सहिदपत्नीले निवेदन दिएको दुई घन्टामै माओवादी सेक्रेटरी प्रकाश चौलागाईंलाई घोक्रेठ्याक



खोटाङ सदरमुकाम दिक्तेलबाट हामी (माओवादीसम्बद्ध नेता तथा कार्यकर्ता) हलेसी जाने तयारीमा थियौं । त्यसबखत जिल्ला सदरमुकाम गई सेवा लिन नसक्ने सेवाग्राहीको समस्या दृष्टिगत गर्दै जिल्लाका सरकारी कार्यालयसम्बद्ध कर्मचारीले गाउँ विकास समितिसम्म पुगेरै सेवा प्रवाह गर्दै आएको थियो । त्यतिबेला फोटोसहितको मतदाता नामावलीसमेत संकलन गरिँदै थियो ।

हलेसीलाई केन्द्रबिन्दु बनाएर अर्खाैले, धितुङ, सल्ले, महादेवस्थान, मंगलटार, दुर्छिम, बडहरे, च्यास्मिटार, बाहुनीडाँडा र डिकुवामा शिविर सञ्चालन हुँदै थियो । शिविरमा नागरिकता बनाउने, जग्गा नामसारी र पास गर्नुका साथै महिला तथा अपांगता भएकाहरू सेवाग्राही लाभान्वित भए । त्यसनिम्ति म र पार्टीसम्बद्ध कमरेडको पनि धेर–थोर योगदान रह्यो । सेवाग्राहीले तीनदिने शिविरमा खटिएका कर्मचारी, राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्तालाई असाध्यै सम्मान गरे ।

हलेसीमा खोटाङको क्षेत्रीय सदरमुकाम राख्नुपर्छ भन्ने पहल थालेको थिएँ । सर्वप्रथम हलेसी क्षेत्रका माओवादी पार्टी कमिटीमा प्रस्ताव राखें । पार्टीले कागजी प्रक्रिया बुझेर तयारी थाल्न अनुमति दियो । दोस्रो दिनको शिविर चलिरहेको थियो । शिविरमा उपस्थित सेवाग्राहीको नाम र हस्ताक्षर संकलन गरें ।

दोस्रो दिनको शिविर सकियो । स्थानीय होटल व्यवसायी भोजराज बस्नेत ‘राजेश’को होटलमा आश्रय लिएका थियौं । माओवादी जिल्ला सेक्रेटरी प्रकाश चौलागाईं ‘विक्रम’ले फोहोरी शब्द बोल्दै  कविता कोइराला (नाम परिवर्तन) होइन, निर्मला तामाङ (नाम परिवर्तन)सँग हो भने म शारीरिक सम्बन्ध राख्छु भन्दै सानो स्वरमा प्रस्ताव राखेको भविन्द्र योगीले सुने । कविता र निर्मला सहिद परिवार हुन् । दुवैका श्रीमान् जनयुद्धमा सहिद भएका थिए । उनीहरू नुनथला र चिसापानी खोटाङका सहिद परिवार हुन् ।

मात्तिमनिवासी सेक्रेटरी विक्रमले सांस्कृतिक विचलनको घटना घटाउन खोजेको थाहा पाएपछि आफू सुतिरहेको कोठाबाट बाहिरिएँ । होटल सञ्चालक कमरेड राजेश र रमिला बस्नेत ‘पूर्णिमा’ लाई वास्तविकता सुनाएँ । त्यतिबेलै पूर्णिमा दिदी भन्दै योगीले बोलाए । पूर्णिमाले उनलाई भित्रै बोलाइन् । उनी कविता र निर्मलासँगै हलेसी आएका थिए । उनले विद्रोही स्वरमा असन्तुष्टि व्यक्त गरे । ‘यो तलका मान्छे त नेता होइन ?,’ भन्दै हामीलाई सोधे । हामीले भन्यौं, ‘हो ।’ भाइले त्यो मान्छेले त दुई दिदीसँग श्रीमतीजस्तै व्यवहार गर्न खोजेको संवाद गरिरहेछन् त भने । ‘म त रेडियो जर्नालिस्ट हुँ । रेडियो गणतन्त्रमा कार्यरत छु,’ हातमा बोकेको सोनीको भिडियो क्यामेरामा केही देखाउन खोज्दै उनले भने, ‘लौ सुन्नुहोस्, रेकर्ड गरिएको संवाद । यी हर्कत समाचारमार्फत भण्डाफोर गर्छु ।’ भाइले त्यसो भनेपछि अर्को आपत आइलाग्यो । म पार्टीको जिम्मेवार सदस्य भएकाले भाइलाई सम्झाएँ, ‘सबैको निजी जिन्दगी हुन्छ । यो घटना पार्टीसँग सम्बन्धित छ । घटना सार्वजनिक गर्न पार्टी कमिटीसँग अनुमति लिनुपर्छ । यसबारे समाचार लेखिहाल्नुहुँदैन ।’

