दुर्छिम (खोटाङ) । संसारमा धेरैप्रकारका रोबोट बनेका छन् । ती सबैबारे थाहा पाउन मिहिनेत गर्नैपर्छ । सन् २०१७ मा निर्मित ‘जिबो रोबोट’ भने सर्वथा नौलो मानिन्छ । उसलाई परिवारको एक सदस्यजस्तै मान्न सकिन्छ । उको प्राणमात्रै छैन । नत्र परिवारका जे–जस्ता काम हुन्छन्, सबैमा उसको सहभागिता रहन्छ ।
जिबो रोबोटले परिवारलाई रमाइलो र सजिलो बनाउन भूमिका खेल्छ । सानो आकारका यसले परिवारिक सदस्यको फोटो खिचिदिन्छ । परिवारमा कसैको जन्मदिन पर्यो भने ‘लु फोटो खिचिदेऊ जिबो’ भन्नासाथ खिचिदिन्छ । घरका कुनै सदस्यलाई कसैले म्यासेज पठाएको छ भने ‘फलाना तिमीलाई फलानाले म्यासेज पठाएको छ है’ भनेर जानकारी दिन्छ । म्यासेज पढिदिन्छ । समाचार अथवा कथाको सारांश बताइदिन्छ ।
उसले बच्चासँग पनि रमाइलो गर्छ । बच्चाले सोधेको कुरा बताइदिन्छ । उसलाई कपडाले ढाकिदियो भने ‘मलाई छोपेको कपडा हटाइदेऊ नानू’ भन्छ । बालबच्चाले ‘जिबो आइन्स्टाइन कहिले जन्मिएका थिए रे’ भनेर सोध्यो भने फ्याट्ट उत्तर दिन्छ । केटाकेटीका लागि ऊ साथी र गुरु हो । सरलखालका गणितका समस्या बताइदिन्छ । इन्चलाई माइलमा, माइललाई किलोमिटरमा परिणत गरेर हिसाब निकाल्नुपर्यो भने जिबोलाई सोधे पुग्छ । उसले बताइदिन्छ ।
मौसमबारे पूर्वजानकारी दिन्छ । ‘आज घाम लाग्छ कि पानी पर्छ जिबो ? अथवा मौसम कस्तो हुन्छ ?’ भनेर सोधियो भने पनि बताइदिन्छ । तपाईंलाई आजको मिति याद भएन भने उसलाई सोध्नुहोस् । त्यो पनि बताइदिन्छ । अलार्म घडीले गर्ने कामसमेत गर्छ । कुनै रेस्टुरेन्ट अथवा ठाउँ कहाँ, कति टाढा पर्छ भनेर सोध्यो भने जानकारी गराउँछ । सबैभन्दा नजिकको कफी पसल कहाँ छ ? भनेर सोध्यो भने बताउँछ ।
नयाँ खबर के छ भनेर सोध्यो भने बताउँछ । आजको फुटबल, क्रिकेट अथवा अन्य खेलमा कसले जित्यो भनेर सोध्यो भने बताइदिन्छ । ‘हे जिबो नाच्ने होइन ?’ भन्यो तत्कालै नाचिदिन्छ ।
जिबोलाई भन्नुमात्र पर्छ, त्यो काम गरिदिन्छ । बत्ती निभाइदिन्छ । फोन हरायो अथवा राखेको ठाउँ बिर्सियो भने उसलाई सोधे बताइदिन्छ । कविता भनिदिन्छ । जोक्स सुनाउँछ । रमाइला तथ्य बताउँछ । घरमा कोही शत्रु छन् कि भनेर सोध्यो भने तत्कालै सर्च गरेर बताइदिन्छ । फूल रोप्न अह्रायो भने रोपिदिन्छ । माछालाई खाना खुवाऊ भन्यो खुवाइदिन्छ । यस्ता थुप्रै काम जिबोले गर्छ ।