निकै दु्रत गतिमा अर्थात् एक मिनेटमा एक मिटरसम्म जमिन खोस्रन सक्छ र एकतिरबाट छिरेर अर्कोतर्फ निस्कन्छ । विश्वमा आठ प्रजातिका सालक पाइन्छन् । जसमध्ये नेपालमा कालो (चाइनिज) र तामे (इन्डियन) सालक पाइन्छ । अफ्रिका र एसिया महादेशको नेपालसहित चीन, भारत र श्रीलंकामा सालक पाइन्छ ।

वन्यजन्तु भए पनि पारिस्थितिक प्रणाली सन्तुलनमा सालकले निकै सहयोग पुर्याउँछ । कृषक र मानवको साथी मानिन्छ । कृषि उब्जनी र काठपात खाएर बिगार्ने धमिरा, कीरा र कमिला सालकको गतिलो आहारा हो । एउटा सालकले एक वर्षमा ६ देखि सात करोडसम्म त्यस्ता कमिला, कीरा र धमिराको सिकार गर्छ । त्यसैले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सालक हितकारी वन्यजन्तु हो, सालक संरक्षणमा लामो समयदेखि काम गर्दै आएकी हिमालय प्रकृति संरक्षण अधिकृत प्रतिभा कसपाल भन्छिन्, ‘पूर्णतः लोप हुने हो भने हाम्रो जैविक संयन्त्रमै परिवर्तन आउन सक्छ । बालीनालीमा अचेल बढी नै विषादी छर्नुपर्ने बाध्यता त्यसकै एउटा प्रतिफल हो ।

सालकमध्ये पहाडी क्षेत्रको ओसिलो भेकमा पाइन्छ । नेपालमा यिनीहरू चुरे पहाडको छेउछाउमा भेटिन्छन् ।’ महाभारत पर्वत र शृंखलाका भित्री खोंच धादिङ, काभ्रेपलान्चोक, गोरखा, रामेछाप र संखुवासभा आदि जिल्लाका पारिला भीर, नदीकिनार र बेंसीमा पाइएका छन् । धादिङको केवलपुर थानसिङबीचको बेंसी, काभ्रेको बल्थली र सिन्धुलीको नाकाझोजीमा करिब दुई फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सालक पाइन्छ । सालका वन भएका २,५०० सय मिटर उचाइमा भेटिन्छन् । स्तनधारी सालकको रंग माटोसँग मिल्दोजुल्दो हुन्छ । माटोमै लुकेर बस्ने हुँदा यसलाई सहजै देख्न मुस्किल हुन्छ ।

जैविक विविधता संरक्षणमा सहयोग पुर्याउने हुँदा सरकारले संरक्षित सूचीमा राखेको छ । आईयुसीएनले सालकलाई जोखिमपूर्ण र खतरायुक्तको सूचीमा राखेको छ । तर, यसको अवस्थाबारे विस्तृत अध्ययन भने भएको छैन ।

नेपाल भने सालक संकटमा पर्दै गएका छन् । विदेशमा सालकको खपटा माग बढेपछि सालक मारिनेक्रम बढेको छ । राम्रो मूल्यमा बिक्री हुने भएपछि मारेर खपटा र जिउँदै पनि बाहिर निर्यात भइरहेको छ । विदेशमा सालकलाई घर, रेस्टुराँ र बगैंचामा पाल्नका लागि जिउँदै तस्करी गरिन्छ भने मरेको सालकलाई रसायनयुक्त सिसामा राखेर सजाउने गरिन्छ । औंठी, मालाका साथै विभिन्न प्राचीन चिनियाँ औषधिका लागि समेत सालकका खपटा प्रयोग हुँदै आएका छन् । तर, यसले औषधिको काम गर्ने वैज्ञानिक पुष्टि भएको छैन । सालककै खपटाबाट बनाइएको ज्याकेट, ब्यागजस्ता सामग्री सम्भ्रान्तवर्गले प्रयोग गर्छन् ।

नेपालमा पनि अन्धविश्वासका कारण सालक मार्ने वा अंगको प्रयोग हुने काम भइरहेको छ । भूतप्रेतबाट जोगाउने नाममा सालकका खपटाका माला लगाउने, धूप बाल्नेजस्ता काममा प्रयोग भएको पाइन्छ । यसको मासु खाँदा दीर्घरोग निको हुने विश्वास छ । सामान्यतः एउटा सालकको तौलमा २० प्रतिशत भाग खपटा हुन्छ । एउटा सात किलोको सालकबाट १.४ किलो खपटा निस्कन्छ । आफ्नो वासस्थानमा केही समस्या देखिनासाथ बसाइँ सर्छ । बसाइँ सर्दा वा आहारा खाना बाहिर निस्कँदा सालक मारिन्छ ।

तस्करहरू सालकलाई रातको समयमा खोज्छन् । संवेदनशील यिनको थुतुनोमा प्रहार गरेर मार्छन् । शत्रुको आक्रमणमा पर्दा यसले प्रत्याक्रमण गर्दैन, रक्षात्मक हुन्छ । यसबेला यसले आफ्नो शरीरलाई भकुन्डोजस्तो डल्लो पारेर गुड्न खोज्छ, जसलाई सहजै खोल्न सकिँदैन ।

रातिमात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । त्यस्तै, साइटिसले अनुसूची २ मा राखेर यसको व्यापार व्यवसायलाई दन्डनीय बनाएको छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ । सालक लोप हुनेक्रम बढेपछि सचेतना गर्न विश्व संरक्षण संघ (आईयुसीएन) को तत्वाधानमा तीन/चार वर्षदेखि १६ फेब्रुअरीलाई सालक संरक्षण दिवस मनाउन सुरु गरिएको छ ।

सालकबारे जान्नुपर्ने

– सालक संवेदनशील, सुस्त र एक्लै वा समूहमा बस्ने गर्छ ।

– औसत आयु जानकारीमा छैन, अनौपचारिक रिपोर्टअनुसार १२ देखि २० वर्षसम्म बाँच्छ ।

– वयस्क सालकको शरीरमा सात सय बढी कत्ला, छोटो खुट्टा र सानो तीखो परेको टाउको र लामो पुच्छर हुन्छ ।

– दाँत हुँदैन । अचम्म त लामो–लामो तीखो जिब्रो हुन्छ । आहारा चरप्प भित्र हुल्छ ।

– विश्लेषकका अनुसार पछिल्लो दुई दशकमा सालकको संख्या ८० प्रतिशतले ह्रास भएको बताएका छन् ।

– पछिल्लो दशकमा १० लाख बढी सालक गैरकानुनी तरिकाबाट चीन र भियतनाम पु¥याइयो । त्यहाँ सालकको मासु र खपटाको अत्यधिक माग हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्