‘त्यसो भए विक्रमलाई पार्टीले कारबाही गरोस्,’ भाइले चिन्ता गरे, ‘यस्ता बदमासका कारण माओवादी बदनाम हुन्छ ।’

भाइको चिन्ताप्रति इमानदारपूर्वक चिन्तन गर्न थालियो ।

कोठा परिवर्तन गरेर माथिल्लो तलामा सुतें । निद्रा पटक्कै लागेन । जिल्ला पार्टी नेतृत्वप्रति नराम्रो सुन्दा बिझाउने नै भयो । नेतृत्व स्थापित गर्न कैयौंले बलिदानी दिए । पार्टीसम्बद्ध र शुभचिन्तक जनताको लगानी हिसाब–किताब गरिसाध्य थिएन । रात छिप्पिँदो थियो । हलेसी मस्त निदाएको थियो । म जागै थिएँ । जिल्ला पार्टी कार्यालय पुगेपछि हलेसी घटनाबारे रिपोर्टिङ गर्ने निचोड निकालें ।

राति कति बेला निदाएछु । व्युँझदा ४ः५० बजिसकेको थियो । उठेर बिहानकोे नित्यकर्म सकें । क्षेत्रीय सदरमुकाम मागसम्बन्धी लिखित फाराम बनाउनु थियो । काम सुरु गरें । होटल सञ्चालक ५ः३० मा उठे । चिया खाँदा ६ः३० बजिसकेको थियो । चिया खाएपछि म मेरै काम व्यस्त थिएँ । कोठाबाट विक्रम निस्के । मैले उनलाई, उनले मलाई देखे । मैले तीनपटकसम्म विक्रम कमरेड उठ्नुभयो भनेर बोलाएँ । मसँग जिन्दगीभरि नबोल्ने कसम खाएजस्तो मोबाइल कानमा राखेर होटलबाट बाहिरिए ।

चिया पिउँदै भविन्द्र योगीले व्यक्त गरेको चिन्तासम्बन्धी छलफल गर्ने शीर्षकमा विक्रमलाई बोलाएको थिएँ । बेलुकाको घटनाबारे भाइलाई खुलस्त भन्ने र पार्टीमा समेत प्रस्ट पार्न सुझाउनु थियो । तर, उनलाई मेरो आवाज सुन्ने फुर्सद भएन । म सचेत हुन जरुरी थियो । मैले जिल्ला पार्टीसमक्ष हलेसीको वास्तविकता राखें । ‘यो घटना पार्टी कमिटीबाहिर गए झन् गम्भीर बन्छ । यो सांस्कृतिक विचलन हुँदै हो । त्यसमाथि सहिद परिवारसँग जोडियो । त्यसमा पनि माओवादी पार्टीको जिल्ला सेक्रेटरीजस्तो मान्छेले यस्तो गर्लान् र ? भन्ने प्रश्न त तपाईंप्रति सोझिन्छ,’ जिल्ला पार्टीले भन्यो, ‘तसर्थ, सहिदपत्नीद्वयलाई हलेसीमा उपलब्ध जिल्ला कमिटी सदस्यमाझ राखेर तपाईंहरूबीच विक्रमको सम्बन्ध के हो ? भनेर उत्तर माग्नुहोला । उत्तर रेकर्ड गरेर सुरक्षित राख्नुहोला ।’

जिल्ला पार्टीको निर्देशनअनुसार हलेसीमा उपलब्ध जिल्ला कमिटी सदस्यमाझ बस्नेत होटलमा छलफल गर्यौं । छलफल सकेर चइन्द्र राई ‘आक्रोश’, गोपाल दाहाल (काभ्रे), थामबहादुर राई (कात्तिके) र म हलेसीको सहिद पार्क (अहिलेको इलाका प्रहरी कार्यालय हलेसीको प्रतीक्षालय)मा भेला भयौं । कविता र निर्मलालाई त्यहीं बोलाएर जिल्ला पार्टीले लगाएको काम गर्यौं । प्रश्न आक्रोश र गोपालले सोधका थिए । ‘हामीले उहाँलाई माओवादीका नेता, जिल्ला सेक्रेटरी भनेरमात्रै चिनेका छौं । हामीबीच खासै भेटघाट हुँदैनथ्योे । यसपटक सहिद परिवारले पाउने राहत रकम आएको खबर पायौं । त्यसैले हामीलाई बोलाइयो,’ कविता र निर्मलाले एउटै स्वरमा भने, ‘हामीलाई धरानबाट हलेसी बोलाउनुका कारण यस्तै गर्नलाई रहेछ ।’

