पर्यटनमै प्रशस्ती


हलेसी गुफा

‘हाम्रोमा घाँस, दाउरा र पानीको साह्रै दुःख छ,’ पहिलोले दुःखेसो पोखे, ‘घाँस, दाउरा त यताउता गर्न सक्थ्यौं । तर, पानी छैन ।’
‘हाम्रोमा घाँस, दाउरा, पानी सबै–सबैको सुविधा छ,’ दोस्रोले गुनासो गरे, ‘तर, हलेसी छैन ।’

पहिलो र दोस्रोबीचको संवादमा दुवैले अभावका कुरा गरेका छन् । पहिलोले घाँस, दाउरा, पानी र दोस्रोले हलेसी नभएकोमा दुःखेसो पोखेका छन् । पहिलोसँग घाँस, दाउरा र पानी नभए पनि हलेसी छ । हलेसीलाई पूर्वको पशुपतिनाथ भन्नेको बाहुल्य छ । दोस्रोसँग घाँस, दाउरा, पानी सबै–सबै भए पनि हलेसी छैन । हलेसी नभएकोमा उनलाई अभाव अनुभूति भएको छ ।

हलेसी–तुवाचुङ नगरपालिका खोटाङमा हलेसीमात्रै छैन । हलेसीजस्तै अन्य थुप्रै पर्यटकीय स्थल छन् । नगरपालिकाभित्र तुवाचुङ, हलेसीगढी, खाम्तेलगढी र भुम्जुगढी छन् । त्यतिमात्रै होइन, हलेसी–तुवाचुङ नगरपालिका–९ सल्लेमा सल्लेपोखरी छ । खानेपानी अभाव रहेको ठाउँमा प्राकृतिक पोखरी हुनु त्यत्तिकै अनौठो मानिएको छ । सल्लेको चिचिङ्गामा रैछाकुले (किराती पुर्खा) ले रोपेको आँप फल्न छाडेको छैन ।

हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खौलेमा सुत्केरीढुंगा र गुप्तेश्वर गुफा रहेको छ । हलेसी–तुवाचुङ नगरपालिका–७ मा हलेसीमा महादेव गुफा, बसाहा गुफा, भैरव गुफालगायत थुप्रै गुफा छन् । हलेसी, अर्खौले र सल्लेको सिमानामा तुवाचुङ रहेको छ । किरात राई समुदायले तुवाचुङलाई किरात संस्कृतिको उद्गमस्थल र आदिम भूमि मान्दै आएका छन् ।

तुवाचुङ

हलेसी–तुवाचुङ नगरपालिका–६ मंगलटारमा सत्यश्वर गुफासम्म पुग्नेको कमी छैन भने हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिममा हलेसीगढी, हलेसीका प्रथम कविला होलेसुङ दरबारको भग्नावशेष र उनको चिहानसमेत रहेको छ । हलेसीका प्रथम कविला होलेसुङदेखि अन्तिम कविला भ्वाँरामसम्मले प्रयोग गरेका तरवारलगायतका ऐतिहासिक र लोपोन्मुख सामग्री स्थानीयले सुरक्षित राखेका छन् ।

हलेसीगढीमा रहेको भ्वाँरामको भग्नावशेष दरबार, उनका मन्त्रीहरू बस्ने दरबार, होलेसुङ चौतारी, भीमसेनस्थान, भ्वाँरामले प्रयोग गरेका तरवार राखेको ठाउँ कहाँ पर्छ भनेर सोधखोज गर्ने बढ्दै छन् । दुर्छिम भन्ज्याङको घुमाउनेडाँडामा हिमालदेखि तराईसम्म पाइने रूख हेर्न सकिन्छ । एउटै डाँडामा हिमालदेखि तराईसम्मको रूख हेर्न पाउँदा को नरमाउलान् ? दुर्छिमकै ताराखसे जंगलमा ताराखसे र किरातेश्वर गुफा रहेको छ ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिधार्मिकस्थल हलेसी पुगेका आन्तरित तथा बाह्य पर्यटकलाई नगरपालिकाभित्रका अन्य पर्यटकीयस्थलसम्म पुर्याउन सके पर्यटन प्रवद्र्धनसँगै स्थानीयको आयस्रोत बढ्ने नै भयो ।

