म ७ नम्बर एरिया कमिटी सदस्यमा निर्वाचित भएको थिएँ । उता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको जिल्ला कमिटी सदस्यको भूमिकामा थिएँ । ०६१ साउनमा सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमा खोटाङमा अखिल क्रान्तिकारीको दसौं जिल्ला सम्मेलन भएको थियो । मणि खम्बू ‘रिवासी’को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले गोपाल कटुवाल ‘हिमाल’ (अध्यक्ष), चइन्द्र राई ‘आक्रोश’ (उपाध्यक्ष), होमकाजी आचार्य ‘विनोद’ (सचिव), ममिका राई (सहसचिव), ओमकार दाहाल ‘ओके’ (कोषाध्यक्ष) र सदस्यमा नवीन राई, अर्जुन खड्का ‘झंकार’, सुमिना किराती, सोनाम किराती, रामकुमार परियार ‘पुष्प’ (हाल : कांग्रेस खोटाङमा क्रियाशील), जीवन राई, अरुणा राई, शुभद्रा विष्ट, शुभकाजी राई, बिन्द्र राईले निर्वाचित गर्यो ।
जिल्ला सम्मेलन सकिएलगत्तै खिदिमाकै ढुंगेमा बैठक बसेर कार्यविभाजन गर्यौं । त्यहाँबाट सोझो बाटो हिँड्दा रावा पुग्न एक दिन लाग्थ्यो । अध्यक्ष हिमालको कमान्डमा आक्रोश, ममिका, पुष्प, शुभद्रा र मलगायत सातजना हलेसी र रावा क्षेत्रको विद्यार्थी संगठन निर्माणका लागि खटियौं । भौगोलिक अवस्था र दुस्मनबाट जोगिएर काम गर्नुपर्ने भएकाले सावाकटहरे, रसुवा, रेग्मीटार, भाडबेंसी हुँदै हलेसी जाने योजना बन्यो । दुस्मनको चहल–पहल बाक्लो । तात्कालिक शाही सेना ब्यारेकबाट निस्कँदा उदयपुर र खोटाङका सेना रसुवासम्म ओहोरदोहोर गरिरहन्थे । तसर्थ, रसुवा वारि या पारिको दुई बाटोमध्ये एक हिँड्न सहज हुन्थ्यो ।
यात्रामा निस्केको तेस्रो दिनको खाना कालापानीमा खायौं । कालापानीमा खाना खान नपरे हुन्थ्यो । किनभने कालापानीमा पानीको असाध्यै समस्या । त्यहाँको जनजीवन पानीको हाहाकारले कष्टकर बन्दै गएको थियो । तर, खाना खानै पथ्र्याे । त्यहाँ नखाए रसुवा या भन्डारेबेंसी पुग्नुपथ्र्याे । पर्तिर बगिरहेको सावाखोलाबाट पाइप बिछ्याएर खानेपानी बन्दोबस्त मिलाउन सरकारसमक्ष निवेदन गर्न हामीले स्थानीयलाई सुझायौं । स्थानीयले भने, ‘हाम्रो राजनीतिक पहुँच पुग्दैन । नेताहरू निर्वाचनमा आउँछन् । जितेपछि फर्कंदैनन् ।’ यस्तो ठाउँमा खानाको पहल गर्नु साह्रै अप्ठ्यारो । तर पनि माओवादीलाई कालापानीवासीले त्यस दिनमात्रै होइन, ठुल्ठूला मोर्चा भोजपुर सदरमुकाम, पाँनधारे र घोडेटार आक्रमणका घाइते माओवादी योद्धा उद्धार गर्दाताका दर्बिलो साथ दिए । त्यतिबेला पाएको सहयोग मैले बिर्सेको छैन ।
त्यस दिन पनि खाना खान दिएर हाम्रो प्राण बचाइदिए । खाना खाएर पाँच घन्टा पैदल यात्रापछि साप्सु दोभान रेग्मीटार पुग्यौं । साप्सुमा पुल थियो । हामीमध्ये कोही पुल र कोही खोला तरेर जाने पहिल्यै सल्लाह गरेका थियौं । रात पर्न लागिसकेको थियो । गोडेलीघाटमा बास बस्ने योजना थियो । भन्डारेमा कमरेड बद्री श्रेष्ठले होसियारीपूर्वक जानुहोला भनेर सुझाए । जान त जाने । पुल तरेर जाँदा बाटो अलि घुमाउरो । दिक्तेलबाट दुस्मन आएर बास बसेका पनि हुन सक्थे । साँझ पर्दै गएकाले हत्तपत्त दुस्मन देखिँदैनथे । रेग्मीटार नटेकी साप्सु दोभानबाटै जाने निष्कर्ष निकाल्यौं ।
