आयस्रोत भनेकै ‘ढाकर’



म १४ वर्षको थिएँ । ६ कक्षामा पढ्थें । घरको दुःखले घेरेपछि पापा (बुवा)सँग भारी बोक्न जाने निधो गरें । घर सल्लाह गर्दा भारी बोक्न कटारी जान पाइनँ ।

घरको अभावबारे बुवाआमा (पापा–मामा) कष्टकर जीवनबारे छलफल गरेको सुनेको थिएँ । मामा भन्थिन्, ‘तिमीहरूको पालनपोषण गर्न, पढाइ खर्च जुटाउन पापाले भारी बोकेर ढाड पिल्स्याउनसम्म पिल्स्याएका छन् । तँलाई थाहा छ ?’ सक्ने भएपछि म पनि भारी बोकेर पापालाई सघाउँछु भन्ने प्रतिउत्तर दिन्थें ।

मामाले बारम्बार यसो भनेपछि असह्य हुन्थ्यो । म कहिले २० धार्नी बोक्न सक्ने हुन्छु भन्ने खुल्दुली लागिरह्योे । २० धार्नी भनेको ५० किलोग्राम हुन्थ्यो । तल्लो, माथिल्लो, वर्तिर, पर्तिरका चिनेजानेको छरछिमेकीका छोराछोरी ५० किलो बोक्न सक्ने भएपछि कोही पनि घर बस्दैनथे । भारी बोक्न हिँडिहाल्थे । आयस्रोत भनेकै ढाकर थियो ।

५० किलो बोक्न सक्ने कसरी थाहा पाउने होला भनेर पिरोलिएँ । गाउँमा खानेपानी आयोजना भर्खर सुरु भएको थियो । जसले दुई टिन बालुवा बोक्छ, उसले ५० किलो अर्थात् बालुवाचाहिँ अझ बढी हुने भएकाले ५० किलोको भारी बोक्न सक्ने दाजुहरूले सुनाउँथे ।

कटारी

दाम्लीबाट डिक्खोला झर्न डेढ घन्टा र फर्कन चार÷पाँच घन्टा लाग्छ । गाउँलेले डिक्खोला पुगेर बालुवा बोकेर दाम्ले ल्याउँथे । सक्नेले दुईपटक बालुवा ओसार्थे । मजस्तालाई दुई टिनको भारी एकपटक ल्याउनै गाह्रो । त्यसरी बालुवा बोक्दा मुस्किलले ७० रुपैयाँ कमाइ हुने भए पनि ६० मात्रै हात लाग्थ्यो । त्यो पैसा कसले किन र केका लागि खाइदिन्थ्यो ? थाहा हुँदैनथ्यो । र पनि, गाउँले चुइँक्क बोल्दैनथे । स्थानीय युवकयुवती पढ्नभन्दा श्रम गर्न रुचाउँथे । श्रम गरेबापत पैसा पाइन्थ्यो । यो आफैंमा अभिशाप हो । शिक्षाविना पैसा कमाउन सजिलो छैन ।

डिक्खोलाबाट दुईपटकमा चार टिन बालुवा ओसार्न सक्नेले १२० रुपैयाँ कमाउँथे । तर पनि उनीहरू सबैभन्दा अपमानित भएर बाँच्न बाध्य थिए । पसिनाको मूल्य गुमाउनुपर्दा सम्बन्धित श्रमिकलाई कति झोंक चल्दो हो ?

