पञ्चायतकालमा जातीयता जनाउने शब्द कतै प्रयोग भइहाले प्रशासनको आँखीमात्र होइन, जेलको छिँडीतिरै पठाइदिन्थे । थाहा हुँदाहुँदै पनि राज्यबाट धूलो सम्झिइएका आदिवासी कलमवीरहरूले दुस्साहस गरे । त्यही पंक्तिमा उभिएका पत्रकार हुन्– घल राई । पूरा नाम घलराम राई हो । पाछा बान्तवा दुब्देङहाङ ।
‘स्वर्गीय घल राई स्मारिका’ प्रकाशित छ । स्मारिकामा भाषाशास्त्री अमृत योञ्जन तामाङले लेखेका छन्, ‘कोङ्पीको पहिलो अंक २०३७ कात्तिकमा निस्केको थियो । ३४औं अंक ०४३ असारमा प्रकाशित भएको थियो । त्यो नै अन्तिम अंकका रूपमा देखिएको छ ।’ जुन पत्रिकाको प्रकाशक सम्पादक उनै घल राई थिए ।
पंक्तिकारले ‘लिब्जु–भुम्जु’ रजत अंक (पूर्णांक–२५, वर्ष १२, अंक १, वैशाख–असार ०६१) लाई ‘आमसञ्चार सञ्जालमा किरात राईहरूको प्रतिनिधित्व’ विशेषांक प्रकाशनक्रममा घल राईलाई खोजी गर्दै उनकै होटल गोंगबु पुगेका थिए । मातृभाषा, लिपि, जाति, संस्कृति, जातिप्रतिको सशक्त आवाज दिएकैले पंक्तिकार स्वयम्ले उनको खोेजी गरेका थिए । ०३२ असोजदेखि ०६१ वैशाखसम्म सूचना विभागको रेकर्डमा घल राई युगध्वनि साप्ताहिक (२०३९) सम्पादक/प्रकाशक उल्लेख छ । यद्यपि, ‘कोङ्पी’ मासिक जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५३/०३७/०३८ मा दर्ताप्राप्त थियो ।
‘लिब्जु–भुम्जु’ रजत अंकको आवरणमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हासिल गर्ने नेपालकै पहिलो लालध्वज देउसा राईको फोटो राखिएको विशेषांक विमोचन समारोहमा घल राईलाई पंक्तिकारले निम्ता दिएका थिए । निम्ता स्वीकार्दै उनी उपस्थित भए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका तत्कालीन उपाध्यक्ष प्रा. सन्तबहादुर गुरुङको प्रमुख आतिथ्य, भाषाशास्त्री डा. नोवलकिशोर राई, डा. माधव पोखरेल, डा. चूडामणि बन्धुलगायतको उपस्थिति रहेको समारोहमा उनले पत्रकार हुँदाको पीडा र त्यसपछि अन्य पेसामा लाग्नुपरेको बाध्यता र धेरै वर्षको अन्तरालमा किरात राई पत्रकारबाट पाएको निम्ता स्वीकारी सार्वजनिक हुन पाएकोमा अत्यन्तै गौरवान्वित भएको अभिव्यक्ति दिएका थिए । ०६४ मा पंक्तिकारकै अध्यक्षतामा किरात राई पत्रकार संघ गठन भयो । संघले ०६६ चैत २० गते सम्मान गर्दा उनले भनेका थिए, ‘मेरो जीवनको सबैभन्दा पहिलो सम्मान हो ।’
स्नातक हासिल घल राई ‘पारुहाङ’ मासिक (२०३७), ‘मुन्धुम’ मासिक (२०६१) को समेत सम्पादक थिए । यसैगरी अन्तर्वार्ता, न्युलाइट र जनजागृति साप्ताहिक पत्रिकासँग समेत सम्बद्ध थिए । श्यामराज दुब्देङहाङ जीवित हुँदा भनेका थिए, ‘घलको जीवनयात्रा २० वर्ष विद्युत् प्राधिकरणको नासु, १० वर्ष पत्रकार र पाँच वर्ष व्यापारी भएर बित्यो ।’ राजनीतिक रूपमा रामराजाप्रसाद सिंह अध्यक्ष रहेको जनवादी मोर्चाको बुद्धिजीवी प्रमुख थिए ।
१९९९ चैत १४ गते साबिक सिन्द्राङ–६ याङ्खला भोजपुरमा जन्मेका घल राईको निधन ०६७ साउन २७ गते काठमाडौंमा भएको थियो ।