तीन विषयमा एमए गरेका अधिवक्ता



तीन विषयमा एमए गरेका अधिवक्ता ओमप्रकाश घिमिरेले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंबाट नेपालीमा एमए गरेका हुन् । अधिवक्ता घिमिरेले नेपालीमा प्रथम श्रेणीमा एमए गरेका थिए ।

महिना दिन पढेकै भरमा नेपालीमा एमए गर्नु सामान्य कुरा होइन । त्यतिबेला ‘सेमेस्टर सिस्टम’ लागू भइसकेको थिएन । ‘आरआर क्याम्पसमा नाम लेखें । खोटाङमा विद्यार्थी राजनीति गर्थें । त्यतिबेला अनेरास्ववियु खोटाङ अध्यक्ष थिएँ,’ उनले जानकारी गराए, ‘परीक्षाको रुटिन आएपछि काठमाडौं पुग्थें । महिना दिन मज्जाले पढेर परीक्षामा सामेल हुन्थें ।’

साहित्यमा गहिरो अभिरुचि थियो । उनी साहित्य लेख्थे । त्यसैले नेपालीमा एमए गर्न कस्सिए । नेपालीमा एमए पूरा गर्न १ लाख ५० हजार खर्च भएको उनले सुनाए । एमए पहिलो र दोस्रो वर्षको शुल्क २६ हजारले पुग्थ्यो । दुवै वर्षका किताब किन्न, पहिलो र दोस्रो वर्षको परीक्षा तयारीका लागि दुई महिना काठमाडौंमा बस्दा र थेसिससम्म सक्दा १ लाख २४ हजार रुपैयाँ खर्च भएको थियो ।

अधिवक्ता घिमिरेले नेपालीमा एमए पूरा गर्दा एलएलबीको अध्ययनसमेत सकाए । उनले अहिलेसम्म नियमित (रेगुलर) पास गरेका छन् ।

लगत्तै काठमाडौंका सबै क्याम्पसबाट ‘सेमेस्टर सिस्टम’ हटाइयो । अध्ययनको भोक मेटिएको थिएन । समाजशास्त्र पढ्ने रहर असाध्यै थियो । जेएस मुरारका बहुमुखी क्याम्पस सिरहाको लहानमा भर्ना भए । यो संवत् २०७४/०७५ सालको कुरा हो । पढ्ने तरिका पुरानै । स्वअध्ययनबाटै समाजशास्त्रमा पनि एमए गरे । ‘समाजशास्त्रमा एमए गर्दा पनि खासै खर्च भएन । परीक्षाताका उदयपुरको गाईघाट बसेर तयारी गरें,’ उनको भनाइ थियो, ‘दुई वर्षको शुल्क ५२ हजार थियो । दुई वर्षको परीक्षा तयारीलगायतका खर्च ४८ हजारजति भयो ।’

नेपाली र समाजशास्त्रमा एमए गरेका उनलाई राजनीतिशास्त्रमा एमए गर्ने जाँगर चल्यो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘प्राइभेट कलेज’मा भर्ना भए । एक वर्षको परीक्षा फाराम भर्न १३ सय लाग्थ्यो । दुई वर्ष २६ सय । बाँकी खर्च भनेको परीक्षा तयारीका लागि काठमाडौं बस्दाको त हो । राजनीतिशास्त्रमा एमए गर्दा ०७६ लागिसकेको थियो ।

तीन–तीन विषयमा एमए गरेको प्रमाणपत्र कहाँ–कहाँ सदुपयोग भएको होला ? ‘हिजोआज त एलएलबीको मात्रै सदुपयोग गरिरहेको छु । पञ्च माध्यमिक विद्यालय दिक्तेलमा तीन वर्ष दस जोड दुईका विद्यार्थीलाई कानुन र नेपाली विषय पढाएँ,’ नेपाल बार एसोसिएसन खोटाङ सचिवसमेत रहेका उनले थपे, ‘बुझ्ने, बुझाउने र दृष्टिकोण निर्माण गर्ने सवालमा तीनवटा डिग्री कहीं न कहीं सदुपयोग भइरहेकै छ । आयआर्जनमा चाहिँ सदुपयोग गरेको छैन । तर, ज्ञानका हिसाबले महत्वपूर्ण ठानेको छु ।’

एक दिन क्याम्पस नगई तीन–तीन विषयमा एमए गर्न कत्तिको सजिलो थियो होला ? ‘कक्षा लिने नलिनेभन्दा अभिरुचिको विषय पढ्नुपर्छ,’ उनको तर्क छ, ‘त्यसो गरियो भने सम्बन्धित विषयमा एमए उत्तीर्ण गर्न त्यति अप्ठ्यारो छैन ।’

तीन–तीन विषयमा एमए गरेका उनी गाउँमै रमाइरहेका छन् । किन होला ? ‘अब पीएचडी र एलएलएम गर्न काठमाडौं जानैपर्छ,’ उनको ठम्याइ छ, ‘तर, हामीजस्ता पढालेखाले निश्चित समय गाउँ बस्नैपर्छ ।’

‘कान्ती ल फर्म स्थापना गरेर कानुन व्यवसायीका रूपमा अभ्यास गरिरहेको छु । चार महिना पढें भने कानुनका अधिकृतमा नाम निकाल्न सक्छु,’ अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य उनले प्रस्ट्याए, ‘म राजनीतिबाटै अघि बढ्ने निर्णयमा पुगेको छु । राजनीतिक नेताको सबैभन्दा ठूलो सम्पत्ति भनेको भूगोल पनि हो । तसर्थ, गाउँ बसाइ रोजाइमा परेको हो ।’

त्यतिमात्रै होइन, टाठोबाठो गाउँ बस्यो भन्यो भनेमात्रै गाउँमा विकासका योजना पर्ने तीतो यथार्थ सर्वविदितै छ । टाठोबाठो बसोवास गर्नेको गाउँठाउँमा विकासका काम हुन्छन् । हिजोआज पनि नेता र नेतृत्वको दृष्टिकोणले यो वा त्यो ठाउँमा विकासका योजना दिऊँ है भन्ने प्रणाली निर्माण नभएको उनले जिकिर गरे ।

‘१४१५ डायल गर्यो भनेमात्रै मोबाइलमा व्यालेन्स भन्छ । १४१३ डायल गर्यो भने भन्दैन,’ उनले उदाहरण पेस गरे, ‘तर हाम्रोमा सिस्टम छैन । भनेको, चिनेको र आफूले प्रभाव पारेको ठाउँमा मात्रै विकासका काम अगाडि हुन्छ । सिस्टम बाहिरबाट विकासका काम हुने भएकाले गाउँठाउँका विकासकै लागि केही समय गाउँमा बस्नुपर्ने बाध्यता थियो । छ ।’ उनी गाउँ (बुइपा बजारबाट खिरीको दूरी ७ किलोमिटर छ) बस्दा केही परिवर्तन भएको छ । गाउँवासीले अनुभूति गरेकै छन् ।

विभिन्न भूमिकामा बाँडिएका उनले लिची खेती थालेका छन् । ज्वाला कृषि तथा पशुपालन फर्म दर्ता गरेर ५५ रोपनी जग्गामा १५० बोट लिची हुर्काएका छन् । लिचीले फल दिन थालिसकेको छ । दुई रोपनीमा केरा खेती छँदै छ । यो खेती पहिलेदेखिकै हो । परम्परागत खेतीमा रमाइरहेका खिरीवासीलाई फलफूलमात्रै नभएर अन्यमा पनि व्यावसायिक खेती गर्न अभिप्रेरित गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्