किरात राई समुदायको स्वाधीन किरात राज्य रहेको बेला स्थापित विभिन्न गढीमध्ये खोटाङ गढी पनि एक हो । खोटाङको पुरानो सदरमुकाम खोटाङबजारमा यो गढी रहेको छ । गढीबारे व्यवस्थित अध्ययन हुन सकेको छैन । यद्यपि स्थानीय बुढापाका तथा जानकार व्यक्तिसँग सोधपुछ गरी बुझ्ने प्रयत्न गरिएको हो । खोटाङको पुरानो सदरमुकाम रहेको ठाउँ र राणा शासनकालमा प्रशासनिक तथा न्यायिक काम गर्ने इलाका अदालतसमेत रहेको ठाउँको चर्चा गरे पनि ऐतिहासिक खोटाङ गढीबारे उल्लेख्य सामग्री प्रकाशनमा आएको पाइँदैन ।
गढीको ऐतिहासिक आधार
माझकिरातमा स्थापित विभिन्न गढीको ऐतिहासिक आधार खोज्दै जाँदा धेरै अगाडिको समय खोतल्नुपर्ने देखिन्छ । इतिहासमा पुराण तथा महाभारतकालमा समेत नेपालमा किरात जनपथ वा स्वराज्य रहेको प्रमाण भेटिन्छ । कोसी क्षेत्रको पहाडको खण्डमा सातौं शताब्दीदेखि नै किरातीको समूहगत क्षेत्र थियो । संवत् १८२९ को अन्त्यतिर पृथ्वीनारायण शाहले माझकिरात जित्नुअघि सेन राज्य अधिनस्थ र स्वशासित क्षेत्रमा किरात राईको शासन चलेको पाइन्छ । संवत् १८२९ मा पृथ्वीनारायण शाहले माझकिरातमा पठाएको फौजले अरूझैं खोटाङ गढीमा आक्रमण गरेको थियो । खोटाङ गढीबारे जानकार सिम्पानीका काशी राईका अनुसार खोटाङ गढीमा चाम्लिङ राईअन्तर्गतका ‘खोतेहँछा’का सन्तान स्थानीय शासक थिए । ‘खोतेहँछा’ चाम्लिङ राईको नामबाट ‘खोतेहँ’ हुँदै खोतेहाङ र कालान्तरमा खोटाङ भएको राईको भनाइ छ ।
खोटाङ गढीबारे अर्का जानकार जसबहादुर राई (उदयपुर)का अनुसार यस क्षेत्रमा ‘खोतेह“छा’ चाम्लिङ राईको बाहुल्य थियो । खोतेहँछाका सन्तानले स्थानीय शासक भई कति क्षेत्रमा शासन सञ्चालन गर्थे भन्ने ठोस प्रमाण भेटिँदैन । पृथ्वीनारायण शाहले खोटाङ गढीमा फौज पठाएपछि स्थानीय दोभासेमार्फत खोटाङ गढीका तत्कालीन किराती शासकलाई आत्मसमर्पण गर्न प्रस्ताव पठाए पनि प्रस्ताव अस्वीकार भएपछि लडाइँ भएको स्थानीय बुढापाकाले सुनाउँदै आएका छन् । खोटाङ गढी आक्रमणपछि भागेका किरात सेनालाई सावाखोलानजिक रहेको एक टारमा मारिएको बुढापाकाहरू बताउँछन् । त्यो टारमा तत्कालीन किरात सेनालाई तारो हानेर मारिएदेखि त्यस ठाउँलाई ‘राईटार’ भनिएको काशी राईले जानकारी गराए ।
खोटाङ गढी आक्रमणमा खार्पाका हरिनन्द पाध्याले सघाएको स्थानीय बताउँछन् । यस गढीमा विजय हासिलपछि पृथ्वीनारायण शाहले खार्पाका हरिनन्द पाध्यालाई खोटाङको मुसाबारीस्थित खेत विर्ता दिएको पाइन्छ ।
खोटाङ सदरमुकाम दिक्तेलदेखि १४ कोस दक्षिणमा रहेको खोटाङ बजारमा राणाकालमा मझुवाथुम, आमचोकथुम, खोटाङथुम, छुलुवारथुम, सावाथुम, दिप्रुङ, मार्सेथुम, चुइचुम्माथुम र रतन्छाथुमको मुद्दा हेर्ने गरी अदालत सञ्चालनमा थियो । खोटाङबारे जानकार काशी राईका अनुसार संवत् १९९३ इलाका अदालत स्थापना भएको थियो । त्यसअघि नै खोटाङमा गोश्वारा (छोटी अड्डा) स्थापना भइसकेको राईले बताए ।
