सामाजिक रूपमा राई भनेर परिचित सोताङ, कुलुङ र पिल्मोङ समुदायबीच उत्पन्न असहमतिले पत्रिकामा स्थान पाएको छ । ‘चाक्चाकुर चाडमा उठेको भ्रम निवारण’ शीर्षकमा कुलुङ संघको तर्फबाट चन्द्रसिंह कुलुङको लेख पहिलो पृष्ठमा र सोही अंकको दोस्रो पृष्ठमा ‘सोताङ र पिल्मोङलाई किन कुलुङकरण’ शीर्षकमा युवराज राईको लेख २७ पुस २०७७ को छहरा साप्ताहिकमा छापियो । यी दुई लेख एकसाथ पढ्न पाउनु संयोगमात्र थिएन, कृत्रिम चाड आविष्कार गरी सच्चा संस्कृतिलाई विकृति गराई सोताङ र पिल्मोङलाई कुलुङे बनाउन खोज्दाको परिणाम हो ।
युवराज राईको लेखमा सोताङ तथा पिल्मोङ स्वतन्त्र समुदाय हुन् र कुलुङको शाखा–प्रशाखा होइनन् भन्ने उल्लेख छ । चन्द्रसिंह कुलुङको लेखमा चाहिँ कुलुङका तीन प्रमुख समुदाय सोत्तो, पिल्मो र कुलू हुन् भनेर उल्लेख गरिएको छ । युवराज राईको भनाइलाई चन्द्रसिंह कुलुङले मातृभाषाका आधारमा उनीहरूलाई सोत्तो, पिल्मो र कुलू भनिन्छ भनेका छन् । उनका अनुसार सोत्तो भनेको सोताङ, पिल्मो भनेको पिल्मोङ र कुलू भनेको कुलुङ हो ।
कुलुङ संघको आयोजनामा सुनसरीको धरानमा २०६१ चैत २० देखि २७ गतेसम्म नेपालभरका कुलुङ पुर्खाको राष्ट्रिय सम्मेलन बसेर चाक्चाकुर मनाउने निर्णय गरिएको चन्द्रसिंहले बताएका छन् । मानव सभ्यताकालदेखि आधुनिक युगसम्म कहिल्यै नमनाएको चाक्चाकुर ०६१ को सम्मेलनले न्वारान गरी मनाउन थालिएको जानकारी संघको तर्फबाट आएको छ । नेपालभरको कुलुङ पुर्खाको सम्मेलनले चाक्चाकुर पारित गरेको हुनाले निश्चित रूपमा चाक्चाकुर सोताङ र पिल्मोङको नभएको प्रमाणित हुन्छ । यो केवल कुलुङ समुदायको चाड भएको स्पष्टोक्ति सम्मेलनले दिएको छ ।
चन्द्रसिंह कुलुङले चाक्चाकुरसम्बन्थी प्रस्तुत गरेको विश्लेषणले चाक्चाकुरको अर्थ पुस महिनाको नामबाहेक अरू केही होइन । सृष्टिकालदेखि अहिलेसम्म सोताङ र पिल्मोङले चाक्चाकुर मानिएको देखिँदैन । यसबाट पिल्मोङ र सोताङ अलग्गै समुदाय रहेको पुष्टि हुन्छ । कुलुङ संघको सम्मेलनले आवश्यक महसुस गरेमा जुनसुकै समयमा कुनै पनि चाड पारित गरी मनाउन सुरु गर्न सक्ने रहेछ ! चाडबाड हुनाका लागि इतिहास आवश्यक नपर्दोरहेछ ! चाडको नाम जे राखे पनि हुने र आफूलाई जस्तो इच्छा लाग्छ त्यस्तै तरिकाले चाड मनाउन सकिने रहेछ !
