चरासँग सरकारले हारेको त्यो युद्ध



पहिलो विश्वयुद्धपछि अस्ट्रेलियाली सरकारले अस्ट्रेलियाली र बेलायती सेना (केही)बाट अवकाश पाएका सैनिकलाई खेतिपाती गर्न मुलुकको पश्चिमी क्षेत्रमा रहेको फराकिलो सुक्खा जमिन उपलब्ध गरायो । अवकाश पाएका सैनिक खेतिपाती गर्न थाले ।

सन् १९२९ मा अमेरिकी सेयर बजार ओह्रालो लाग्दा विश्वव्यापी रूपमा आर्थिक संकट आइलाग्यो । ‘ग्रेट डि प्रेसन’ नामले चिनिने आर्थिक संकटले महामन्दी ल्यायो । महामन्दीको असर अस्ट्रेलियामा समेत प¥यो । लगत्तै सरकारले अवकाश पाएका सैनिकलाई गहुँखेतीसमेत थप्न आदेश दिए । सरकारले उनीहरूलाई प्रोत्साहित गर्न आर्थिक सहयोग गर्ने वाचासमेत गर्न पछि परेन ।

सरकारले गरेको आह्वान पूरा गरिए पनि उत्पादित गहुँले उचित मूल्य पाएन । गहुँको मूल्य घट्दै गयो । गहुँ काट्न तयार भए पनि सरकारलाई उपलब्ध नगराउने किसानले चेतावनी दिइरहे । त्यसैताका झन्डै २० हजार इमु चरा किसानको बारीमा पसे । इमु अस्ट्रेलियामा मात्रै पाइने उड्न नसक्ने चरा हो । प्रतिघन्टा ५० किलोमिटर गतिमा दौडन सक्ने इमु सालिन्दा प्रजननपछि ठूलो समूहमा भित्री क्षेत्रबाट समुद्री तटतर्फ बसाइँ सर्छन् । बसाइँ सर्नेक्रममा इमु गहुँबारी पसे । उनीहरूले गहुँमात्रै खाएनन्, लगाइएका तारबार भत्काइदिए । तारबार भत्केपछि अन्य जनावरसमेत गहुँबारी पसे । किसानको मिहिनेत धरापमा पर्यो । किसान हतासिए । भूपूसैनिक भएकाले उनीहरूलाई हतियार चलाउन आउँथ्यो । उनीहरूले चरा धपाउन सरकारसँग मेसिनगन मागे । सरकारले हतियार दिनुको सट्टा सेनाकै नेतृत्वमा इमु चरामाथि सैन्य कारबाही गर्ने बतायो । नभन्दै अस्ट्रेलियाली सेनाका मेजर मेरिडिथको नेतृत्व दुई ल्युबिस मेसिनगन र १० हजार राउन्ड गोलाबारुदसहित इमु चराविरुद्ध युद्ध गर्न पश्चिमी अस्ट्रेलिया पुग्यो ।

सन् १९३२ नोभेम्बरमा ‘इमुविरुद्धको युद्ध’ सुरु भयो । सैनिनिकले हजारौंको संख्यामा रहेका इमुको समूहलाई घेराबन्दी गर्ने प्रयास गरे । प्रतिघन्टा ५० किमिको रफ्तारमा दौडने इमुलाई घेराबन्दीमा पार्ने प्रयास सफल भएन । युद्धको चौथो दिन इमुको नीति देखेर सेनाहरू अचम्मित भए । छुट्टाछुट्टै समूह बनाएर इमु दक्षिणतिर लागिरहेका थिए । प्रत्येक समूहमा उनीहरूको एक–एक नाइके हुन्थे । प्रत्येक समूहका इमु नाइकेको गति र चालको निर्देशनअनुसारै अघि बढ्थे । सेनाले ट्रकबाट इमुमाथि आक्रमण गर्ने प्रयास गर्थे तर इमुभन्दा कम गतिमा गुड्ने ट्रकबाट लगाइएको निशाना चुकिरहे ।

