फ्रुटीको प्याकेटमा रक्सी भरेर खाने प्रधानाध्यापक



कमरेड टंक तामाङ ‘मदन’ एरिया इन्चार्ज, कमरेड जीवन राई ‘संगीन’ सेक्रेटरी तथा डीसीएम, चइन्द्र राई ‘आक्रोश’, कमरेड राजेन्द्र (डीसीएम) र सोनाम सज्जन किराती, खम्ब विक ‘उत्सव’, घनश्याम विक ‘उज्ज्वल’, अनिता, निर्मला, ज्वाला र करण (हामी एसीएम)सहितको हाम्रो समूह मंगलटारको पीपलडाँडाबाट बडहरेतिर लाग्यौं । बडहरेनिवासी ईश्वरबहादुर तामाङको घरमा आश्रय लिने पक्कापक्की भयो ।

हामी भार्लाङखोला तरेर उकालिँदै थियौं । लक्ष्मी माध्यमिक विद्यालय खोक्सेलीयता बरको रूखपट्टि बनेको एक भवनभित्र उज्यालो देख्यौं । अहिले स्कुलको पूर्वी भाग तल्तिर पाखामा खेलमैदान बनेको छ । त्यहाँबाट मास्तिर डाँडाको अवस्था नियाल्न सहज थियोे । ‘माथि स्कुलमा दुस्मनले क्याम्प जमाएर बस्यो कि के हो ?,’ कमरेड मदनले भने, ‘अवस्था बुझेर आउनूस् त कमरेड ज्वाला र करण ।’

साथीहरू उत्साहित हुँदै गए । वास्तविकता बुझेर फर्के । हामी तलै थियौं । ज्वालाजीले वास्तविकताको रिपोर्ट गरे, ‘मदन कमरेड दुस्मन होइन रहेछ । तासेहरू रहेछन् । एक्का, मिस्सी भन्दै खेलिरहेछन् ।’ भवनभित्र राम्रो हेर्नुभयो नि ? प्रस्टै देख्नुभयो नि ? भनेर ज्वालाजीलाई पनि मदनले सोधे । ‘अँ प्रस्टै देख्यौं,’ ज्वालाले थपे, ‘६ जना रहेछन् । तास पनि नयाँ–नयाँ रहेछ ।’

लगत्तै विद्यालय घेराबन्दी गर्यौं । झ्याल र ढोकाबाट तासे भाग्न नपाऊन् भनेर हामी बाँडिएर बस्यौं । त्यसताका मदन अघि–अघि र संगीन पछि–पछि लागे । दुवैजना तास खेलिरहेको कोठाभित्र पसे । मदनले तासेहरूलाई भने, ‘तास खेल्नु समाजका लागि कति राम्रो ? तपाईंहरू दायाँ–बायाँ गर्नुभयो भने ठीक हुँदैन । यथास्थानमा बसेर माओवादी पार्टीको निर्देशन पालना गर्नू ।’

‘यो तास सबैले खानुपर्छ । पशुले घाँस खान्छ । र नि, बुद्धिमानी हुन्छ । तपाईंहरू मान्छे भएर पशुजति विवेक नभएको मान्छे । आफैंले खेलेको तास तपाईंहरूले खानुपर्छ,’ मदनले चेतावनी दिए, ‘नखानेले १० मिटर ढुंगा बोक्नुपर्छ ।’ दस मिटर ढुंगा बोक्नुभन्दा तास खाएर माफी माग्ने ‘अप्सन’ रोजे । उनीहरूले तास खान थाले । मुखमा तास कोचेर चपाउन सजिलो थिएन । तास चपाउनुभन्दा ढुंगा बोक्न सजिलो ठाानेर एक तासेले बोले, ‘सरहरू म तास खान्न । ढुंगा बोक्छु ।’

