‘सोकेसको ऐना’ सार्वजनिक



काठमाडौँ । पत्रकार तथा साहित्यकार बोधराज पौडेलको निबन्धसङ्ग्रह ‘सोकेसको ऐना’ सार्वजनिक भएको छ । निबन्ध लेखन पातलिँदै गएको समयमा प्रकृति, जीवन र दर्शनलाई विषयवस्तु बनाएर लेखिएका ३२ निबन्ध समेटिएका निबन्धसङ्ग्रह हालै सार्वजनिक भएको हो ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले आत्मपरक निबन्धको भविष्य उज्ज्वल रहेको जिकिर गरे । ‘आत्मपरक निबन्धमा पौडेलको कलम नयाँ शिराबाट अगाडि बढेको छ,’ साहित्यकार रोदनले भने, ‘अरूले बनाएको बाटो निबन्धले पहिल्याउँदैन । आफैं बाटो बनाउँदै अघि बढ्छ ।’

समालोचक डा. भागवत आचार्यले कविको परिचय बनाएका निबन्धकार पौडेलले नयाँ कृति दिएर साहित्यको नयाँ जग बसाएकोमा खुसी व्यक्त गरे ।

सोकेसको ऐना सार्वजनिक समारोहमा पत्रकार तथा लेखक दामोदर न्यौपाने, साहित्यकार होमशङ्कर बास्तोला, कल्पना काफ्ले, घनबहादुर थापा, प्रेम राई ‘परीक्षित’ र विष्णुप्रसाद पौड्यालले सम्बोधन गरेका थिए ।

पत्रकार पौडेलले कविता, गीत, गजल, निबन्ध र समालोचना विधामा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्