चरासँग सरकारको छैटौं दिनको युद्धमा दुई हजार पाँच सय गोलाबारुद सकिइसकेको थियो । त्यतिन्जेलसम्म मुस्किलले ५० वटा इमु मारिए । यत्तिका गोलाबारुद खर्चिंदासमेत उपलब्धि शून्यबराबर भएपछि सदनमा सो विषयमा आलोचना भयो । लगत्तै मेजर मेरिडिथ नेतृत्वको सैन्य दललाई फिर्ता बोलाइयो । फिर्ता भएपछि मेजर मेरिडिथले भने, ‘इमु चराले गोली चलाउने क्षमता विकास गर्न सक्ने भए गतिलो सैन्य डिभिजन बन्थ्यो । जसले संसारको जुनसुकै युद्धको सामना सजिलै गर्न सक्थ्यो ।’

सेना फिर्ता भएपछि इमु फेरि गहुँबारी पस्न थाले । किसानले सरकारसँग फेरि सहयोग मागे । पश्चिमी अस्ट्रेलियाका प्रिमियर जेम्स मिचेलले सैन्य सहयोग गर्ने पुनः प्रतिबद्धता जनाए । बेस कमान्डरको रिपोर्टको प्रारम्भिक अभियानमा तीन सय एमु मारिएको उल्लेख छ । यसैगरी, पोर्ट र किसानको आग्रहका आधारमा १९३२ नोभेम्बर १२ मा रक्षामन्त्रीले पुनः युद्ध घोषणा गरे ।

सेनाले १९३२ नोभेम्बर १३ मा एमुलाई लक्षित गरी आक्रमण थाल्यो । पहिलो दुई दिनमा ४० एमु मारिए । सैनिकले डिसेम्बर २ सम्म प्रत्येक साता १०० एमु मार्न थाले । मेजर मेरिडिथले डिसेम्बर १० मा ९८६ एमु मारिएको र दुई हजार पाँच सय घाइते एमुसमेत मरेको दाबी गरे । १९३५ मा प्रकाशित एक आलेखमा लेखिएको छ, ‘मेसिनगन प्रयोग विवादित भए पनि यो गहुँ जोगाउन प्रभावकारी साबित भयो ।’

१९३२ डिसेम्बरको अन्त्यतिर लगभग दुई हजार पाँच सय मारिए पनि धेरै इमु बाँचेकै थिए । अभियानको खर्च र परिणामको तुलनामा सो युद्ध असफल ठहरियो । अन्ततः इमुविरुद्धको सैन्य कारबाही असफल घोषित गरियो । चरासँगको युद्धमा घुँडा टेकेपछि अस्ट्रेलियाली सरकारले इमु नियन्त्रण गर्दै किसानको बाली जोगाउने अन्य विकल्प खोजी गर्यो । इमु मारेर प्रमाण पेस गर्नेलाई सरकारले निश्चित रकम दिने घोषणा गर्यो । यो विधि प्रभाकारी साबित भयो ।

त्यसपछि ?

सरकारले खेतबारीमा बलियो बार लगाउन प्रोत्साहन गर्यो । केही किसानले बालीको ढाँचा परिवर्तन गरे । इमु नपुग्ने क्षेत्रमा खेती थाले । उल्लिखित उपायले क्षति कम गर्न सघाउ पुर्यायो । ‘इमु युद्ध’ सुन्दा वा पढ्दा हास्यास्पद लाग्न सक्छ । तर, अस्ट्रेलियाको सो युद्धले मानिस र वन्यजन्तु व्यवस्थापनमा स्थानीय ज्ञान, वैज्ञानिक अनुसन्धान र संवेदनशील नीति अपनाएरमात्र सन्तुलन कायम राख्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह गरेको छ । प्रकृति बुझेर काम गर्न सकेनौं भने भविष्यमा थुप्रै चनौती सामना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्