दोहा (कतार) । किरात राई यायोक्खा शाखा कतारले प्रथम उपाध्यक्ष गजेन्द्र राईलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ ।
संस्थाको विधि, विधान र पद्धतिविपरीत अमर्यादित काम गर्दै गएपछि प्रथम उपाध्यक्ष राईलाई निष्कासन गरिएको किरात राई यायोक्खा शाखा कतारले जनाएको छ । ‘पटक–पटक सचेत गराउँदासमेत वास्ता गर्नुभएन,’ किरात राई यायोक्खा शाखा कतारका एक पदाधिकारीले टेलिफोनमा भने, ‘हामी संस्थालाई शिर ठान्छौं । उहाँ संस्थाभन्दा माथिको होइन । संस्थालाई कमजोर बनाउने गतिविधि गरिरहनेलाई कारबाही गर्नुको विकल्प रहेन ।’
पदीय भूमिकाको वास्ता नगरी संस्थाको हितविपरीत बारम्बार काम गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो प्रस्टीकरण नआएपछि उनलाई सन् २०२२ अक्टोबर १२ मा उपाध्यक्षबाट निष्कासन गरिएको हो ।
किरात राई यायोक्खा शाखा कतारको मासिक पूर्ण बैठकले २०२३ फेब्रुअरी १० देखि लागू हुनेगरी गजेन्द्र राईलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको हो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार, सचिवालय सदस्यसमेत रहेका राईलाई सातौं कार्यकालमा संस्थालाई बुझाउनुपर्ने २ हजार कतारी रियाल मार्च १० भित्र बुझाउन अनुरोध गरिएको छ ।