मामाले पापासँग भारी बोक्न नपठाउने पक्कापक्की भयो । मैले षड्यन्त्र गर्न थालें । घरको काममा मामालाई नसघाउने निर्णय गरें । पापामामा मूलघरबाट भर्खर–भर्खर छुट्टिएका थिए । ठूली तल्कना, माइली लीला सानै थिए । माइलो भाइ भर्खर जन्मेका थिए । साइँलो निश्चल, कान्छो उज्ज्वल र कान्छी पूर्णिमा जन्मेकै थिएनन् । मुलकुडुल्वाङ (उपोउमो) बाजेबज्यैबाट छुट्टिएर मूलघरको पछाडि पश्चिमपट्टिको गोठमा बाँसको टाँटीले बारेर आधा गाईबस्तु र आधामा हामीले आश्रय लियौं ।

दुई/चार अँगालो घाँसमात्रै काट्दा पनि पापामामालाई धेरै सजिलो हुन्थ्यो । बिहान एक भारी घाँस काटेर स्कुल जानुपथ्र्याे । बेलुका पनि घरवरिपरि घाँस काट्नैपथ्र्याे । उल्लिखित काम ठप्पै पारें । त्यहीताका कान्छा काका नहलकुमार राई भारी बोक्न कटारी जाने भए । मामालाई म पनि जान्छु भनें । मेरो प्रस्ताव सुनेर मामाले जतासुकै जान्छस् जा भनिन् । यो पूर्ण स्वीकृति थिएन । तर पनि म ढाक्रे बन्न राजी भएँ । म कटारी हिँड्ने बेलासम्म पनि मामाले नजा भन्दै थिइन् । म तयारी अवस्थाको डोको, नाम्लो, खकन, टेकन, एउटा थाल, कम्बल बोकेर कटारी झरें । भारी बोक्ने गाउँका थुप्रै थिए । तर मलाई सप्पैले गाली गर्थे, ‘किन हिँडेको ? भारीले थिचेपछि आकाशको तारा देख्लास् ।’ कसैले त मर्न हिँडेको हो भनेर निराश बनाउँथे । ‘अहिले खोलामा पानी घटिसकेको छैन,’ कतिपयले मीठो तरिकाले सम्झाउँथे, ‘केटाकेटीसँग हिँड्न अप्ठ्यारो । तिमीहरूलाई बगायो भने अर्को अप्ठ्यारो आइपर्छ । परदेशमा त्यस्तो घटना घटे राम्रो मानिँदैन ।’

मैले जिद्दी गर्न छाडिनँ । मैले उनीहरूलाई पछ्याइरहेको छु । कटारी झरेका सबैले कराउँथे । काका नहलकुमार राईसमेत कराइरहन्थे । ‘खै के भएर रहर गरेको हो ? घरमै बसेर पढेको भा नि हुने,’ काका गन्गनाउँथे, ‘भाइबहिनीमात्रै हेरिदिएको भए आमाले काम धेरै भ्याउँथिन् । अब हिँडिहाल्यो चाखोस् न ।’

घरदेखि हिँडेको दिन सोरुङखोला फेदीमा बास बसियो । भोलिपल्ट सोरुङखोलाको जँघार तर्दै अघि बढ्दै थियौं । तेस्रो र चौथो जँघार तर्दा खोलाले बगाइल्याएको ढुंगाले घुँडामुनि धर्नासोमा लाग्यो । म ढलें । मलाई खोलाले बगाउँदै लग्यो । पीपलटारे जेठा कुमार दाइ र पाखाली प्रेमबहादुर राई पाब्जेठाले बचाए । खोलाले डोको र टेकुवाबाहेक सबै–सबै बगायो । हात्तीछाप चप्पलसमेत बगाएपछि असाध्यै दुःख लाग्यो । सोरुङखोलादेखि खाली खुट्टा हिँडेर कटारीसम्म झरें ।

राखाबाङ्देलका लागि १६ धार्नीको भारी लगाइयो । ११औं दिनमा बाङ्देल पुगेर सामान बुझाएर घर फक्र्यौं । १६० रुपैयाँ हात लाग्दा कम्ती खुसी लागेको थिएन । बिजुले भञ्ज्याङमा खाजा खान गोजी छाम्दा पैसा छैन । त्यतिबेलासम्म काकाकै लुगा ओढेको थिएँ । ओछ्याएको थिएँ । पाची कान्छा नभएको भए म भोकले बाटोमै मर्न सक्थें ।

प्रतिक्रिया दिनुहोस्