हलेसीमा पर्यटकको बसाइ लम्ब्याउने तीन उपाय



प्राकृतिक रूपमा सुन्दर र अद्भुत हलेसी धार्मिक र सांस्कृतिक सहअस्तित्वका हिसाबले उदाहरणीय मानिन्छ । पितृ र देवताहरू मिलेर बसेको संसारकै नमुना हलेसीमा पर्यटक ल्याउनमात्रै होइन, उनीहरूको बसाइ लम्ब्याउने उपाय खोजिनुपर्छ । हलेसी आइपुगेका पर्यटकको बसाइ लम्ब्याउने थुप्रैमध्ये तीन उपाय कार्यान्वयनमा ल्याउन ढिला गर्नुहुँदैन ।

‘टुरिजम रोड’

हलेसीलाई संस्कृति, प्रकृति र इतिहाससँग जोड्ने रसायन भनेको पर्यटन हो । पर्यटन प्रवद्र्धन गर्न ‘टुरिजम रोड’ (पर्यटक सडक) अपरिहार्य मानिन्छ । हलेसी तुवाचुङ नगरपालिकाभित्र रहेका पर्यटकीय स्थललाई हलेसीसँग जोड्न पर्यटक सडक चाहिन्छ । राजमार्ग त छँदै छ । तर, हलेसी आइपुगेका पर्यटक सल्लेपोखरी, भुम्जु वा खाम्तेलगढीलगायत पर्यटकीय स्थल सहज तरिकाले पुग्न चाहेमा छुट्टै पर्यटक सडक चाहिन्छ । पर्यटक सडक भएमा एकबाट अर्को पर्यटकीय स्थल सजिलै पुग्न सकिन्छ ।

‘प्याकेज प्रोग्राम’

हलेसी आइपुगेका पर्यटक भुम्जु पुग्दा उनीहरूलाई आनन्दित बनाउन सक्नुपर्छ । त्यसका लागि पूर्वाधार चाहिन्छ । पूर्वाधार ‘टिपिकल’ हुनुपर्छ । पर्यटकले स्थानीय सुगन्ध पाउनुपर्छ । स्वागत, सत्कारदेखि खानपिनसम्ममा स्थानीय सुगन्ध आउनुपर्छ । भुम्जु पुगेकालाई सल्लेपोखरी पुग्न प्रेरित गर्नुपर्छ । भुम्जु पुगेकालाई स्थानीयले अर्को ठाउँको ‘मार्केटिङ’ गरिदिनुपर्छ । एक ठाउँको स्वाद अर्कोमा फरक छ भन्ने जानकारी गराउन सक्नुपर्छ ।

‘ओपन म्युजियम’

हलेसी तुवाचुङ नगरपालिकाभित्र सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक पर्यटीय स्थल छन् । ऐतिहासिक पर्यटकीय स्थलजतिमा ‘ओपन म्युजियम’ (खुला संग्रहालय) बनाइनुपर्छ । ऐतिहासिक स्थलको कथा तोडमरोड नगरी इतिहासअनुसार भौतिकीकरण गर्नुपर्छ ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले हलेसीलाई मुन्दुम ट्रेलसँग जोड्ने प्रतिबद्धता जनाइसकेकी छन् । त्यति गर्नसाथ हलेसीमा पर्यटक आगमन झन् बढ्नेछ । तसर्थ, हलेसी तुवाचुङ नगरपालिकाले यथाशीघ्र पालिकाभित्र रहेका पर्यटकीय स्थलको ‘प्याकेज प्रोग्राम’ बनाउनुपर्छ ।

हलेसी सूचना केन्द्र पूर्वप्रमुख सयन्द्र राईले हलेसी आउने पर्यटक सालिन्दा बढ्दै गएको बताउँछन् । पर्यटक आगमन बढे पनि बसाइ लम्ब्याउन सकिएको छैन । बेलुका हलेसी आइपुगेका दर्शनार्थी बिहान दर्शन गरेर फर्किहाल्छन् । उनीहरू हलेसी गुफालाई मात्रै हलेसी ठान्छन् । त्रिधाम हलेसीको महत्व बताइदिने पथप्रदर्शक नहुँदा पर्यटकको बसाइ लम्ब्याउन नसकिएको हो । पथप्रदर्शकले त्रिधाम हलेसीको सांस्कृकित, प्राकृतिक र ऐतिहासक महत्व बताउने हो भने पर्यटक बसाइ स्वाभाविक रूपमा बढाउन सकिन्छ ।

हलेसी तुवाचुङ नगरपालिकाले यथाशीघ्र पालिकाभित्र रहेका पर्यटकीय स्थलको ‘प्याकेज प्रोग्राम’ बनाउनुपर्छ

नगरपालिकाले केही समयपहिले पर्यटक गाइडसम्बन्धी तालिम गराएको छ । तालिम लिएकाले अभाव पूर्ति गर्ने विश्वास गर्न सकिन्छ ।
हलेसी तुवाचुङ नगरपालिका–९, सल्लेको चिचिंगामा ‘नाना टुङ्गा लौ–लौ’ भन्ने मौलिक नाच नाचिन्छ । यो नाच पोखिएको भातसँग सम्बन्धित छ । यसलाई ‘रिभाइभ’ गरेर पर्यटकलाई देखाउन सकिन्छ । हलेसीमा किरात राई समुदायद्वारा सञ्चालित होटल सञ्चालकले किरात राई समुदायमा नाचिने ‘साकेला नाच’ र ‘नाना टुङ्गा लौ–लौ’ नाच देखाउनुपर्छ ।

