अक्षरका बाटोका महासचिव कवि तथा लेखक किराती पुरस्कृत



काठमाडौं । कवि तथा लेखक सोनाम सज्जन किराती पुरस्कृत भएका छन् । साहित्यिक संस्था अक्षरका बाटोका महासचिवसमेत रहेका कवि तथा लेखक किरातीको ‘मृत सहर’ शीर्षाकृत कविता पुरस्कृत भएको हो ।

भिजन एफएम ९० दशमलव ५ मेगाहर्जको ‘भिजन साहित्यिक डबली’ कार्यक्रममा डा. मुलीवीर राईको उपन्यास ‘मृत सहर’ प्रसारण गरिएको थियो । ‘मृत सहर उपन्यास सुरुबाट अन्तिमसम्म सुनेपछि मृत सहर शीर्षकमा कविता लेख्न आह्वान गरिएको थियो,’ भिजन साहित्यिक डबली कार्यक्रमका प्रस्तोता विक्रम चेतनशील राईले भने, ‘नेपाल, अमेरिका, जापान, दक्षिण कोरिया र भारतबाट १७ कविका कविता प्राप्त भएका थिए । त्यसमध्ये सोनाम सज्जन किरातीको कविता पुरस्कृत भएको हो ।’

पुरस्कार राशि ५ हजार रुपैयाँ रहेको छ । साहित्यकार डा. मुलीवीर राई (बेलायत)ले नै पुरस्कार व्यवस्थापन गरेका हुन् ।

साहित्यिक प्रतियोगिताबाट पहिलोपटक आफू पुरस्कृत भएकोमा कवि तथा लेखक सोनाम सज्जन किरातीले खुसी व्यक्त गरे । ‘यो वर्षदेखि साहित्यिक प्रतियोगितामा यदाकदा भाग लिन थालेको थिएँ,’ किरातीले भने, ‘यसैपटक पुरस्कृत हुन सफल भएँ । स्वाभाविक रूपमा गौरवान्वित छु ।’

पुरस्कारबाट प्राप्त रकम ‘जनयुद्धमा बितेका पल’ नामक किताब प्रकाशनार्थ अक्षय कोषमा जम्मा गर्ने कवि किरातीले जानकारी गराए । तुवाचुङ साप्ताहिकका स्तम्भकारसमेत रहेका उनको ‘जनयुद्धमा बितेका पल’ नामक किताब नेपाली नयाँ वर्षमा प्रकाशन हुँदै छ ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा खोटाङनिवासी कवि किरातीलाई आगामी पुस ३० गते शनिवार पुरस्कार प्रदान गरिने सञ्चारकर्मीसमेत रहेका कवि विक्रम चेतनशील राईले जानकारी गराए । भिजन एफएम अध्यक्ष पूर्णप्रसाद न्यौपाने, सचिव एसबी जेरो, प्रस्तोता विक्रम चेतनशील राई र प्राविधिक देविका राईको उपस्थितिमा भिजन एफएम ओखलढुंगाको शाखा कार्यालय चाबहिल काठमाडौंमा एक समारोहबीच पुरस्कार प्रदान गरिनेछ । पुरस्कार वितरण समारोह एफएम रेडियोको अनलाइन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

पुरस्कृत कविता यस्तो रहेको छ ।

मृत सहर

–सोनाम सज्जन किराती

तिम्रो
मृत्युमा रम्नेहरूलाई सोध
मनमा पीडा दबाएर
जिउनेहरूलाई खोज
सरिताका रहरका पाइतालाहरूले
कति मुरी इच्छा मारिरहेछन् ?
सहरको रमिता बनेर ।

तसर्थ यो सहर
मृत घोषित गरिएको छ

बलदेवको कथाजस्तै
सहरले पच्न नदिएपछि
व्याथाहरू चपाउन नमिलेपछि
के गरोस् त यो मृत सहरले

त्यही पीडाभित्र थेचारिएर
मर्नबाहेक
यो सहर निश्वास भेटिन्छ ।

सहरले बिर्सेको बिस्र्यै गरेपछि
त्यो जुत्ता सिलाउने
पोलिसवाला कुल्ली दाइको ढाडले थामेका दुःख
कहाँ गएर पोखिन्छ
थाहा छैन

यसभित्र अनेकौं छन्
मृत्यु संस्कार्ने तरिकाहरू
कोही शुद्धै पैंतालीस गरेर चोखिन्छन्
कोही तिथि, वार्षिकी मनाएर
पितृ चढाउँछन्
त्यसरी
मृत्युुलाई बाटो लगाउने मानिस
यो स्वार्थी सहरको मृत्युमा किन रम्छन्
विकल्प
जिउनलायक नदेखिएर त होला ?

जतिखेर मृत सहरले बिर्सनेछ
अभावले छटपटिएकाहरूको रोदन
र, रोदनहरू पिएर
पाइलैपिच्छे
जब सहरको
मृत्यु बाँचेको समाज ढल्छ
जुन अस्तित्वको अर्थ हुँदैन
त्यसरी सहिदहरू जीवित रहन्छन्

सहरको कहर भन्नु छैन
जताततै कंक्रिटको मुटुहरू छन्
चिसो सर्दी लट्याउने भीडमा
बाँकी अलिकति पनि आशा नपाएर
सहर मरेको छ

जहाँ चोमोलोङ्माको खातिरदारी
चिस्यानको
यहाँ कुनै तुक रहँदैन
भेटिएला
अब रुझानले भरिएको पत्करको लामो गीत
त्यही नलेखिएर त
सहरको मृत्युु हाँसिरहेछ
अँध्यारोभित्र गुमनाम चुपचाप भएर

सबैभन्दा अन्तिम
समयको निखारताभित्र
म एउटा
उज्यालो कुप्पी बालेर
हराउँदै गरेको
मृत सहरको अस्तित्व खोजीमा जान्छु

र, पसिनाको बहुमूल्य नदी तारेर
उसको जीवन्त रसमा
नयाँ सहर उभ्याउनेछु
जहाँ संसारलाई
प्रेरित गर्ने
उज्यालोको मुहान पाउन सकियोस् ।

प्रतिक्रिया दिनुहोस्