संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गाउँ । अर्थात् धोदलेखानी, कटुन्जे भोजपुर । संवत् २०६२ चैत अन्तिम दिन । माननीय मन्त्री किरातीको गाउँपारि गोल्मेभीर छ । ‘त्यतिखेर जनयुद्धको रणनीतिक प्रत्याक्रमणको चरणमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी योजना देशभर चलिरहेको थियो,’ कवि सोनाम सज्जन किरातीले विगत सम्झे, ‘मेरो कार्यक्षेत्र खोटाङ–भोजपुरको विशेष एरियाअन्तर्गत धोदलेखानी, वैकुण्ठे, चिलाउनेटार, मानेभञ्ज्याङ र बासिखोरा थियो ।’
‘त्यसताका तत्कालीन चार गाउँ विकास समिति मिलाएर संयुक्त गाजस बनाई जनसत्ताको अभ्यासमा थियौं,’ कवि किरातीले जानकारी गराए, ‘अर्कोतिर ०६२/६३ को जनआन्दोलनको उभारमा उभिन खोज्दै गर्दा मैले लेखन प्रारम्भ गरेको हुँ ।’ संयोगवश त्यस क्षेत्र ००७ सालको क्रान्ति नायक रामप्रसाद राई जन्मेको, सुदन किराती ‘शिखर’को आगमन हुँदै गरेको र जनयुद्धको अन्तिम चरण पनि त्यसबखतलाई मान्न सकियो । यस्तो संयोगमा आफूले लेख्न थालेको उनले सुनाए ।
साहित्य किन लेख्नुहुन्छ ?
‘म इतिहासमा मर्न चाहन्न । मृत्युपछि पनि बाँच्ने धोको छ,’ उनले प्रस्ट्याए, ‘जुन उद्देश्य पूरा गर्न साहित्यिक सिर्जनाले मात्रै काम गर्दोरहेछ ।’ जब अग्रज साहित्यकार लक्ष्मीप्रसाद देवकोटा, पारिजात, लुसुन, भूपी शेरचन, कृष्ण सेन ‘इच्छुक’लाई पढ्न पाएँ, त्यसपछि लेख्ने हुटहटी बढेर गयो । लेख्दै जाँदा उत्पीडित र निकै तल पारिएकालाई बुझें । उनीहरूलाई उकास्न साहित्यले ठूलो काम गरेको अनुभूति गरेको छु,’ उनले थपे, ‘साहित्यले चेतना र मनलाई चलायमान बनाउँछ । नयाँ–नयाँ विषय समाजलाई पस्कन सकिन्छ भनेरै लेखिरहेको छु ।’
साहित्यका विविध विधामा कलम चलाउनु उनको क्षमता हो । विशेषतः कविता र संस्मरण उनको पछिल्लो रोजाइको विधा बनेको छ । साहित्यका अतिरिक्त उनका राजनीतिक दृष्टिकोणसमेत काठमाडौंबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ ।
तपाईं कवि कि लेखकलाई माया गर्नुहुन्छ ?
‘सबै लेखक कवि हुँदैनन् । एउटा कवि असल लेखक बन्न सक्छन्,’ उनको तर्क छ, ‘अपवादबाहेक जो लेखक हुन्, उनीहरूले पनि साहित्य लेखनबाटै आएका छन् नि ? भन्ने लाग्छ ।’ यसर्थ उनलाई दुवैको प्रिय हुँ भन्न अप्ठ्यारो लाग्दैन । उनलाई लेखक, कवि अर्थात् साफानाफा नराखी भन्दा उनी आफूलाई प्रगतिशील कलमजीवीप्रति गहिरो प्रेम प्रकट गर्छन् ।