त्यतिबेला खोटाङबाट काठमाडौंसम्म पुगेर उच्च शिक्षा हासिल गर्ने हैसियत धेरैको थिएन । उच्च शिक्षा हासिल गर्ने सन्दर्भमा कसैले सोधिहालेमा काठमाडौं गएर राजनीतिशास्त्र र कानुन पढ्छु भन्थे । गाउँ (हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार) खोटाङमै रहँदा आफूले व्यक्त गर्ने उद्देश्यबाट विचलित भएनन् । एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्रसहित एक झोला सपना बोकेर काठमाडौं पसे ।
कानुन विषयमा उच्चशिक्षा हासिल गर्ने उत्कट रहर भए पनि सम्भव भएन । आईएल ‘फेजआउट’ भइसकेकाले पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुरमा भर्ना भए । कानुन पढ्न नपाएपछि राजनीतिशास्त्र रोजे । आईएमा दिउँसोको कक्षा लिन्थे । दिउँसो आन्दोलन धेरै हुन्थ्यो । जनआन्दोलन–२ को रापताप छँदै थियो । दिउँसोको पढाइभन्दा रातिको राम्रो हुन्थ्यो । उनले दिउँसो र रातिको दुवै कक्षा लिन्थें । क्याम्पसबाट कोठा फर्कंदा रातिको ९ बज्थ्यो । दुई वर्षमै मिहिनेतको फल पाक्यो । द्वितीय श्रेणीमा आईए पास गरे । एसएलसीमा गणित विषयमा अनुत्तीर्ण उनले आईए खुरुखुरु पास गरे ।
बीएमा समाजशास्त्र र जनसंख्या पढे । संवत् २०६४/०६५ मा बीए पास गरिसकेका थिए । बीए पास गरेपछि रहरका ढोका खुले । लगत्तै नेपाल ल क्याम्पसमा बीएल र पाटनमै समाजशास्त्रमा एमएमा भर्ना भए । ल क्याम्पसमा दिउँसो पढाइ हुन्थ्यो । एमए र बीएको एकैपटक कक्षा लिँदा खाना खानसमेत भ्याइनभ्याई हुन्थ्यो ।
हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले राजनीतिशास्त्रमा समेत एमए गरेका छन् । उपमेयर राउतले प्राइभेट क्याम्पसबाट राजनीतिशास्त्रमा एमए गरेका हुन् । ‘समाजशास्त्रमा द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । फर्स्र्ट डिभिजनमा पास गर्न नसकेपछि राजनीतिशास्त्रमा एमए भर्ना भएँ । राजनीतिशास्त्रमा फर्स्र्ट डिभिजनमै एमए पास गरें,’ उनले खुसी व्यक्त गरे, ‘बीएल र समाशास्त्रमा एमए गरिसकेकाले राजनीतिशास्त्रमा एमए गर्न असाध्यै सहज भयो ।’
पहिलो स्थानीय तह निर्वाचनमा मंगलटारको वडाध्यक्षमा उम्मेदवारी दिँदा पढाइ पूरा गरिसकेका थिए । ‘रुचिका विषय अध्ययन गरें । पास गर्न पनि सजिलो भयो । चिट चोर्न प्रयासै गरिनँ,’ उनको भनाइ छ, ‘चिट चोर्दा ढिला हुन्थ्यो । बीएल पढ्दा केही टर्मिनोलोजी लेखेर लैजान्थें । अंग्रेजीमा सोधिएका कानुनका प्रश्न कतिपय अवस्थामा बुझ्न सकिँदैनथ्यो । प्रश्न बुझ्न त्यसो गर्थें ।’
आठ कक्षा पढ्न लक्ष्मी माध्यमिक विद्यालय खोक्सेली बडहरे पुगेपछि चौथो भए । मंगलटारमै पढ्दा एकदेखि सात कक्षासम्म ‘फर्स्र्ट ब्वाई’ गणितमा कमजोर थिए । एसएलसीमा भने ‘फर्स्र्ट ब्वाई’भन्दा उनले धेरै नम्बर ल्याए ।
जनप्रतिनिधि ‘वेल एजुकेटेड’ भएमा सेवाग्राहीलाई सजिलो हुन्छ । सजिलोमात्रै होइन, निकै सजिलो हुन्छ । ‘नबुझ्ने त भइगए, बुझ्ने जनप्रतिनिधिले पनि सेवाग्राहीलाई अर्घेल्याईं गरेको देख्छु । उनीहरूले नकारात्मकलाई बढी प्रश्रय दिइरहेका हुन्छन् । कानुनका सकारात्मक र नकारात्मक दुवै पाटो बोलिरहेको हुन्छ,’ उनले प्रस्ट्याए, ‘काम गर्ने मान्छेले सकारात्मक कुरालाई प्रश्रय दियो भने काम बन्न सक्छ । नकारात्मक पाटो समाइरहे काम बन्दैन । कानुनमा एउटा धाराले हुन्छ भन्छ अर्को धाराले कट्टी गरेर नरम पनि बनाएको हुन्छ ।’
हलेसी तुवाचुङ नगरपालिकाका कतिपय जनप्रतिनिधिले नकारात्मक पाटोमा अड्डी कसेकोमा उनलाई कत्ति पनि चित्त बुझेको छैन । ‘बुझेका कर्मचारी पनि अंकुश लगाउन लागिपर्छन् । त्यो पनि नियतवश । सकारात्मक भएर काम गरेमा अप्ठ्यारो हुँदैन,’ उनले दुःखेसो पोखे, ‘अहिलेकै कतिपय वडाध्यक्षज्यूहरूले कतिपय अवस्थामा कामै रोकिबसेका हुन्छन् । समस्याग्रस्त नभएका काम अघि बढाउँदा भइहाल्छ । यस विषयमा उदार हुनैपर्छ ।’
जनप्रतिनिधि उदार बन्नका लागि ‘वेल एजुकेटेड’ हुनुपर्यो नि । सञ्चार (प्रकाशन/प्रसारण) माध्यमको सम्पादक बन्न बीए पास गरेको हुनुपर्छ । लोकसेवा आयोगले लिने परीक्षामा शैक्षिक प्रमाणपत्रका आधारमा सहभागी हुन पाइन्छ । राजनीतिमा लागेका र लाग्न चाहनेले पनि कम्तीमा बीए पास गरेको हुनुपर्ने प्रावधान राखिएला त ? ‘लेट सी’ ।