त्यसो हो भने तास किन खेलेको भन्दै संगीनले चेतावनी दिए, ‘पहिलोपटक भेटिएकाले तास खाने कारबाही गरिएको हो । नत्र यस्ता फटाहालाई कारबाही गर्ने तरिका थुप्रै छन् ।’ तासेले फटाफट तास खान थाले । तासेले तास खाएको दृश्य शोभनीय देखिएन । माओवादीले तासेलाई तास खुवायो भन्दा फरकखालको कारबाही गरेजस्तो लाग्ने । सार्वजनिक रूपमा आममान्छेका अगाडि तास खानु कठिन काम हो । मुखमा कोचीकोची तास चपाउनु त झन् कठिन । उनीहरूले एक बुङ तास जबरजस्ती खाइसकेपछि अर्को कारबाही घोषणा गरियो ।

कमरेड मदनले तासेलाई विद्यालयबाहिरको पीपलनजिकै चौतारामा पुर्याए । त्यहाँ धारा थियो । उनीहरूलाई धारामा जान निर्देशन दिए । त्यसपछि सबैलाई लुगा खोल्न आदेश दिए । भित्री वस्त्रबाहेकका कपडा खोल्न लगाइयो । त्यतिबेलासम्म महिला कमरेडहरूलाई अघि बढ्न अनुरोध गरिसकिएको थियोे । राति भए पनि गाउँका केही मानिस पनि जम्मा भए । झन् गज्जब भयो । चिसो पानीमा पाँच–पाँच मिनेट बस्ने, नबस्नेले एक मिनेट भाटे कारबाही भोग्न तयार हुनुपथ्र्यो । चिसो पानीमा पाँच मिनेट बस्नु सजिलै लाग्न सक्छ । तर, मंसिरको जाडोमा पाँच मिनेट बस्नु कठिन सजाय हो । विद्यालय भवनभित्र तास खेलिएकाले दोस्रो नम्बरको कारबाही गरिएको हो भन्दा तासेहरू बोलेनन् । मंसिरे जाडोमा चिसो पानीमा चोपलिनुको पीडा दयनीय देखिन्थ्यो । त्यहाँ भेला भएकालाई सचेत हुन र तासजुवा खेल्ने भेटिए खबर गर्न अनुरोध गर्दै बाटो लाग्यौं ।

हामी ईश्वरबहादुर तामाङको घर पुग्यौं । दुस्मनको हल्लाखल्ला सुनिएकाले तामाङको घरमा कडा सुरक्षा व्यवस्थासहित बस्ने योजना बनेकाले बाटोमा माइन (प्रेसर कुकर) बम धराप थाप्यौं । घरको पूर्वी भाग (सात सय मिटर दूरी)को बाटोबीचमा खाल्डो खनी प्रेसर कुकर बम पुर्यौं । माइनस र प्लस वायर (ब्याट्री र क्यामेराको फ्ल्यासभित्र लाइट बाल्ने ब्याट्री हुन्छ) जोड्यौं । ब्याट्रीको पावरमा कुकर बमको वायर जोडेपछि माइन विस्फोट हुन्थ्यो । हामी सबैमा सामान्यतः फौजी ज्ञान थियोे । कमरेड आक्रोश र राजेन्द्रले प्राविधिक सेटिङ गरेर माइन धराप तयार गरे । हामी सातैजनाको एक–एक घन्टा नाइट सेन्ट्री र पासवर्ड बन्यो । घरअगाडि पर्खाल लगाएको भागमा वायर जोड्नेगरी सेन्ट्री पोस्ट खडा गरियो ।