कमरेड आक्रोशले सुनाए, ‘भदौमा बाढी नआउँदा कमरेड संगीन र तूफान साप्सुखोला तरेर जिल्ला कार्यालय पुगेका रे ।’ प्रसंग सुनेपछि साप्सु तर्न सकिनेमा ढुक्क थियौं । झम्केसाँझ । टर्चलाइट बाल्न नमिल्ने । संकटकालको अँध्यारोपनलाई मित्र बनाएर हिँड्नुपथ्र्याे । हामी साप्सु दोभान पुग्दा साढे सात बजिसकेको थियो । हिमाल ठूलो ढुंगामा अडेस लागेर ‘ओरिएन्टेसन’ दिन थाले, ‘साथीहरू खोला ठूलो हुन सक्छ, जबर्जस्त तर्न नखोज्नुहोला । सकिएन भने रिट्रिट हुनुहोला ।’ हामी छ जना खोला तर्ने लामबद्ध भयौं । नुन, चामल लिन कटारी जाँदा सोरुङखोलाले तीनपटक बगाउँदा प्रेमबहादुर राई (पाखाली जेठा) र दाम्लीकै छिमेकी कुमार राई ‘पवन’को बुवा दाजैले मलाई बचाएका थिए । चिउरा लिएर फर्कंदा यारीखोलाले बगाउँदा पापाले बचाए ।
‘आफूभन्दा ठूलो शरीर भएकासँग खोला तर्ने । भरिसक पौडी खेल्न जान्नेसँग खोला तर्दा झन् जाती,’ प्रेमबहादुर पापजेठाले सुझाएका थिए, ‘खोला तर्दा सकेसम्म पानी जता बग्छ, त्यता नबसी, त्यसको माथि–माथिबाट खोला तर्दा बगाइहाल्यो भने पनि तल्तिरका साथीहरूले बचाउँछन् ।’
साप्सुखोला तर्न लाग्दा प्रेमबहादुर पापजेठाले बाल्यकालमा सुझाएको उपाय अपनाउनेवाला थिएँ । म साथीहरूदेखि माथिबाट खोला तर्ने तयारीमा थिएँ । साथीहरूभन्दा डेढ मिटर माथिबाटै हेलिएँ । बगायो भने तल्तिरका साथीहरूले समात्न भ्याउँछन् भन्ने आस थियो । हामी खोलाको मध्य भाग पुगिसकेका थियौं । तीन/चारपटक खुट्टा सार्दा खोला तरिन्छजस्तो लागेको थियो । तर, खोला कति गहिरो छ भन्ने ठम्याउन सकिनँ । राति न पर्यो । अब त गहिरो नहोला भन्ने अनुमान गरें । खुट्टा फटाफट चालिरहें । त्यहीं गहिरो परेछ । क्षणभरमा पानीमा डुबें । पानीले भित्रभित्रै बगायो । हातमा रहेको गोल्डस्टार जुत्ता कतिबेला छाडिसकेको थिएँ । सास फेर्न अप्ठ्यारो भइसकेको थियो । सय मिटरजति बगाएपछि संयोगले खोलाकै ढुंगामा टाउको बेस्सरी ठोक्कियो । म होशमा फर्किएँ । तुरुन्तै सम्झें– मलाई खोलाले बगायो । टाउको ठोक्किएको ढुंगा समात्नुपर्छ भन्ने सोचें । दाहिने हात सर्टमा बेरिएको थियो । देब्रे हातले ढुंगा समातें । तर, समातिरहन सकिनँ । कसोकसो सर्टले बेरिएको दाहिने हात पनि खुस्क्यो । दुवै हातले टाउको ठोक्किएको ढुंगा अँगालो हालें । लगत्तै अखिल क्रान्तिकारी खोटाङ तात्कालिक उपाध्यक्ष चइन्द्र राई ‘आक्रोश’ पौडिँदै आएर मलाई एकहातले च्याप्प समाते । दस मिटरजति पौडेपछि हामी पाखा लाग्यौं । ढुंगामा टाउको नठोक्किएको मिति पुगिसकेको थियो । संयोगवश साप्सु दोभानको ढुंगा र चइन्द्र राई ‘आक्रोश’को पौडिन जान्ने कलाले बाँचियो । चइन्द्र राई हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान पूर्ववडाअध्यक्षसमेत हुन् । पूर्ववडाध्यक्षले गर्दा नै नाफाको जिन्दगी बाँच्न पाएको छु ।
‘क्रान्तिकारीले दुई कुरा अनिवार्य सिक्नुपर्छ,’ पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतै भनेका रहेछन्, ‘पहिलो ड्राइभिङ जान्नैपर्छ । दोस्रो पौडी खेल्न ।’ दुवै जानिएन भने क्रान्तिकारी हुनुको अर्थ नहुँदोरहेछ ।
म बगेको थाहा पाएपछि खोला तर्न ठिक्क परेकाहरू पनि फर्के । त्यसपछि हामी रेग्मीटारकै पुल तरेर गोडेलीघाट पुग्यौं । पञ्च माझी अर्थात् ‘साइँला माझी’को घरमा बास बस्यौं । जुत्ता खोलाले बगाइसकेको थियो । त्यसताका जहींतहीं जुत्ता–चप्पल किन्न पाइँदैनथ्यो । कमरेड हिमालको चप्पल टेकेर थालेको अभियान पूरा गरियो । अभियान फलदायी बन्यो । हलेसीदेखि रावा क्षेत्रका प्रत्येक माध्यमिक विद्यालयमा संगठन निर्माण र परिचालन गर्न सफल भयौं ।