०६१ को कुलुङ सम्मेलनले पारित गरेको चाडको नाम चाक्चाकुर, मिनारी दाचाम चासुम्लो, ङायुखा राखेको रहेछ । कस्तो अवस्थामा चाक्चाकुर राखियो, के हुँदा मिनारी भयो, किन दाचाम भनियो, चासुम्लो भनेको के रहेछ ? ङायुखालाई के भनेर बुझ्नुपर्ने हो ? यी विषयमा चन्द्रसिंह कुलुङले आफ्नो लेखमा प्रस्ट चित्रण गर्न सकेको देखिँदैन । भनेपछि कुलुङको सभ्यता ०६१ देखि सुरु भएको मान्नुपर्ने देखियो । किनभने ०६१ मा कोरलेको अण्डाबाट निस्केको चाक्चाकुरलाई महान् चाड भनेर व्यापक रूपमा विज्ञापन गरिएको छ । आगामी दिनमा के–के नामको चाड कुलुङ सम्मेलनले निर्माण गर्ने हो ? त्यो पनि प्रतीक्षाको विषय बनेको छ ।
कुलुङ संघले महान् चाड भनेर मान्ने गरेको चाक्चाकुरलाई अरू संघ संस्थाले प्रकाशन गरेको भित्तेपात्रोमा पुस महिनाको स्थानमा चाक्चाकुर राखेर झुन्ड्याएको पाइन्छ । कुलुङ संघले आवधिक कार्ययोजना बनाएर समुदायको पहिचान उच्च बनाउनेतर्फ होइन, सम्मेलनद्वारा नयाँ चाडबाड सिर्जना गर्ने उत्सुकता किन परेको होला भन्ने कुनै आधार देखिँदैन । त्यही भएर इतिहासविज्ञ पुर्खाहरू संस्कृतिलाई विकृति गरिएको बुझेर चाक्चाकुरमा अनुपस्थित हुने गरेका छन् । तर, लेखक चन्द्रसिंह कुलुङ भने भविष्यका संवाहक युवा पुस्ता सहभागी हुने गरेको बताउँछन् । यद्यपि, युवाहरू पनि मनोरञ्जनका लागि मात्रै चाक्चाकुरमा संलग्न हुने गरेको पर्यवेक्षकहरू बताउँछन् ।
चाक्चाकुरको अर्थ पुस महिनामात्र होइन, अरू चीजको नाम पनि हो भनेर ‘भ्रम निवारण’मा भनिएको छ । तर, अरू केकेलाई भनिन्छ भनेर अर्थ खुलाउन सकेका छैनन् । चाक्चाकुर मान्न जाँदा के–के सर्दाम लगेर जानुपर्ने ? बिहान, दिउँसो र बेलुकामध्ये कुन समयमा जानुपर्ने ? बालक, बूढो र जवान कुन उमेरको जानुपर्ने ? महिला र पुरुषमध्ये को जानुपर्ने ? मूल थानमा क–कसले पस्न हुने र क–कसले नहुने ? चाक्चाकुरको आराधनाबाट के–के शक्ति प्राप्त हुने ? कुन तिथिमा चाक्चाकुर मान्नुपर्ने ? पूजा आराधना कति चरणमा सकिन्छ ? मेला लाग्नुअघि वा पछि कुन समयमा जानुपर्ने ? यी अनेकन जरुरी सवालबारे भ्रम निवारणमा निवारण गरिएको छैन । यसले देखाउँछ– चाक्चाकुर तथ्यहीन र काल्पनिक चाड हो । त्यस्तै चाक्चाकुरको मौलिकता र दर्शनको खाका भ्रम निवारणमा उल्लेख हुन नसकेबाट पनि यो कृत्रिम चाड प्रमाणित हुन्छ । चाड हो भन्दै समाजको आँखामा छारो हाल्दै आएको अवस्थामा पोल खोलिँदा ढाकछोपका लागि भ्रम निवारण लेखिएको हो । भ्रम निवारण लेख लेखेर चाक्चाकुरको अस्तित्वमाथि अझ भ्रम थपिन गएको छ । यसले अलि–अलि रहेको सामाजिक विश्वासमाथि पनि चोट लगाएको छ ।
