पूर्वप्रधानमन्त्रीको राजनीतिक यात्रा


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ६ दशकदेखि राजनीतिक यात्रामा यात्रारत छन् । पूर्वप्रधानमन्त्री देउवा १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका कांग्रेस सभापतिमा निर्वाचित भए । उनी २०७९ पुस ६ गते संसदीय दलको नेता निर्वाचित भए । उनले ०५१, ०५८, ०६३, ०७२ र ०७४ मा संसदीय दलको नेताको भूमिका निर्वाह गरिसकेका छन् ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा आएका उनको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । बूढानीलकण्ठ नगरपालिका भद्रकाली काठमाडौंमा बसोवास गर्दै आएका उनी ०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय छन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका उनले प्राथमिक शिक्षा डडेल्धुरा, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंंमा हासिल गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य उनी राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका ‘रिसर्च फेलो’ हुन् । ०४८, ०५१, ०५६, ०७४ र ०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी ०६४ र ०७० मा भएको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत निर्वाचित भए ।

संवत् ०४८ मा गृहमन्त्री बनेका उनले पाँचपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पहिलोपटक ०५२ भदौ २६ देखि ०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका उनी ०५८ साउन ७ देखि ०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले ०५९ असोज १८ उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गरे । ०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेका उनलाई राजा ज्ञानेन्द्रले ०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।

पाँचपटक प्रधानमन्त्री हुँदा उनले पिछडिएको भू–भाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) अवधारणा ल्याए । उनकै कार्यकालमा विशेष वर्ग एवं समुदाय उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग गठन गरिए ।

पार्टीभित्रको कलह बढ्दै गएपछि ०५९ मा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति बने । ०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भए । ०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनले सभापतिमा निर्वाचित गर्यो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ०७४ जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित भई व्यवस्थापिका संसद् बैठकबाट नेपालको संविधानअनुसार पहिलोपटक संघीय संरचनाअन्तर्गत तीन तहका निर्वाचन गराउन सफल भए । देउवा ०७८ असार २९ गते पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भए । त्यसयता उनको नेतृत्वकै सरकारले ०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्षको भूमिका निर्वाह गरेका उनी सन् २०१३ देखि पछिल्लो कार्यकालसम्म उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष थिए । प्रजातान्त्रिक आन्दोलनक्रममा उनले पटक–पटक गरी १० वर्ष कारागार जीवन बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्