घोडेटार आक्रमणका लागि दुर्छिमको हैदेमा २ लाखको खाद्यान्न



त्यसताका म पार्टीको एसीएम थिएँ । गाउँ कमिटीले संकलन गरेको मौसमी चन्दा, मकै, धान, भटमास, मस्याम, गुन्द्रुक, फर्सी, स्कुस, आलुजन्य खाद्यान्न लिएर दुर्छिमको हैदे र राजापानीको भाडबेंसीमा जम्मा गर्ने निर्देशन थियो । हाम्रो टोली कमरेड नीरकुमार राई (खोलिम्पा, धितुङ)कहाँ जम्मा भयौं । एक गोरु र दुई राँगाको सुकुटी रातारात बनायौं । कमरेड उज्ज्वल, श्रद्धा, उषा र एक महिला कमरेड (नाम सम्झन सकिनँ)सहित पाँचजनाको टोली थियो । दुई मुरी चामल, तीन मुरी मकै, दुई मुरी गहुँ र तीन मुरी भटमास, चना र मटर भुटेर आठ मुरी पोरिज (सातु) बनायौं । लैकुखोलाको एक मिलमा पिसेर सातु बनायौं । सुकुटी, सातु, दाल, आलु, फर्सी, स्कुसलगायत खाद्यान्न सामग्री संकलन गर्दा ५० मुरीभन्दा बढी तौल भएको थियो । सुकुटीमात्रै दुई सय किलोभन्दा बढी थियोे । संकलित सामग्री भाडबेंसीको क्षेत्रबहादुर बुढाथोकीको घरमा जम्मा गर्यौं ।

साबिक दुर्छिम गाउँ विकास समिति–९, हैदेको लोकबहादुर खत्री (साइनोमा भिनाजु पर्छन्)कहाँ पनि त्यति नै सामग्री जम्मा गरेका थियौं । त्यहाँ सुकुटी र सातु थिएन । त्यहाँ घुर्मी बजारबाट ल्याइएको चामल, दाल, खानेतेल, मसलाजन्य सामग्री जम्मा गरेका थियौं । त्यसबखत दुई लाख रुपैयाँबराबरको सामान खच्चडबाट मगाइएको थियो । यस्तो किन गरिँदै छ ? भन्ने हामीलाई जानकारी हुँदैनथ्यो । हामीले सोध्दैनथ्यौं । संकलित सामग्री दुस्मनले कब्जा गरे त्योभन्दा ठूलो समस्या अरू केही हुँदैनथ्यो । जनताले गाँस कटाएर दिएको चन्दाको रक्षा गर्नु हाम्रो मूल जिम्मेवारी थियो । जिम्मेवारीले हामीलाई कसिलोगरी बाँधेको थियो ।

त्यतिबेला डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार, बडहरे, दुर्छिम, मंगलटार र महादेवस्थान गाविस समेटेर एरिया कमिटी बनेको थियो । यो नेकपा माओवादी खोटाङको सातौं एरिया कमिटी हो । यस एरियाको नेतृत्व फेरबदल भइरहन्थ्यो । ०६० ताका टंक तामाङ ‘मदन’ एरिया इन्चार्ज र सेक्रेटरीमा कमरेड राजेन्द्र थिए । उनको सरुवापछि जीवन राई ‘संगीन’ नियुक्त भए । इन्चार्ज सिस्टम खारेजपछि यहाँको सेक्रेटरी मुक्ति भए । मुक्तिकै कार्यकालमा भोजपुरको घोडेटार फौजी कारबाही तयारी गरिएको हो ।

दसैंताकाको समय मिलाएर हामीले हैदेदेखि भाडबेंसीसम्म सुनकोसी नदीकिनारको बाटो निर्माण गर्यौं । निर्माणमा त्यस क्षेत्रकै जनताको समेत उपस्थिति थियो । मानिस सहजै हिँड्न सक्ने एक मिटर चौडा बाटो खन्यौं । घोडेटार मोर्चामा जान/फर्कन सहज र सुरक्षित रुटका रूपमा लिइएको हुनाले पार्टी केन्द्रको निर्देशनमा यो रुटको बाटो खनिएको थियो ।

बाटो खनेपछि अब पार्टीले फौजी कार्यक्रम अघि बढाउलाजस्तो छ भनेर शंका गरिसकेको थिएँ । अन्ततः सत्य साबित भयो । पुसको अन्त्यतिर मलाई दुई (हैदे र भाँडबेसी) ‘पोस्ट’को जिम्मेवारी दिइयो । त्यतिबेला पोस्ट भनेको सहिदको नाममा पार्टी सामग्री राख्ने जनसेनाको भरनपोषणमा सहयोग पुर्याउने ठाउँ भनिन्थ्यो । दुई पोस्ट सम्हाल्न त्यति सजिलो थिएन । मैले पाएको जिम्मेवारी ठूलो होइन, खट्न गाह्रो भएको हुनुपर्छ । हैदेबाट भाडबेंसी पुग्न पाँच घन्टा लाग्छ । कुनै बेला एकै दिनमा तीनपटकसम्म ओहोरदोहोर गर्नुपर्थ्यो ।