चाक्चाकुर भनेको निङदोङ पनि हो । नयाँ वर्षलाई निङदोङ भनिन्छ भनेर समाजलाई अल्मलाइँदै थियो । ‘निङ’को अर्थ उपयोग नगरिएको नयाँ भौतिक वस्तु हो । निङदोङ भन्नाले नयाँ वर्ष भन्न खोजिएको देखिन्छ । वर्ष परिवर्तनलाई निङदोङ भनेर भौतिक वस्तुका रूपमा प्रयोग गर्न खोजिएको देखिन्छ । वर्ष भनेको प्रत्यक्ष आँखाले देखिने भौतिक वस्तु होइन, आवधिक रूपमा परिक्रमा हुने समयचक्र नै वर्ष हो । समयचक्र परिवर्तनलाई निङदोङ भनेर पुर्खाले प्रयोगमा ल्याएको अहिलेसम्म जानकारीमा आएको पाइँदैन । वार्षिक रूपमा परिवर्तन हुने समयचक्रलाई ‘खान्दिरिआ रिखोक्स’ भन्ने गर्छन् । यसको अर्थ असोजमा वार्षिक समयचक्र परिवर्तन हुन्छ भन्ने हो । खासमा असोजलाई वर्ष परिवर्तनका आधार महिना मानिँदै आएको छ । हरेक दृष्टिकोणले असोजलाई शुभ मान्ने गरिन्छ । लेखक युवराज राईले भनेझैं चाक्चाकुरलाई अशुभ महिना मानिन्छ । वार्षिक समयचक्र परिवर्तन अर्थात् वर्ष फेरिनुलाई दोङफाये भन्ने प्रचलन रहेको पाइन्छ ।
चन्द्रसिंह कुलुङले विगतमा एक जाति, एक भाषा र एक धर्मको नीति राज्यले अँगालेका कारण चाक्चाकुरको अभ्यास गराउन नसकिएको भनेर पनि वकालत गरेका छन् । चाक्चाकुरको संरक्षणमा राज्यले अवरोध गरेको थियो भने के कारणले अरू संस्कृतिलाई छुट दियो ?
युवराज राईको लेखमा सोताङ र पिल्मोङ छुट्टै स्वतन्त्र इतिहास एवम् अस्तित्व बोकेको समुदाय भनिएको छ । उनीहरू कुलुङको शाखा प्रशाखा केही होइनन् । लेखमा सोताङ र पिल्मोङको भाषा र संस्कृतिलाई कुलुङकरण गर्न खोजिएको आरोप लगाइएको छ । सोताङ समुदायमा सोताङ भाषालाई सोत्तोरिङ, कुलुङको भाषालाई कुलुरिङ र पिल्मोङको भाषालाई इरिङ भनिन्छ भनेर युवराज राईले जानकारी दिएका छन् । चन्द्रसिंह आफू कुलुङ हुँदैमा सोत्तो र पिल्मोलाई कुलुङमा गाभेर कुलुङ बनाउन खोज्नु कति न्यायिक हो ? चन्द्रसिंह कुलुङको अभिव्यक्तिले सोताङ र पिल्मोङ स्वतन्त्र समुदाय होइनन् । तर, उनले पिल्मोङ र सोताङ स्वतन्त्र समुदाय होइनन् भन्ने ठोस प्रमाण भने पेस गर्न सकेका छैनन् । त्यस अर्थमा सोताङ र पिल्मोङको अस्तित्व, संस्कृति र भाषामाथि दमन र दासता सिर्जना गरिएको छ भनेर युवराज राईले लगाएको दोषारोपण सही देखिन्छ । आपसमा सद्भाव कायम गरेर समानान्तर रूपमा अघि बढ्नु आजको २१सौं शताब्दीको माग हो ।
चन्द्रसिंह कुलुङको लेखमा सोलुखुम्बुको महाकुलुङ र संखुवासभाको सिलिचोङ गाउँपालिकाले चाक्चाकुरको नाममा तीन दिन छुट्टी दिएको भ्रम निवारणमा उल्लेख छ । त्यो छुट्टी राजनीति दबाबले दिएको हो कि ऐतिहासिक महत्वका कारण दिएको हो ? छुट्टी दिनका कारण अध्ययन गर्नुपर्ने देखिन्छ ।
अन्तिममा यति भनौं कि कसैले कसैलाई दमन होइन, सत्यतथ्यमा आधारित भएर एकले अर्काे समुदायको सम्मान गर्दै भविष्यका कर्णधार युवा वर्गलाई सही गोरेटोमा मार्गनिर्देशन गर्नु आजको आवश्यकता हो ।