नेविसंघ कक्षा इकाइ सदस्यदेखि उपमेयरसम्म



हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउत पाटन संयुक्त क्याम्पस पाटनढोका प्रवेश गर्दा १७ वर्ष टेकिसकेका थिए । उपमेयर राउत आईएमा भर्ना भए । नजानिँदोपाराले राजनीशास्त्रमा चासो लिन्थे । आफूले लिएको चासो फुलाउन प्रयत्न गरे । जुनसुकै काम गर्नअघि प्रयत्न गर्दामात्रै पनि आधा पूरा हुन्छ भन्ने भनाइ छ । सो भनाइ व्यवहारमा उतार्न जाँगरिलो बने ।

नभन्दै पाटन क्याम्पस, नेपाल विद्यार्थी संघ कक्षा इकाइ सदस्यको जिम्मेवारी पाए । यो संवत् २०६३ तिरको कुरा हो । राजनीतिक यात्राले निरन्तरता पायो । क्याम्पस इकाइ सदस्यबाट सहसचिवको जिम्मेवारी थपियो । इकाइ सदस्य भएको तीन वर्षपछि सहसचिवमा पदोन्नति भए । इकाइ समिति सदस्य र सहसचिवको भूमिका निर्वाह गरिसकेका उनलाई पुनः इकाइ सदस्यमा मनोनीत गरियो ।

त्यतिबेला नेविसंघ अध्यक्ष प्रदीप पौडेल थिए । अध्यक्ष पौडेलको निर्णयलगत्तै पाटन संयुक्त क्याम्पसमा विद्रोही इकाइ समिति बन्यो । रमेश राउत सो समितिका सचिव थिए । यो संवत् ०६९ को कुरा हो । ०७१ मा भएको अधिवेशनपछि उनी पुनः आधिकारिक समितिको सचिव बने । लामो समय अधिवेशन नभएकाले ०७९ सम्म उनी सचिवै थिए । ‘अध्यक्ष दीपेन बान्तवा थिए । बान्तवा सहमहामन्त्री बने,’ उनले जानकारी गराए, ‘बान्तवा सहमहामन्त्री भएपछि अध्यक्ष पद खाली रह्यो । म विधिवत् अध्यक्ष नबने पनि अध्यक्ष र सचिवको काम आफैंले निर्वाह गरें । यो क्रम ०७४ सम्मै चल्यो । ०७९ मा क्याम्पस समिति पुनर्गठन भयो । त्यतिन्जेल विधिवत् रूपमा मेरो पदलाई कसैले प्रतिस्थापन गरेनन् ।’

विभिन्न शीर्षकमा स्ववियु निर्वाचन हुन सकेन । स्ववियु निर्वाचनभन्दा पहिले स्थानीय तह निर्वाचन भयो । राजनीतिका विद्यार्थीलाई निर्वाचन भनेको राष्ट्रिय महोत्सवजस्तै हो । नेता बन्ने झोंक चलिरहेको बेला स्थानीय तह निर्वाचनमा गाउँबाट निम्ता गरिएपछि नाइँ भन्न सकेनन् । राष्ट्रिय महोत्सव अर्थात् स्थानीय तह निर्वाचनमा सहभागी हुने इच्छा गरे । इच्छा पूरा गर्न हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको वडाध्यक्षमा उम्मेदवारी दिए । नभन्दै विजयी भए । वडाध्यक्षको भूमिका कुशलतापूर्वक पूरा गरेपछि उपमेयरमा उम्मेदवारी दिए । उपमेयरमा समेत बाजी मारे ।

अधिवक्ताको ‘लाइसेन्स’ प्राप्त उपमेयर राउत अन्ततः राजनीतिको मूलबाटोमै डोरिए । ‘एसएलसी उत्तीर्ण गरेपछि म आईएल पढ्न काठमाडौं पुगें । राजनीतिशास्त्र पढ्ने त्यत्तिकै रहर थियो,’ उनले जानकारी गराए, ‘तर, पढ्न पाइनँ । आईएल फेजआउट भइसकेको रहेछ । तसर्थ, आईएल ‘फेजआउट’ भइसकेकाले पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुरमा भर्ना भएँ । कानुन पढ्न नपाएपछि राजनीतिशास्त्र रोजें ।’

स्नातक तह अध्ययन पूरा गरेपछि स्नातकोत्तर र एलएलबी अध्ययन सँगै थाले । एलएलबी पूरा गरेपछि अभ्यासका लागि कुमारीपाटी ललितपुरमा ल फर्म खोले ।

आईएदेखि एमएसम्मको अध्ययन ललितपुरको पाटन क्याम्पसबाट पूरा गरेका रमेश राउतले पहिलो स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवारी दिँदा कानुन व्यवसायीका रूपमा काम थालिसकेका थिए । राउतलाई अधिवक्ताको भूमिकाभन्दा वडाध्यक्षको उम्मेदवारी आकर्षक लाग्यो । सनकमात्रै नभएर उनले विवेकसम्मत निर्णय गरेका थिए ।

त्यही बीचमा काँग्रेस खोटाङ क्षेत्रीय सदस्यका रूपमा काम गर्ने अवसर पाए । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार खोटाङनिवासी उपमेयर रमेश राउत विद्रोही स्वभावका छन् भन्दा पाठकवृन्दलाई आश्चर्य लाग्ला । उपमेयर राउतको विद्रोही स्वभाव पाटन संयुक्त क्याम्पस ललितपुरमा पोखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्