माघ लाग्यो । जनमुक्ति सेनाको डफ्फा क्रमशः अघि बढ्न थाल्यो । अब पक्कापक्की भयो– पार्टी फौजी कारबाही तयारीमा छ । म उत्साहित थिएँ । यसअघि फौजी काम कस्तो हुन्छ ? भन्ने अनुभूति गर्न पाएको थिइनँ । सामान्य व्यवस्थापनमै रहँदा पनि ठूलै ज्ञान पाइँदोरहेछ ।

त्यसबखत ११ जनाको स्क्वायड टिम बनेर सेल्टर बस्थ्यो । प्रायः ४५/५० जना जनमुक्ति सेना आउँथे । नभए कम्पनी बटालियन ब्रिगेडको टोली आउँथ्यो । त्यो संख्यामा १०५/३१५/९४५ संख्यामा आउँथ्यो । ब्रिगेड डफ्फा आउँदा त हैदेमाथि दाम्दलेका सबै र हैदेका सबै घरमा बाँडिएर बस्दा पनि नअटेर आँगनभरि बस्नुपर्थ्यो । म स्टोर व्यवस्थापनमा बसेकाले प्रत्येक डफ्फाको हेडक्वार्टर स्टोर होममै रहने भएकाले एचकेसँग समन्वय गरिरहनुपथ्र्यो । कहाँ के समस्या छ, छिनछिनमै थाहा हुन्थ्यो । र, समाधान गर्ने प्रयत्न गरिहाल्थें । यो प्रक्रिया दुई महिनासम्म चलिरह्यो ।

जनता उत्साहित थिए । उनीहरूकै साथले बाटो निर्माण सम्भव भयो । जनताकै सहयोगमा रासनलगायत अन्य सामग्री संकलन भयो । जनसेनाले मात्रै गर्न असम्भव ग्रिनेड बम जनताकै उपस्थितिमा ओेसारपसार गरियो ।

संवत् २०६१ माघ माघ १४ राति नौ बजेपछि घोडेटार आक्रमण भयो । भोजपुरको घोडेटारमा रहेको तात्कालिक शाही सेनाको क्याम्पमा जनमुक्ति सेना पूर्वी कमान्डको एक टुकडीले हमला गर्यो। पार्टीले सोचेजस्तो उपलब्धि भएन । सबैतिरको रिपोर्ट सुनेपछि थाहा भयो– घाइते साथीहरूको ओसारपसार गर्न २५ दिन लाग्यो । कुशल बटालियन कमान्डर कमरेड जमिनलगायत २४ जना योद्दाले सहादत प्राप्त गरे । बदला फर्काउन जनसेना आतुर देखिन्थे ।

नेकपा माओवादी पूर्वी कमान्ड इन्चार्ज रामबहादुर थापा ‘बादल’को उपस्थितिमा घोडेटार आक्रमणको योजना बनेको थियो । सिन्धुलीको महादेवडाँडामा पार्टीको जनकपुर–सगरमाथा व्युरोस्तरीय बैठकले आक्रमण योजना तय गरेको थियो । त्यतिबेला सूचना पाउन सजिलो थिएन । गोपनीयता कडाइसाथ पालना गर्नुपर्थ्यो ।

घोडेटार आक्रमणसँगै मैले पाएको (दुई पोस्ट)को तीनमहिने जिम्मेवारी पूरा गरें । लगत्तै मेरो अन्तरजिल्ला सरुवा भयो । मेरो लगनशीलता देखेर पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गृहजिल्ला भोजपुर पठायो । म संयुक्त गाउँ पार्टी एरिया कमिटी सदस्य थिएँ । इन्चार्जमा जरायोटारका कमरेड हेम थिए । हाम्रो भूगोल धोदलेखानी, कटुन्जे, चिलाउनेटार, वैकुण्ठे, मानेभञ्ज्याङ, बासिखोरा र दाबुराङसहित साबिक पाँच गाविसको संयुक्त गाउँ पार्टी थियो । बासिखोरा जननायक रामप्रसाद राई र मानेभञ्ज्याङ राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान हो । दुई महिनापछि हेमको भूमिकामा उत्रबहादुर राई ‘उत्तर’ इन्चार्ज भएर आए ।

त्यसताका संयुक्त गाउँ जनसरकार घोषणा अन्तिम तयारीमा थियो । कमरेड सोनाम किरातीको नेतृत्वमा नौ सदस्यीय संयुक्त गाउँ जनसरकार निर्माण भयो । उपप्रमुखमा दिलकुमार राईलगायत प्रत्येक पाँच गाजस प्रमुख पदेन सदस्य रहनेगरी महिला, दलित प्रतिनिधिसहित चिलाउनेटारमा कार्यक्रम गरी संयुक्त गाउँ जनसरकार घोषणा गरियो । सर्वहारा सरकार सञ्चालनमा ज्ञान अनुभव नभए पनि सत्ता र संस्कृतिबारे वैचारिक चेत लिएर व्यवहारमा लागू गर्ने मौका प्राप्त गरें । मेरो जीवनका लागि त्यो महत्वपूर्ण घडी थियो ।

प्रतिक्रिया दिनुहोस्