डिकुवा (खोटाङ) । बिहे गर्न ढिला भएको भन्दै आलोचनात्मक सुझाव आउन छाडेको थिएन । उँभोखोला, खोटाङका शुभचिन्तक टीका राई, रुद्र राई, मेघराज राई, सन्तोष राई र सुदीपलगायत थुप्रै शुभचिन्तक तथा साथीले बिहे गर्न सुझाउँथे । त्यसमध्ये इन्जिनियर मेघराज राईले बिहे गराउन थुप्रै पहल गरेका थिए । इन्जिनियर राईले पटक–पटक दुमी समुदायका चेलीसँग सम्बन्ध जोडिदिएर ज्वाईं बनाउने प्रस्ताव राखिरहन्थे ।
संवत् २०७१ को भेटमा मैले आफ्नो जिन्दगीको ‘रोडम्याप’ सुनाएपछि इन्जिनियरले मेरो नाम परिवर्तन गरिदिए, ‘सुपर थारो ।’ बाक्सिला, सुङ्देल, खार्ताम्छा जहाँ भेटिए पनि उनले मलाई ‘सुपर थारो’ भन्न छाडेनन् । मैले पनि अप्ठ्यारो मानिनँ । गाउँघरमा सीमित बिहेको प्रसंग बिस्तारै जिल्लाव्यापी बन्दै गयो ।
०७२ चैतमा ‘नपुङ्शक स्वर्गको विरुद्ध आगो’ शीर्षाकृत कवितासंग्रह प्रकाशन भयोे । कवितासंग्रह प्रकाशन भएको वर्ष दिनपछि मेरो बिहे भयो । ०७३ मा शान्ता चाम्लिङसँग बिहे गरेपछि विवाहित पुरुषमा बदलिएँ । ‘सुपर थारो’ भन्ने साथीहरूको मुखमा बुझो हाल्न सफल भएकोमा त्यत्तिकै गौरवान्वित थिएँ ।
आत्मनिर्भर भएपछि मात्रै बिहे गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । त्यस्तो सन्देश प्रवाह गर्ने लोभ छँदै थियो । हिजोआज म जसरी लेखिरहेको छु, त्यसमा म र मेरो प्रिय परिवारको सहयोगले सम्भव भएको हो । तर, मैले लेख्न सिकेको धरातलभन्दा फरक भएर म बाँच्न सक्दिनँ । र, बाँच्न नपरोस् भन्ने मान्यतासाथ अघि बढिरहेको छु । आउने समय त्यसरी नै खर्चिनेछु । मेरो धरातल मैले बिर्सन हुँदैन । जुन धरातल टेक्दै आएको छु, त्यसैले मलाई म बन्न सघाउ पुर्याएको हो ।