हलेसी पुगेका पर्यटकलाई पहाडको पोखरीको माछा खुवाउन सल्ले पुर्याउन सकिन्छ । सल्ले पुग्नेले खोचिलिप्पा पोखरी नपुगे यात्रा अधुरो रहन्छ । भुम्जुगढी पुगेका पर्यटकले एकैठाउँ बसेर सुनकोसी र दूधकोसी अवलोकन गर्न पाउनेछन् । सुनकोसी र दूधकोसीमा र्याफ्टिङ, अल्ट्रा र्याफ्टिङ सञ्चालन गर्न सकिन्छ । भुम्जुबाट सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ ।

गुप्तेश्वर

नगरभित्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीयस्थललाई सिँगार्नमात्रै जाने सम्बन्धित स्थानीयलाई यहीं कोरिया हुनेछ । तुवाचुङलाई सांस्कृतिक पार्कका रूपमा विकास गर्न नगरले आवश्यक पहल थाल्ने भएको छ । च्यास्मिटारको भुम्जुबाट मंगलटार, दुर्छिमको हलेसीगढी, तुवाचुङ हुँदै राजापानीसम्मको ट्रेकिङ र हलेसीबाट तुवाचुङसम्मको हाइकिङको सम्भाव्यता अध्ययन गरी पर्यटन पवद्र्धन गरिँदै छ ।

हलेसी क्षेत्रका प्रथम कविला होलेसुङको सम्झना पार्क निर्माणकार्यलाई मूर्त रूप दिनु नै छ । हलेसीगढी पुगेकालाई पर्यटकलाई पार्कमा अल्मलाउन सकिन्छ । पार्क पुगेकाले घुम्न र मनोरम दृश्य नियाल्नुका साथै स्थानीय पहिचान र इतिहासबारे जान्न पाउनेछन् । पार्कमा स्थानीय पहिचान, संस्कृति झल्कने बोटबिरुवा र फूल रोपिनेछन् । रोपिएकामध्ये प्रत्येक फूल प्रत्येक महिना फुलिरहेका हुनेछन् । पार्कमा असारे, करबिरे, गुराँस, पैयुँ, लालुपाते, पारिजात, कागती, चिउरी, आरू, चेरी, चुवा, शिरीषलगायत रूख जातका फूल रोपिनेछन् । पार्कमा फुलिरहने फूलका सुगन्धले जोकोहीको मन रोमाञ्चक बनाउनेछ । पार्कले वातावरण संरक्षणमा समेत सघाउन पुर्याउनेछ ।

हलेसी–तुवाचुङ नगरपालिकामा कृषि पर्यटनको त्यत्तिकै सम्भावना छ । हलेसी पुगेका पर्यटकलाई दुर्छिम साल्तेम्माको किनामा, चुमाखुको बदाम, राबुको सुन्ताला, मंगलटारको गुन्द्रुक, हलेसीको गहत, च्यास्मिटारको मकैभटमास, सल्लेको माछाको स्वाद चखाउन सकिन्छ ।

समय छ भने पर्यटकलाई चुमाखु पुर्याएर आफैं बदाम खनेर चाहेजति खाने र लैजाने व्यवस्था मिलाउन सकिन्छ । गुन्द्रक कसरी बनाइन्छ भनेर हेर्न मंगलटार पुर्याउन सके तरकारी किसान खुसी हुने थिए । आफैंले मकैभटमास भुटेर खाने रहर गर्नेलाई च्यास्मिटार पुर्याउँदा स्थानीय कति खुसी हुँदा हुन् । आफ्नै हातले सुन्ताला टिपेर खान रहर गर्नेलाई राबु र आफ्नै हातले बल्छीमा पारेको माछा खान चाहनेलाई सल्लेपोखरी पुर्याएपछि कृषि पर्यटन उकालो नलाग्ने कुरै छैन ।

(लेखक, हलेसी तुवाचुङ नगरपालिकाका मेयर हुन् ।)

प्रतिक्रिया दिनुहोस्