गढीको अवस्था
समुद्र सतहदेखि १,२२५ मिटर उचाइमा गढीको रहेको छ । यसको प्रस्ट संरचना देखिँदैन । पूर्वमन्त्री केदार राईका बुवाले भनेको सुन्दै आएअनुसार हालको भगवती–दीनानाथ क्याम्पसको उत्तर–पूर्वी डाँडामा गढी रहेको प्रेमकुमार राई (इन्द्रेणीपोखरी) बताउँछन् । गढी रहेको ठाउँमा इलाका प्रहरी कार्यालय र नेपाल टेलिकमको टावर बनेको छ । खोटाङको चर्चित टुँडिखेल उत्तरमा गढीको मुख्य क्षेत्र रहेको देखिन्छ । संरक्षण अभाव र राणाकालपछि बनेको संरचनाका कारण गढीको आकार कस्तो थियो एकिनसाथ भन्न सकिँदैन । टुँडिखेल पूर्वको करिब दुई सय मिटर लम्बाइ र सय मिटर चौडाइ रहेको खोटाङ गढीको कुल क्षेत्रफल कति थियो भन्न सकिँदैन । संवत् १८२९ पूर्वको किरातकालमा टुँडिखेल बनेको हो ? वा पछि कसैले भन्न सकेका छैनन् । भौगोलिक र सामरिक महत्वको हिसाबले टुँडिखेल रहेकोसमेत भू–भागमा गढीको पूरा क्षेत्र हुन सक्ने देखिन्छ । टुँडिखेलसमेत जोड्दा डाँडाको वारपार पाँच सय मिटरजति क्षेत्रमा गढी रहेको हुन सक्छ ।
राणा शासन अन्त्य गर्न मुक्ति सेनाका नेतृत्व गरेका रामप्रसाद राईले संवत् २००३–२००६ सम्म तत्कालीन खोटाङका लप्टन भएर कमान्ड सम्हालेका थिए । राईअघिका ओखलढुंगाका लप्टन लालबहादुर कार्कीले गढी भनिएको क्षेत्र आफ्नो नाममा १९९९ तिर बिजन दर्ता गरेको पाएपछि राईले सार्वजनिक सम्पत्ति कसरी व्यक्तिको हुन्छ भनी हलोकिलो हटाएका थिए ।
गढीप्रति राज्यको चासो
पृथ्वीनारायण शाहको राज्य विस्तारपछि एकात्मक केन्द्रीकृत राज्यसत्ता सञ्चालन भएका कारण किरात राईको इतिहाससँग सम्बन्धित ऐतिहासिक स्थलमा पर्ने विभिन्न गढी अतिक्रमण भएको पाइन्छ । गढीको चिनोबानो नराखी नया“ संरचना बनाइनुले नेपालकै ऐतिहासिक स्थलमा पर्ने खोटाङ गढीको नामोनिशान हराउने स्थितिमा पुगेको छ । ऐतिहासिक स्थल संरक्षण गर्दा पर्यटन तथा पुरातात्विक अध्ययनका लागि सहयोग पुग्ने देखिन्छ । यसप्रति राज्यको ध्यान जान जरुरी छ ।
निष्कर्ष तथा सुझाव
पुरातात्विक तथा ऐतिहासिक महत्वको दृष्टिले खोटाङ गढीको जुन गरिमा हुनुपर्ने हो, यसप्रति कसैको चेत खुलेको देखिँदैन । ऐतिहासिक स्थल राज्यका सम्पत्ति हुन् । राज्यले ऐतिहासिक स्थललाई समान महत्व दिनुपर्ने हो । तर, पूर्वाग्रह र पक्षपाती राज्यको दृष्टिकोणले यस्ता कैयौं महत्वपूर्ण स्थान गुमनाम हुने अवस्थामा पुगेको छ । त्यसैले खोटाङ गढीको खोज अन्वेषण हुन आवश्यक छ । यसका लागि सरोकारवालाको चेत खुल्न जरुरी छ ।