पीडित सहिदपत्नी सहिद ईश्वर तामाङ र डाकमणि कोइरालाका श्रीमती हुन् । ‘हामी हिजोमात्रै आइपुग्यौं । उहाँले हामीलाई के सोच्नुभएको छ ? हाम्रो इज्जतमाथि धावा बोल्ने ?,’ उनीहरूको सामूहिक माग थियो, ‘प्रकाश चौलागाईं ‘विक्रम’लाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्छ । मादक पदार्थ खाएर मातेको भन्दैमा हामीसँग मनपरी बोल्ने ? हिजो राति मनपरी बोल्नुभयो । अपशब्द प्रयोग गर्नुभयो । कवितासँग होइन, र निर्मलासँगै सुत्छु भनेर भनेकै हो । त्यसो भनेको योगेन्द्र भाइले रेकर्ड गरेका छन् । आममान्छेले थाहा पाए भने के हुन्छ ?’ उत्तरमा आक्रोशले घटनाको वास्तविकता जिल्ला पार्टीसमक्ष राख्ने प्रतिबद्धता जनाए । विक्रमबाट भएको दुर्व्यवहार जिल्ला पार्टीसम्बद्ध नेतालाई जानकारी गराउन उनले पीडितलाई सुझाए । यस्तो निष्कर्ष निकाल्दै हामी तेस्रो दिनको शिविरमा खटियौं ।

हलेसीमा खोटाङको क्षेत्रीय सदरमुकाम स्थापित गरियोस् भनी संकलित नाम र हस्ताक्षर गृह मन्त्रालयसम्म पठाउन शिविर समापन कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गर्यौं । प्रजिअ गेलाल हाम्रा मागप्रति सकारात्मक थिए । आफूले सक्दो प्रयत्न गर्ने उनले प्रतिबद्धता जनाए । शिविर सकिएपछि बेलुका राजनीतिक दलसम्बद्ध प्रतिनिधि, सरकारी कर्मचारी, कविता र निर्मला, पत्रकार भविन्द्र योगीलगायत हामी एउटै बसमा दिक्तेलतिर लाग्यौं ।

दिक्तेल पुगेपछि कविता र निर्मलालाई भवनगैरामा रहेको सुवास आचार्यको होटलमा बस्ने प्रबन्ध मिलायौं । भोलिपल्ट पार्टी सहइन्चार्ज ध्रुव बुढाथोकी ‘धिरन’लाई भेट्यौं । धिरन दिक्तेलमै थिए । उनले हलेसी घटनाको वास्तविकताबारे पीडितसँगै सोधपुछ गरे । पीडितलाई न्याय दिलाउन आफूले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । विक्रमको हर्कतविरुद्ध संयुक्त हस्ताक्षरसहितको निवेदन पार्टी कार्यालयमा दर्ता गराउन सुझाए । पीडितले विक्रमविरुद्ध निवेदन दर्ता गरे ।

जिल्ला पार्टीले पीडितको निवेदन फ्याक्स गरेको डेढ घन्टामै केन्द्रीय कार्यालयले फ्याक्स गर्यो । फ्याक्समा लेखिएको थियो, ‘जिल्ला सेक्रेटरी विक्रममा देखिएको सांस्कृतिक विचलनले सहिद र सहिद परिवारप्रति गम्भीर अपमान भएको छ । अर्को निर्णय नभएसम्म विक्रमलाई बर्खास्त गरी कार्यवाहक सेक्रेटरीमा कमरेड सुरेश किरातीलाई तोकिएको अवगत गराइन्छ ।’

माथिको निर्णय आउँदा पीडित परिवार खुसी भए । तर, विक्रमपक्षीयले भने केन्द्रले गरेको निर्णय गलत भएको भन्दै निहुँ खोज्ने थाले । हामीलाई जानकारी नगराई माथि–माथि छलफल गरियो भन्दै उनीहरू छटपटाउन थाले ।

म दिक्तेलमा रहँदा भवनगैरामा रहेको माओवादी पार्टी कार्यालयमै बस्थें । मलाई पार्टी कार्यालयमा बस्न नदिन अनेकौं प्रपन्च रचियो । उनीहरूको नाम उल्लेख गर्नसमेत घिन लाग्छ । हिजोआज हामी कहाँ छौं ? के गर्दै छौं ? जनताले हेरिरहेकै छन् । आवश्यकता परे विक्रम बचाउन खोज्नेहरूसँग वैचारिक लडाइँ लड्न खोटाङमा जुट्न पछि पर्दिनँ ।

जिम्मेवारी प्राप्त गर्ने मान्छे जनताको असल गोठालो बन्नुपर्छ । त्यसो गर्न सकियो भने समस्याका गाँठो फुकाउन सकिन्छ । होइन भने ऊ गाईबस्तु बनेर बाली चोर्न निस्किरहन्छ । समस्या त्यहींबाट सुरु हुन्छ । प्रकाश चौलागाईं ‘विक्रम’ त्यसकै प्रतिनिधि पात्र हुन् ।

प्रकाश चौलागाईं ‘विक्रम’ एमाले कोसी प्रदेश कमिटी सदस्य छन् । एमाले खोटाङका अनुसार उनी पार्टीमा सक्रिय छैनन्, जति ठेक्कापट्टामा छन् ।

(सामाजिक प्रतिष्ठाका विषय भएकाले सहिदपत्नीद्वयको नाम परिवर्तन गरिएको छ ।)–सम्पादक

प्रतिक्रिया दिनुहोस्