दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर योजना आयोग उपाध्यक्षमा मुन्दुम अध्येता भोगीराज चाम्लिङ नियुक्त भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका नगर योजना आयोग (गठन तथा सञ्चालन) ऐन–२०७९ को दफा ३ को उपदफा (ख) बमोजिम उपाध्यक्षमा मुन्दुम अध्येता चाम्लिङलाई नियुक्त गरिएको हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख बिमला राईले जानकारी गराइन् ।
‘हलेसी तुवाचुङ नगरपालिका सांस्कृतिक तथा ऐतिहासिक नगर हो,’ नगर प्रमुख राईको भनाइ छ, ‘उल्लिखित विधाका जानकार भएकाले भोगीराज चाम्लिङलाई नगर योजना आयोग उपाध्यक्षमा नियुक्त गरिएको हो ।’
नवनियुक्त उपाध्यक्ष चाम्लिङले नगरको सांस्कृतिक र ऐतिहासिक पाटोलाई केन्द्रमा राखेर समग्र विकासको ‘मोडालिटी’ तयार पार्ने प्रतिबद्धता जनाए । ‘सांस्कृतिक नगर भएकाले हलेसी तुवाचुङ नगरपालिकाको संवेदनशीलता र सम्भावना पनि धेरै हुन्छ,’ उनले प्रस्ट्याए, ‘यसलाई समात्न सकिएन भने नगरपालिका ध्वस्त हुन सक्छ । त्यसबाट जोगाउन आयोगसम्बद्धले देखिनेगरी काम गर्नेछ ।’
‘नगर योजना आयोग (गठन तथा सञ्चालन) ऐन–२०७९ पढेको छैन,’ उनले थपे, ‘सांस्कृतिक तथा ऐतिहासिक सम्भावना सही ढंगले ह्यान्डिल गर्न केन्द्रित हुनेछु ।’ पालिकावासीको सामाजिक जनजीवनमा सकारात्मक प्रभाव पार्नेगरी योजना तर्जुमा गर्ने उनको अभीष्ट रहेको छ ।
नगर योजना आयोग अध्यक्षमा नगर प्रमुख बिमला राई रहने प्रावधान छ । नगर योजना आयोगको दुई सदस्य नियुक्त गर्न बाँकी छ । निकट भविष्यमै दुई सदस्य नियुक्त गर्ने नगर प्रमुख राईले सुनाइन् ।