दुर्छिम (खोटाङ) । पर्यटन, वन तथा वातावरणमन्त्री पाँचकर्ण राईको स्वकीय सचिवमा रम्बो राई नियुक्त भएका छन् ।
अनेरास्ववियु जिल्ला कमिटी खोटाङ सदस्य राईले पर्यटन, वन तथा वातावरणमन्त्री राईको स्वकीय सचिवको भूमिका पाएका हुन् ।
तीन वर्षदेखि ‘नमुना युवा संसद्’ कार्यक्रममा सहभागी हुनुका साथै प्रशिक्षणसमेत दिँदै आएका उनी शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र युवासम्बन्धी अर्थपूर्ण काम गर्दै आएका छन् । उनले विद्यार्थी, महिला, बालबालिकाका अधिकारका निम्ति देखिने काम गर्दै आएका छन् ।
विभिन्न प्रकृतिका जनचेतनामूलक कार्यक्रम गर्दै आएका उनले १९ उमेरमै पृथक र लोभलाग्दो पहिचान बनाइसकेका छन् । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, घुर्चु खोटाङनिवासी उनले कानुन विषयमा दस जोड दुई उत्तीर्ण गरेका छन् । सोही विषयमा चक्रवर्ती हबी एजुकेसन एकेडेमी, बिजुलीबजार काठमाडौंमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत छन् ।
सारथि युवा नेपाल महासचिव उनले महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीबाट एसईई उत्तीर्ण गरेका थिए । पूर्वेली कानुन विद्यार्थी मञ्च सचिवसमेत रहेका उनले आदर्श जनप्रेमी अंग्रेजी मावि कौशलटार भक्तपुरबाट दस जोड दुईको अध्ययन पूरा गरेका थिए ।
राष्ट्रिय किशोर सञ्जाल, कोसी प्रदेश सदस्य रम्बो राईले युवा र विद्यार्थीमैत्री कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यतिमात्रै होइन, शैक्षिक अधिकारका निम्ति आन्दोलनमा गर्विलो उपस्थिति जनाउनुका साथै विभिन्न पत्रपत्रिका र अनलाइन म्यागेजिनमा आलेखसमेत लेख्ने गरेका छन् ।