मेयर राई अध्ययन तथा अवलोकन भ्रमणका लागि भारत जाँदै


दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई अध्ययन तथा अवलोकन भ्रमणका लागि भारत जाँदै छिन् ।

नेपाल नगरपालिका संघ कोषाध्यक्षसमेत रहेकी मेयर राई नगरस्तरीय दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी पाँचदिने भ्रमण कार्यक्रमका लागि भारत जान लागेकी हुन् ।

दिसाजन्य लेदो व्यवस्थापन परियोजनाअन्तर्गत एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डियाको सहकार्यमा जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले अध्ययन तथा अवलोकन कार्यक्रम आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले जानकारी गराइन् ।

दक्षिण एसियामा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रमा रहेको नीति, नियम, असल अभ्यास तथा स्रोत परिचालनलगायत विषयमा अध्ययन तथा अवलोकन कार्यक्रम आयोजना गरिएको हो ।

साउन २९ देखि भदौ १ गतेसम्म हुने सो कार्यक्रममा नेपालबाट १८ जना मेयर र तीन उपमेयर सहभागी हुनेछन् । कार्यक्रममा ललितपुर महानगरपालिका, धरान र बुटवल उपमहानगरपालिकाका मेयरको सहभागी हुने नेपाल नगरपालिका संघले जनाएको छ ।

संघका अनुसार, हलेसी तुवाचुङ, साँगाचोकगढी, बेलबारी, हंशपुर, मध्यनेपाल, रेसुंगा, गुर्भाकोट र गोदावरी नगरपालिकाका मेयरले अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रममा सहभागिता जनाउनेछन् ।

शारदा, मटिहानी, हरिवन, लम्किचुहा, बूढानीलकण्ठ, रामपुर र तारकेश्वर नगरपालिकाका मेयरसमेत सहभागी हुने पक्कापक्की छ ।

यसैगरी, अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रमका लागि भीमेश्वर, नीलकण्ठ र ठाकुरबाबा नगरपालिकाका उपमेयर भारत जाँदै छन् ।

नेपाल नगरपालिका संघको आयोजनामा युसीएलजी एएसपीएसीको सहकार्य र एन्फोको प्राविधिक सहयोगमा सातै प्रदेशका राजधानीका सहरमा दिसाजन्य लेदो व्यवस्थापन परियोजना सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्