पछिल्लो समय बालन नाच त्यति देख्न पाइँदैन । खस, आर्य समुदायद्वारा सञ्चालित होटल सञ्चालकले ‘बालन नाच’ देखाउन जाँगर चलाउनुपर्छ ।

संस्कृति विकसित भयो तर इतिहास र प्रकृतिको विकास गर्न सकिएन भने हलेसीको पर्यटन लंगडो हुन्छ

यसैगरी, बौद्धमार्गीद्वारा सञ्चालित होटल सञ्चालकले बुद्धसम्बन्धी ज्ञान दिने ‘विराह नाच’ देखाउन सक्नैपर्छ । तीनै धर्मावलम्बीका जीवित सांस्कृतिक अभ्यासका रूपमा नाच देखाउँदा थुप्रैले सहभागिता जनाउनुपर्छ । होटलमा बास बसेकाले पैसा बुझाएर नाच हेर्छन् । कसैले साकेला नाच र नाना टुङ्मा लौ नाच हेर्लान् । कसैको रोजाइमा बालन पर्ला । कसैले विराह नाच हेरेर मनोरञ्जन लिन्छन् । तीन धर्मावलम्बीका तीन समूहले नृत्य प्रस्तुत गरेर दैनिक तीन हजार रुपैयाँमात्रै संकलन गर्यो भने महिना दिनमा ९० हजार हुन्छ । यसरी संस्कृतिमार्फत मनोरञ्जन दिँदै पर्यटक आकर्षित गर्न सकिन्छ । हलेसी आइपुगेकालाई आकर्षित गर्ने दुर्लभ सांस्कृतिक सम्पदा छ, त्यसको संरक्षण र विकास गर्नैपर्छ । त्यसलाई प्रदर्शनीका रूपमा आकर्षित गर्न सक्नुपर्छ । जुन समुदायसँग सम्बन्धित जे–जे संस्कृति वा कथा छ, त्यसलाई भौतिकीकरण गरेर, दृश्यमा परिणत गरेर या पर्यटक गाइडका रूपमा परिणत गरेर पर्यटकलाई आकर्षण गर्नैपर्छ । त्यसो गर्न सकियो भने ठूलो समूहले रोजगारी पाउँछ । ठूलो समूहले रोजगारी पाउनु भनेको समग्र पालिकावासीले लाभ लिनु हो ।

‘संस्कृति विकसित भयो तर इतिहास र प्रकृतिको विकास गर्न सकिएन भने पर्यटन लंगडो हुन्छ,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘हलेसीको पर्यटन प्रवद्र्धन गर्न संस्कृति, प्रकृति र इतिहासलाई समान रूपमा विकास गर्न सकियो भने मात्र गरिखाइन्छ । यसको विकासमा तल–माथि भयो भने काम चलाउमात्रै हुन्छ ।’

हलेसीमा पर्यटन प्रवद्र्धन गर्न कस्सिने थुप्रै छन् । हलेसीको पर्यटन समाजवादउन्मुख हुनुपर्छ । ‘अहिलेको पर्यटन भनेको हलेसीमा जग्गा हुनेकोमात्रै भयो । जोसँग धेरै पैसा छ, उसले हलेसीमा जग्गा किनेर व्यवसाय सञ्चालन गरी धेर–थोर लाभ लिन सक्छ । हलेसी उनीहरूका लागि मात्रै भयो । अहिलेको पर्यटनले जसको धेरै लगानी उसकै मात्रै आम्दानी भएको छ ।

हलेसीको पर्यटनमा करोडौं लगानी गरिए पनि डिकुवाको बाइटार, राजापानीको भाडबेंसीलगायत गाउँ–गाउँका मानिसले लाभ लिन सक्दैनन् । जोसँग पुँजी छ, उसैकोमात्र भयो हलेसीको पर्यटन । हलेसीको पर्यटनले ११ वटै वडाका किसान लाभान्वित हुनुपर्छ । हलेसी आइपुगेका पर्यटकले यहाँको खानपानमा मात्रै स्थानीय सुगन्ध दिन सके गाउँ–गाउँका मानिस लाभान्वित हुन्छन् । यहाँका ११ वटै वडामा उत्पादित उत्पादन हलेसीका होटलमा पाक्न थालेको दिन हलेसीको पर्यटन समाजवादउन्मुख भइहाल्छ । त्यसखालको पर्यटन विकास गरिनुपर्छ । त्यसखालको खाका कोरिनुपर्छ । अहिलेको पर्यटनले सानो समूहले मात्रै लाभ लिने भए ।

हलेसी तुवाचुङ नगरपालिकाले पालिकावासीले नै लाभ लिन सक्ने समाजवादउन्मुख पर्यटनको सैद्धान्तिक नीति र कार्यान्वयन गर्ने खाका प्राथमिकतासाथ बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्