सोनाम सज्जन किराती

घरमुनि पुरुष र बरन्डातिर महिला कमरेडको बिस्तारा थियोे । मानिसको आउजाउमा पासवर्ड प्रयोग गर्ने दुस्मन भए ‘माइन चार्ज’ गर्ने निर्देशन थियोे । यसरी पालैपालो रातको सात घन्टा ड्युटीपछि बिहानको झिसमिसे भयो । दुई कमरेड माइन निकाल्न गए । उनीहरूले राखिएको ठाउँमा माइन नभेटिएको खबर ल्याए । सबै आतंकित र भयभीत भयौं । धराप थापेको ठाउँमा बम नहुनु भनेको दुस्मनले घेरा हालिसकेको अर्थ लाग्थ्यो । हामी आतंकित भयौं । हत्तपत्त आ–आफ्नो झोला बोक्यौं । जे निर्देशन आउँछ, त्यहीअनुसार ‘मुभ’ हुने तयारीमा बस्यौं । वरिपरिको अवस्था बुझ्दै संगीन र आक्रोश माइन थापेको ठाउँतिर गए । माइन वायर काटिएको अवस्थामा सडकको माथिल्लोपट्टिको किनारामा फेलापरेको खबर आयो । माइन कसले र केले काटेर मास्तिर फाले भन्ने थाहा पाउन सकिएन । यो संवत् २०६१ मंसिरको घटना हो ।

त्यतिबेला डिकुवा, बाहुनीडाँडा, च्यास्मिटार र मंगलटारमा अध्ययनरत एसलसीको विद्यार्थीका परीक्षा केन्द्र लक्ष्मी माध्यमिक विद्यालय, खोक्सेली थियो । माविका प्रधानाध्यापक कृष्णप्रसाद दाहाल थिए । दाहाल शालीन व्यक्तित्व । उनी ३१ गुणयुक्त । उनको एउटा कमजोरी सबैलाई थाहा थियो ।

सशस्त्र जनयुद्धताका माओवादीले मादकपदार्थ खाने, जुवातास खेल्ने/खेलाउने अर्थात् अनैतिक काम गर्नेलाई कारबाही गर्ने अभियान चलाएको थियो । माओवादीले मादक पदार्थ खानेलाई कारबाही गर्छ भन्ने धेरैलाई थाहा थियोे । प्रधानाध्यापकलाई थाहा नहुने कुरै भएन । खाने मुखलाई जुँगाले छेक्दैन ।

एक दिन कमरेड दानबहादुर राई ‘समुद्र’को समूह लक्ष्मी मावि खोक्सेली पुग्यो । कमरेडहरूकै अघि प्रधानाध्यापक कृष्णप्रसाद दाहालले कोटको खल्तीबाट लुकाएर केही निकालेजस्तो गरे । अनि कोटले छोपेर खाए । त्यो दृश्यले कमरेडहरू झस्के । प्रधानाध्यापकले समेत हतियार बोेकेका छन् कि के हो भनेर सचेत भए । त्यसपछि दाहाल सरको शरीर खानतलासी गरियो । खानतलासी गर्दा कोटको भित्री गोजीमा फ्रुटीको प्याकेट भेटियो । प्याकेटभित्र रक्सी भरिएको थियो । फ्रुटी प्याकेटमा भरिएको रक्सी पाइपबाटै चुस्की लिने गाँठी कुरा पत्तो लाग्यो । फ्रुटीको प्याकेटमा रक्सी खाने प्रधानाध्यापक कृष्णप्रसाद दाहाल रंगेहात फेलापरे । उनले फ्रुटीको प्याकेटमा रक्सी भरेर विद्यालयका ‘स्टाफ’कै अघि जुस खाएसरह रक्सी खान्थे । आफूले रक्सी खाएको स्टाफले चाल पाउँदैनथे । प्रधानाध्यापकलाई आइन्दा यस्तो गल्ती नगर्न कडा चेतावनी दिइयो । मादक पदार्थ खाएर विद्यालय आउन र पठनपाठन गर्न नहुने चेतावनी दिए । चेतावनी पाएपछि उनले मादक पदार्थ बिस्तारै खान छाडे । उनी हामीमाझ छैनन् । स्व. कृष्णप्रसाद दाहालप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्