‘तिम्रो यादमा कुनै दिन दिइएको यो चिनो, तिम्ले मलाई फर्काइदियौ । यस चिनोलाई सम्हालेर राख्नू ल ।’
पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिरअंकित पाँच सय रुपैयाँको नोटमार्फत यस्तो अनुरोध गरिएको छ । पाँच सय रुपैयाँ नोटको पछाडिपट्टि बायाँ भागमा यस्तो अनुरोध गरिएको हो । सोही नोटको बीचमा रुपैयाँ पाँच सय लेखिएको तलपट्टि ‘मात्र तिम्रो लागि’ उल्लेख छ भने रुपिज फाइभ हन्ड्रेडमाथि ‘अस्मि प्रज्ज्वल’ लेखिएको छ ।
पहिलो अनुच्छेदमा उल्लेख कारुणिक अनुरोध अस्मि र प्रज्ज्वलबीचको हो । तर, दुईमध्ये कसले लेखका हुन् भन्न सकिँदैन । सोही नोटको अग्रभागको ज्ञानेन्द्र शाहको तस्बिरमाथि ‘डेट : २१–०७–२०१९’ उल्लेख छ । ज्ञानेन्द्र शाहको तस्बिरमुनि प्रज्ज्वल एन्ड अस्मि लेखिएको छ ।
यसैगरी, सोही नोटको अग्रभागकै बीचमा श्री नेपाल राष्ट्र बैंक लेखिएको माथिपट्टि ‘हाम्रो यो चिनो जुनीजुनीको लागि’ उल्लेख छ भने रुपैयाँ पाँच सय लेखिएको दायाँपट्टि मुनिबाट अस्मि उल्लेख छ । सोही नोटको दायाँपट्टि ‘पी’ र ‘ए’ को बीचमा पानको पात बनाइएको छ । त्यसकै मुनि अंग्रेजीमा ‘अस्मि’ लेखिएको छ । त्योभन्दा तल ‘आई लभ’ लेखिएको प्रस्ट देखिए पनि बाँकी अक्षर बुझिँदैन ।
त्रिधार्मिक स्थल हलेसी खोटाङ आइपुगेका अस्मि वा प्रज्ज्वलले यो रुपैयाँ हलेसीमा चढाएको हुनुपर्छ । ‘हलेसीमा चढाइएको पाँच सय रुपियाँको यो नोट सग्लो भने थिएन,’ सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए, ‘च्यातच्युत पारेर चढाइएको नोट भेटी गन्दा हामीले जोडजाड पारेका थियौं ।’
हलेसीमा चढाइएको रुपैयाँ संकलन गरेर श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति सम्बद्धले भेटी गन्दा यो रुपैयाँ फेलापारेका हुन् । रुपैयाँ फेलापारेपछि त्यहाँ लेखिएको अक्षर पढ्दै हँसिमजाक गरिएको थियो भने रुपैयाँको फोटोसमेत खिचिएको थियो ।
लेख्नेले नोटमा नाम, ठेगाना, टेलिफोन नम्बर, मोबाइल नम्बर, प्रेमपत्र लेख्दै आएका छन् । कतिपयले त भेट्ने ठाउँ पनि उल्लेख गरेका हुन्छन् । लेख्नेले लेखिरहेका छन् । नेपाल राष्ट्र बैंकले नोटमा केरमेट गर्न हुँदैन भनिरहेकै छ । उसले नोट जतन गरेर चलाउन आह्वान गर्दै आएको छ । तर, सुनुवाइ भएको देखिँदैन ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ मा नोटमा केरमेट गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म जेल हाल्ने लेखिएको छ । ऐनको दफा २६३ मा उल्लेख छ, ‘नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’
नोटमा केरमेट गर्नेलाई कडिकडाउ गरिए पनि लेख्नेले लेख्न छाडेका छैनन् । आफूले कसैलाई दिएको नोट आफैंसम्म आइपुग्छ कि पुग्दैन होला भनेर परीक्षण गर्नकै लागि कतिपयले केही न केही लेखिरहेका हुन्छन् ।
संवत् २००२ देखि नेपाली नोट प्रचलनमा आएको हो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा विभिन्न दरका नोट प्रचलनमा आएका छन् । लेख्नेले नोटमा लेखिरहेका छन् । कतिपयले नजानिँदोपाराले नोटमार्फत आफ्नो विज्ञापन गरिरहेका हुन्छन् । कतिपयले मुक्तक, सायरी लेख्न पछि परेका हुँदैनन् । कतिपयले के–के, के–के लेखिरहेका हुन्छन् । नोटमा फोन नम्बर लेखेकै भरमा थुप्रै साथी बनाइसकेको कतिपयले सुनाउँछन् ।
‘सम्बन्धित मानिसले आफ्नो अभिव्यक्ति फरक–फरक ढंगले अभिव्यक्त गरिरहेका हुन्छन् । कतिपयले बाँसमा लेखेर भावना पोख्छन् । कसैले सञ्चारमाध्यमबाट,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको ठम्याइ छ, ‘कसैले नोटमार्फत आफ्नो भावना सार्वजनिक गर्छन् । सम्बन्धित मानिसले आफ्नो भावनाको सामाजिक आयातन खोज्छन् । आफ्नो भावना धेरैभन्दा धेरैमा पुगोस् भनेर नोटमार्फत अभिव्यक्त गर्नेले गरिरहेका हुन्छन् ।’